यी हुन् ५२ हप्ताको उच्च र न्यून मूल्यको नजिक रहेर कारोबार गर्ने पाँच-पाँच कम्पनीहरु

Jan 29, 2024 06:38 AM MeroLagani



विगत ३२ महिनादेखि नेप्से परिसूचक १८ सयदेखि २२ सयको सेरोफेरोमा घुमिरहेको छ । यसबीचमा छ पटक नेप्सेले २२ सय माथि बस्न कोशिस गरे पनि हरेक पटक असफल भएको छ । पछिल्लो पटक गत माघ ३ गते बुधबार पनि नेप्सेले २२ सय कटाउने असफल प्रयास गरे पनि अन्ततः बजार बन्द हुँदा २१ सय ६३ मा आएर बन्द भयो ।

यो दौरान केही कम्पनीहरुले अहिले पनि ५२ हप्ताको उच्च मूल्यमा कारोबार भइरहेका छन् भने केही कम्पनीहरु ५२ हप्ताको न्यून मूल्यको हाराहारीमा कारोबार भइरहेका छन् ।

५२ हप्ताको उच्च मूल्य हाराहारी कारोबार हुने कम्पनीहरु

पछिल्लो समय हाइड्रोपावर समूहका कम्पनीहरु ट्रेन्डिङमा छन् । नेप्सेका कुल कारोबारमा ४० प्रतिशतको हाराहारीमा हाइड्रोपावरकै समूहको कारोबार हुने गरेको छ । विगत ५२ हप्ताको उच्च मूल्यको हाराहारीमा कारोबार हुने पाँच कम्पनी छान्दा ४ वटा कम्पनी हाइड्रोपावर कम्पनीकै परेका छन् ।

सामलिङ पावर कम्पनी, मिड सोलु हाइड्रोपावर, समाज लघुवित्त, ङादी ग्रुप पावर र रिभर फल्स पावर विगत ५२ हप्ताको उच्च मूल्यमा कारोबार भइरहेका कम्पनीहरु हुन् । हाइड्रोपावर समूह अन्तर्गत सामलिङ पावर आइतबार ५ सय ८५ रुपैयाँ १० पैसामा बन्द भयो जुन ५२ हप्ताकै उच्च मूल्य हो । कम्पनी करिब २ वर्ष अगाडि नेप्सेमा सुचीकृत भएको थियाे । विगत ५२ हप्तामा कम्पनीको न्यूनतम शेयर मूल्य ३०७ रुपैयाँ ८० पैससम्म पुगेको छ ।

त्यसैगरी ५२ हप्ताको उच्च मूल्य हाराहारीमा कारोबार हुने अर्को कम्पनी मिड सोलु हाइड्रोपावर हो । करिब ४ महिना अगाडि मात्रै नेप्सेमा सुचीकृत यो कम्पनीले पछिल्लो केही कारोबार दिनदेखि सर्किट लेभलमा कारोबार भइरहेको छ । आइतबार मिड सोलुको शेयरमूल्य १० प्रतिशतले बढेर ७५६.९० रुपैयाँमा अन्तिम कारोबार भयो । कम्पनीको अहिलेसम्मको न्यूनतम शेयर मूल्य २९४.२० पैसा रहेको छ ।

लघुवित्तको शेयर मूल्य सबै ५२ हप्ताको न्यूनतम मूल्यको हाराहारीमा कारोबार भए पनि समाज लघुवित्तको शेयर मूल्य भने ५२ हप्ताको उच्च मूल्यमा कारोबार भइरहेको छ । समाज लघुवित्त विभिन्न कम्पनीहरुसँग मर्जर प्रक्रियामा रहे पनि अन्तममा मर्जर सफल हुन नसकेर धेरै पनि मात्रै कारोबार शुरु भएको हो । यद्यपि कम्पनीको सुचीकरण भने २०७८ भदौ ४ मा भएको थियो । पहिलो कारोबार १ सय रुपैयाँ भन्दा मुनि खुलेको यो कम्पनी धेरै समय १ सय मुनि नै कारोबार भयो । विगत डेढ महिनादेखि बढ्दो ट्रेन्डमा रहेको यो कम्पनीको पछिल्लो कारोबार ४ सय ४३ रुपैयाँ ८० पैसामा भयो जुन अहिलेसम्मकै उच्च मूल्य हो । कम्पनीको ५२ हप्ताको न्यून मूल्य ६४ रुपैयाँ ८० पैसा रहेको छ ।

ङादी ग्रुप पावर र रिभर फल्स पावर दुवै अहिले ५२ हप्ताको उच्च मूल्यमा कारोबार भइरहेका कम्पनी हुन । ङादी ग्रुप पावर पछिल्लो बुलमा पनि धेरै चलेको कम्पनी हो । कुनै समय यो कम्पनीको शेयर मूल्य १४ सय रुपैयाँसम्म पुगेको थियो । १ बराबर १.५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएपछि कम्पनीको शेयर मूल्य आकाशिएको थियो । २ सय भन्दा तल्लो विन्दुमा कारोबार भइरहेको यो कम्पनी पछिल्लो समय पुनः शेयर हरेक दिन रेकर्ड बनाउँदै माथि गइरहेको छ ।

२ सयभन्दा तल्लो मूल्यमै कारोबार भइरहेको रिभर फल्स पावरको शेयर मूल्य पनि पछिल्लो समय द्रुत गतिमा बढिरहेको छ । रिभर फल्सको पछिल्लोपटक ३ सय २४ रुपैयाँमा कारोबार भयो भने कम्पनीको ५२ हप्ताको न्युनतम मूल्य १ सय ९३ रुपैयाँ ८० पैसा रहेको छ ।

५२ हप्ताको न्यून मूल्य हाराहारी कारोबार हुने कम्पनीहरु

५२ हप्ताको न्यून मूल्यको हाराहारीमा कारोबार भइरहेका अधिकांश कम्पनीहरु वाणिज्य बैंक समूह अन्ततर्गत रहेका छन् । पाँच कम्पनी छनोट गर्दा ४ वटा कम्पनी वाणिज्य बैंक समूहका परेका छन् । लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, नबिल बैंक, एनएमबी बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५२ हप्ताको न्यून मूल्यको नजिक रहेका कारोबार भइरहेका पाँच कम्पनीहरु हुन् । साधारणतया चुक्ता पुँजी अत्याधिक भएर लाभांश दिने क्षमता कमजोर भएका कम्पनीहरु नै ५२ हप्ताको न्यून मूल्यमा कारोबार भइरहेका छन् । अर्थतन्त्र नै सुस्त रहेका बेला कम्पनीहरुले प्रदर्शन गर्न नसक्दा शेयर मूल्य न्यून विन्दुमा गएको हो । आगामी दिनमा अर्थतन्त्र चलायमान हुँदा कम्पनीको शेयर मूल्य बढ्न सक्ने आशामा अहिले ५२ हप्ताको न्यून विन्दुमा कारोबार भइरहेका कम्पनीहरु किनेर भविष्यमा राम्रो नाफा आर्जन गर्न भने सक्ने देखिन्छ ।

लक्ष्मी सनराइज बैंक विगत ५२ हप्तामा अधिकतम २ सय ८ रुपैयाँ र न्यूनतम १ सय ६७ रुपैयाँ ५० पैसासम्म कारोबार भयो । कम्पनीको शेयर आइतबार १ सय ६८ रुपैयाँ ८० पैसामा कारोबार भयो । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर कारोबार भएपछि बैंकको प्रदर्शन त्यति राम्रो देखिएको छैन । धेरै वाणिज्य बैंकले शून्य लाभांश दिँदा पनि लक्ष्मी सनराइज बैंकले भने गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र शून्य दशमलब ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सरकारी स्वामित्व रहेको नेपाल बैंकको प्रदर्शन पनि पछिल्लो समय राम्रो छैन । गत वर्षको नाफाबाट नेपाल बैंकले शेयरधनीलाई कुनै लाभांश वितरण गरेन । नेपाल बैंकको ५२ हप्ताको अधिकतम मूल्य २ सय ९५ रुपैयाँ र न्यूनतम मूल्य २३१ रुपैयाँ छ । आइतबार कम्पनीको शेयर २ सय ३४ रुपैयाँमा कारोबार भयो ।

विगतमा राम्रो लाभांश दिने कम्पनीमा पर्छ, नबिल बैंक । यस वर्ष कम्पनीले इतिहासकै सबैभन्दा न्यून लाभांश दियो, ११ प्रतिशत नगद लाभांश । विगत एक दशकमा ३० प्रतिशतभन्दा बढी लाभांश दिँदै आएको नबिलले यस वर्ष कम लाभांश दिनुमा पुँजी वृद्धि भए अनुसार व्यवसाय बढाउन नसकेकोलाई लिने गरिन्छ । नबिलले नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेको थियो । बंगलादेश बैंकको खराब कर्जा अधिक हुँदा पनि बैंकले अत्यधिक लाभांश दिन नसकेको हो । मर्जरबापतकाे १ अर्ब रुपैयाँभन्दा बढी कर सरकारलाई बुझाउनुपरेकाले पनि नबिलको लाभांश क्षमतामा ह्रास आएको हो ।

विगतमा राम्रो बैंकको रुपमा कहलिएको एनएमबी बैंकले यसपटक लगानीकर्ताको हात खाली पारेको छ । बैंकको ५२ हप्ताको उच्च मूल्य २ सय ५२ रुपैयाँ र न्युन मूल्य १९२ रुपैयाँ ५० पैसा रहेको छ । आइतबार एनएमबी बैंक १९६ रुपैयाँमा कारोबार भयो । बैंकले पनि विगतमा निष्काशन गरेको एफपीओ र मर्जरका कारण १ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाउनु परेकाले लाभांश दिन नसकेको हो । राम्रो कम्पनीको छवि बनाएको एनएमबी बैंकलाई पनि अहिलेको न्यून मूल्यमा किन्दा भविष्यमा राम्रो फाइदा उठाउन सक्ने देखिन्छ । बैंकको व्यवस्थापन लगायतको विगत भने राम्रै रहेको छ ।

कुनै समय ७० प्रतिशतसम्म लाभांश नेपाल लाइफ इन्स्योरेन्सले विगत दुई वर्षदेखि कुनै लाभांश दिन सकेको छैन । लाइफ इन्स्योरेन्स कम्पनीमध्ये सबैभन्दा धेरै पुँजी रहेको नेपाल लाइफलाई उच्च पुँजी अनुसार व्यवसाय बढाउन सकस भएको देखिन्छ । एफपीओ निष्काशनबापत् १ अर्बभन्दा बढी रकम कर बुझाउनुपर्दा यसपटक पनि कम्पनीले लाभांश वितरण गर्न नसकेको हो ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।