जलविद्युतले मात्रै बजार धान्दै, अरू सबै क्षेत्र सुस्ताए, बजार वृद्धि दिगो होला ?

Feb 12, 2024 03:58 PM merolagani

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा सूचीकृत कम्पनीहरूको कारोबार मापनको लागि नेप्सेले छुट्टा छुट्टै १३ उपसूचक निर्माण गरेको छ। तिनै सूचकले दिनभरि हुने कारोबारको उतारचढावलाई मापन गर्ने गर्छन्।

सोमबार १३ समूह मध्ये सबै उपसूचक बढे। सोमबार सबैभन्दा बढी बढ्ने उपसूचकमा उत्पादनमूलक पछि जलविद्युत समूह अघि छ। उत्पादनमूलक समूहको उपसूचक २.२२ प्रतिशतले बढ्दा जलविद्युत क्षेत्रको उप सूचक १.८३ प्रतिशतले बढ्यो।

सोमबार मात्रै जलविद्युत क्षेत्रको उपसूचक बढेको होइन, महिना भरिकै कारोबारलाई हेर्ने हो भने जलविद्युत क्षेत्रको सूचक अरू क्षेत्रका सूचक भन्दा तुलनात्मक रुपमा बढी सकारात्मक देखिन्छ। बजार घट्दा समेत जलविद्युत क्षेत्रका कम्पनीहरूले आफ्नो मूल्यलाई कम हुन दिएका छैनन्। अझै एक महिना अघि दुई सय रुपैयाँमा कारोबार हुँदै आएका जलविद्युत क्षेत्रका कम्पनीहरू अहिले चार सयको हाराहारी र केही त त्यो भन्दा बढीमा कारोबार हुन थालेका छन्। जसमा दोर्दी खोला, पिपल्स पावर, डोल्टीलगायतका कम्पनी छन्।

एक महिना कै अन्तरालमा जलविद्युत क्षेत्रका कम्पनीहरूले आफ्नो मूल्य डबल बनाउँदै गर्दा अन्य क्षेत्रका कम्पनीहरू भने लगातार घट्दो क्रममा देखिएका छन्। जीवन बिमा, निर्जीवन बिमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोषलगायतका समूहमा रहेका कम्पनीको मूल्य घट्दो क्रममा छन्।

अहिले दोस्रो बजारका लगानीकर्ताले आँखा चिम्लिएर जलविद्युत कम्पनीको शेयरमा पैसा खन्याइरहेका छन्। जसले गर्दा जलविद्युत क्षेत्रका कम्पनीहरूको शेयर मूल्य बढ्दै गएका हुन्। जलविद्युत क्षेत्रका कम्पनीहरूको मूल्य टस मस नभएका कारण अहिले बजार सबै क्षेत्रका कम्पनीको मूल्य घट्दै गर्दा पनि सूचक तल ओर्लन मानिरहेको छैन।

अझै जलविद्युतमा पनि कम चुक्ता पूँजी भएका र भर्खरै प्राथमिक शेयर निष्कासन भएका कम्पनीका शेयरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। चुक्ता पूँजी कम भएका कम्पनीको शेयर सप्लाई कम आउने र भर्खरै प्राथमिक शेयर निष्कासन भएका कम्पनीको ७० प्रतिशतको हाराहारीमा शेयर लकिङ पिरियडमा रहने भएकोले ती शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो।

तर जसरी जलविद्युत क्षेत्रका लगानीकर्ताले पैसा खन्याइरहेका छन्। उनीहरूले कम्पनीबाट पाउने प्रतिफल भने शून्य प्राय छ। किनकि जलविद्युत क्षेत्रकै पनि राम्रा र प्रतिफल दिने कम्पनीका शेयर मूल्य भर्खरै आएका कम्पनीको भन्दा कम छन्। जस कारण पनि भर्खरै आएका कम्पनीले अझै केही वर्ष लगानीकर्तालाई प्रतिफल दिन सक्दैनन्। अर्को तर्फ भर्खरै सूचीकृत भएका कम्पनीको शेयर बैंक वित्तीय संस्थाले धितोको रुपमा नस्वीकार्ने भएकोले पनि मूल्य घट्दा लगानीकर्तालाई गर्जो टार्नु पर्ने अवस्थामा शेयर बेच्नु पर्ने अवस्था आउन सक्छ। जसले लगानीकर्तालाई घाटा पार्ने सम्भावना बढी हुन्छ।

तर दोस्रो बजारमा जसरी जलविद्युत क्षेत्रमा बाढी आएको छ। त्यसले निक्कै ठूलो आँधीको सङ्केत गरिरहेको छ। किनकि बाढीको वेग क्षणिक हुन्छ। त्यसले दीर्घकालसम्म आफ्नो वेग कायम गर्न सक्दैन। बिस्तारै वेग कम हुँदै जाँदा खोलो पहिलेकै अवस्थामा फर्किन्छ। त्यति बेलासम्म बाढीले धेरै कुरा बगाइसकेको हुन्छ। जुन लगानीकर्ताको लागि फलदायी नहुन सक्छ।

 दोस्रो बजारमा बढेको जलविद्युत क्षेत्रको मात्रै शेयरले दोस्रो बजारलाई दिगो बनाउनेमा जानकारहरू विश्वस्त छैनन्। बजारले स्थायित्व पाउन र सबै समूहका शेयरले आ-आफ्नो ठाउँबाट केही न केही भूमिका निर्वाह गर्नु पर्छ। अनि मात्रै बजारको वृद्धि दिगो हुन सक्छ। अन्यथा यस अघिको बुलमा जलविद्युत क्षेत्रका कम्पनीले लिड गरेको भए पनि त्यसले स्थायित्व पाउन सकेन। जसका कारण बजारले छोटो समयमा नै तल्लो बिन्दु तर्फ ओर्लन बाध्य भयो। सोही अवस्था दोहोरिन सक्ने सम्भावना भएकोले लगानीकर्ताले अहिले सचेत भएर लगानी गर्नु पर्ने जानकारहरूको सुझाव छ।         

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।