अपर तामाकोशीका शेयरधनीलाई अर्को ‘बज्र’, ४५६ बाट ६५ मेगावाट मात्र बिजुली उत्पादन हुन थाल्यो, खोलामा पानी सुक्दा आम्दानी खुम्चियो

Feb 24, 2024 11:12 AM Merolagani

अपर तामाकोशीका शेयरधनीलाई अर्को बज्र प्रहार भएको छ । ४५६ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता भएको उक्त आयोजनाबाट ६५ मेगावाट मात्र बिजुली उत्पादन हुन थालेको छ ।

बिजुली उत्पादन ज्यादै नै न्यून हुन थालेपछि आयोजनाको आम्दानी पनि खुम्चिने भएको छ । खासगरी हिउँदको समयमा पानी नपर्दा खोलामा पानी कम भएको र बिजुली उत्पादन पनि घट्दै गएको हो ।

नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्षको हिउँदमा वर्षा नहुँदा विद्युत उत्पादनमा कमी आएको बताए । राजधानीमा आयोजित एक कार्यक्रममा हिउँदमा वर्षा नहुँदा गत वर्ष भन्दा १० प्रतिशतले बिजुली उत्पादन कमी भएको जानकारी पनि उनले गराए ।

‘माथिल्लो तामाकोशीको औसत उत्पादन ६५ मेगावाटमा झरेको छ,’ उनले भने, ‘गत वर्ष यो ८० देखि ९० मेगावाटको हाराहारीमा थियो ।’

बिजुली उत्पादनमा कमी आएसँगै अपर तामाकोशी आयोजनाको आम्दानी सुक्ने भएपछि शेयर मूल्य पनि निरन्तर ओरालो लाग्दै गएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर ओरालो लागेको छ । केही दिन पहिला प्रतिकित्ता २४० रुपैयाँ भन्दा माथि कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य गत (बिहीवार) १९८ रुपैयाँ ९० पैसासम्म आइपुगेको छ ।

अपर तामाकोशीको हकप्रदको शेयर बिक्री नभएपछि लिलामीमा शेयर बिक्री गरिएको थियो । लिलामीमा ल्याइएको शेयर भर्ने अन्तिम दिनदेखि बढ्न सुरु गरेको अपर तामाकोशीको शेयर निरन्तर बढ्दै गएको थियो । तर, अहिले पुनः घट्दै पहिलेकै अवस्थामा आएको छ ।

अपर तामाकोशीले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको थियो । सो शेयर खरिदका लागि पुस २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था गरेको थियो ।

लिलामी ल्याएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको थियो ।

अपर तामाकोशीको १ अर्ब २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री नभएपछि लिलामीमा ल्याएको थियो ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर मात्र बिक्री भएको थियो । बाँकी १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर अपर तामाकोशी हाइड्रोपावरले लिलामीमा ल्याएको थियो ।

यसरी संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबर्द्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने जनाएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रुपैयाँ अंकित दरको हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो शेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शत प्रतिशत चुक्ता गरिसकेका थिए । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् । कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने थियो ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रियबीमा संस्थानको २-२ प्रतिशत संस्थापक शेयर रहेको छ । शेयर स्वामित्व अनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख र २१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशतसाधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने थियो ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने थियो । लिलामीमा ल्याइएको शेयर बापतको रकम संकलन पछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।