पिउन थिए फेभिकोल बनाउने बलबंत पारेख, यसरी भए सफल

Jan 15, 2024 06:16 PM Merolagani

पहिला पहिला फर्निचर टाँस्न जनावरको बोसोबाट बनेको ग्लु प्रयोग गरिन्थ्यो। यो ग्लु धेरै टिकाउ थिएन। साथै, जनावरको बोसोको कारण यो दुर्गन्धित पनि थियो।

मुम्बईमा काठ व्यापारीको लागि काम गर्ने एक पिउनले दुर्गन्धित गमको समाधान पत्ता लगाए र ’फेभिकोल’ सिर्जना गरे। उनको नाम थियो, बलवंत पारेख’।

बलवन्त पारेखले वकालतको डिग्री लिएका थिए, तर प्राक्टिस भने गरेका थिएनन्। वास्तवमा, मुम्बईमा पढ्दा उनी गान्धीको विचारबाट प्रभावित थिए र सत्य तथा अहिंसाको मार्गमा जान चाहन्थे। वकालत भनेको जताततै झुट बोल्नु पर्ने पेसा हो भन्ने उनको विश्वास थियो। यस्तो अवस्थामा उनले सो काम गर्नुभन्दा मजदुर भएर काम गर्नु राम्रो थाने।

पारेखले मुम्बई शहरमा बाँच्नको लागि सानो काम गर्न थाले। यसैबीच उनको विवाह भयो। त्यसैले परिस्थितिले गर्दा उनले छापाखानामा काम गर्न थाले। त्यसपछि उनले काठ व्यापारीको घरमा पिउनको काम पनि गरे।

फेभिकोल बनेको कथा

बलवन्त पारेखले धेरै जागिर फेरेका थिए। उनले धेरै पैसा कमाउन सकेनन्, तर उनी धेरैको सम्पर्कमा आइसकेका थिए। यी सम्पर्कहरूका कारण उनले नयाँ अवसरहरू प्राप्त गरिरहन्थे। उनले आफ्नै व्यवसाय सुरु गर्ने सोचे। त्यसमा उनलाई मोहन नामका लगानीकर्ताले सहयोग गरे। त्यसपछि उनले पश्चिमा मुलुकबाट साइकल, सुपारी र कागजको डाई भारतमा आयात गर्ने व्यवसाय सुरु गरे।

यसै सन्दर्भमा उनले जर्मनी जाने मौका पाए र त्यहाँबाट धेरै कुरा सिकेर फर्के। त्यसपछि भाइसँग मिलेर डाई र केमिकल कारखाना सुरु गरे। त्यसपछि सिंथेटिक रेसिनबाट ताँसिने उत्पादन बनाइयो जुन एक प्रकारको ग्लु थियो। त्यस ग्लुको नाम ‘फेभिकोल’ राखियो।

प्रयोग गर्ने कामदार नै बने ब्रान्ड एम्बेसडर

ग्लु बनाइयो र यसको नाम पनि फेभिकोल राखियो। अब प्रश्न थियो फेभिकोल कसरी बेच्ने? त्यसपछि पारेखले वितरणको लागि थोक व्यापारी, वितरक, पसल र ग्राहकको परम्परागत श्रृंखलालाई हटाए। उनले आफ्नो उत्पादन सिकर्मीलाई सिधै बेच्न थाले।

ग्राहकले सोफा, टेबल वा ढोका बनाएर किन्दा वा ल्याउँदा सिकर्मीले त्यसमा ग्लु टाँस्दा ग्राहकको खासै चासो हुँदैन भन्ने पारेखको तर्क थियो। पारेखको तर्क धेरै हदसम्म सहि थियो, किनकि जब हामीले सोफा बनाउँछौं, सिकर्मीले हामीलाई दिने सामग्रीको सूची मात्र किन्छौं।

उत्पादन हिट भएपछि बनाइयो कम्पनी

फेभिकोल जनावरको बोसोबाट बनेको ग्लुभन्दा १० गुणा बलियो थियो। सिकर्मीहरूले यसलाई प्रयोग गर्दा, उनीहरूलाई यो धेरै मन पर्यो। बलवन्त पारेखको फेभिकोल बजारमा पूरै हिट भएपछि उनले कम्पनी खोल्ने सोच बनाए। यसरी सन् १९५९ मा पारेखले कम्पनी बनाएर नाम पारेख डायकेम राखे। पछि यो कम्पनी पारेख डायकेम लाइट बन्यो र त्यसपछि यसको नाम पिडिलाइट भयो।

पिडिलाइटले पायो बीएसईमा स्थान

पिडिलाइट बनेपछि पनि बलवन्त पारेखले आफ्नो रणनीति परिवर्तन गरेनन्। त्यसपछि पनि सिकर्मीलाई सिधै उत्पादन पुर्याउने उनको लक्ष्य थियो। सुरुमा उनले प्रत्येक सिकर्मीलाई भेटे र उनीहरुलाई आफ्नो उत्पादन बेचे। उत्पादनको गुणस्तरका कारण बिस्तारै फेभिकोलको माग बढ्न थाल्यो।

फेभिकोलका कारण कम्पनीको व्यापार बढ्यो र १९९३ मा, पिडिलाइट बम्बई स्टक एक्सचेन्जमा सूचीकृत भयो। यसको शेयर जारी गरियो। जसको भ्यालु ६० करोड थियो।

फेभिकोलको अविस्मरणीय विज्ञापनहरूको श्रृंखला

फेभिकोलले १९७० मा हात्तीको प्रतीक सिर्जना गर्यो। जुन मानिसहरूलाई सम्झन सजिलो पनि थियो। ब्रान्डिङ र पुनः प्याकेजिङ पछि, फेभिकोलले आफ्नो पहिलो टिभी विज्ञापन ’दम लगा के हैशा’ बनायो। फेभिकोलको यो विज्ञापनमा फिल्म निर्देशक राजकुमार हिरानी थिए। उक्त विज्ञापनमा केही पहलवान र हात्तीले फेभिकोलसँग टाँसिएका दुईवटा काठलाई छुट्याउन खोजेको देखाइएको थियो।

यसपछि फेभिकोलको यादगार विज्ञापनको शृङ्खला रोकिएन। ‘अण्डा’ को विज्ञापन, जसमा भान्छेले अण्डा फुटाउन खोज्छ तर फुट्दैन। ‘बस’ विज्ञापन जसमा मानिसहरु बसमा अन्धाधुन्ध सवार छन्। बस कच्ची बाटोमा हल्लिँदै अघि बढीरहेको छ, सबै हल्लिरहेका हुन्छन्, तर कोही झर्दैनन्।

६० वर्ष पूरा भएपछि आयो शरमाइनको सोफा

सन् २०१९ सम्ममा, फेभिकोल एशियाको सबैभन्दा भरपर्दो एडहेसिब ब्रान्ड बन्यो। सो वर्ष फेभिकोलले ६० वर्ष पूरा गरेको थियो। त्यसैलाई ध्यानमा राखेर ९० सेकेण्डको विज्ञापनमा ६० वर्षको यात्रा देखाइयो। शरमाइनको सोफा मिश्राइन, त्यसपछि कलेक्ट्रीन र त्यसपछि बेङ्गालीको भएको थियो, जसको अर्थ सोफा पुस्तौँसम्म चलिरह्यो। जसका कारण फेभिकोलले ताँसिएको थियो। यी सबै बाहेक भ्यागाबन्ड, डुङ्गा लगायतका धेरै विज्ञापनले जनतालाई हँसाएर एउटा कुरा मनमा बसायो, यो फेभिकोलको बलियो जोइन्ट हो, टुट्ने छैन।

फेविकोलसम्म मात्र सीमित रहेन पिडिलाइट

फेभिकोलले अहिले बजारमा आफ्नो छुट्टै स्थान र पहिचान बनाएको छ। १९९७ मा, फेभिकोल शीर्ष १५ ब्रान्डहरूको सूचीमा सामेल भएको थियो। फेभिकोल हिट भए तापनि कम्पनीले नयाँ उत्पादनहरू लन्च गर्न जारी राख्यो।

त्यसै क्रममा, कम्पनीले २००१ मा महिन्द्रा समूहबाट एम–सिल खरिद गर्यो र २००२ मा डा. फिक्सिट सुरु गर्यो। एम–सिल एउटै उत्पादन हो जुन हामीले पानी चुहावट मर्मत गर्न प्रयोग गर्छौं। घरको छाना निर्माण गर्दा वाटर प्रुफिङ गर्न डा. फिक्सिटको प्रयोग गरिन्छ।

६.३५ रुपियँबाट बढेर २ हजार ७३७ पुग्यो शेयर

सन् १९९८, डिसेम्बर ३१ मा पिडिलाइट इन्डस्ट्रिज लिमिटेडको शेयर ६.३५ रुपियाँ थियो। त्यसबेला यो कम्पनीमा एक लाख रुपियाँ लगानी गरेर आफ्नो लगानी कायम राखेको भए आज यो रकम ४ अर्ब २९ करोड रुपियाँ हुने थियो। पछिल्लो २६ वर्षमा पिडिलाइट इन्डस्ट्रिजको शेयरले लगानीकर्तालाई ४२ प्रतिशत प्रतिफल दिएको छ। हाल पिडिलाइट इन्डस्ट्रिजको शेयर २ हजार ७३७ रुपियाँमा कारोबार भइरहेको छ।

कम्पनीले हासिल गर्यो १० अर्बको कारोबार

२००४ सम्म कम्पनीले १० अर्बको कारोबार हासिल गर्यो र २००६ सम्म कम्पनीले धेरै देशहरूमा कारोबार गर्न थाल्यो। २०१० सम्म, कम्पनीको बिक्री दोब्बर भयो।

२०१४ मा, कम्पनीले १ खर्ब ९८ अर्ब ८० करोडको कारोबार गर्याे र पिडिलाइटले इकोनोमिक टाइम्सको शीर्ष १०० ब्रान्डहरूमा पनि स्थान पायो। त्यसैगरी, पिडिलाइटलाई सन् २०१६ मा मोस्ट प्रोमिसिङ कम्पनी अफ द इयर अवार्ड दिइएको थियो।

पिडिलाइटले फेभिकोलसँगै एडहेसिभ, निर्माण, कला सामग्री, रेजिन र अर्गानिक पिग्मेन्ट खण्डहरूमा काम गर्छ। आज पिडिलाइटसँग ५०० भन्दा बढी उत्पादनहरू छन्। कम्पनीको मार्केट क्याप १३ खर्ब ९१ अर्ब ९ करोड रुपियाँ छ।

(अनुवादित)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।