सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Feb 25, 2024 10:40 AM Merolagani

नेपाली धितोपत्र बजारमा पहिलोपटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गरेको कम्पनी हो सर्वोत्तम सिमेन्ट।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २४ लाख कित्ता शेयर नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुका लागि ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ मूल्य सीमा राखि बिक्री गरेको थियो।

सो निष्काशनको कट अफ मूल्य ४०१ रुपैयाँ कायम भएको थियो। बुक बिल्डिङ्ग प्रक्रिया मार्फत निष्काशन भएको शेयरमा संस्थागत लगानीकर्ताहरुका लागि निर्धारण भएको कट अफ मूल्यमा १० प्रतिशत घटाइ सर्वसाधारणका लागि मूल्य निर्धारण गर्ने व्यवस्था रहेको छ। जस अनुसार कम्पनीको शेयरमूल्य ३६० रुपैयाँ ९० पैसा कायम भएको थियो।

दोस्रो चरणमा कम्पनीले सोही मूल्यमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन परेको थियो भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा भने ६ लाख ८१ हजार ५३० कित्ता आवेदन परेको थिएन।

कम्पनीले सामूहिक लगानी कोषहरुलाई शेयर बाँडफाँट गरेपश्चात कम्पनीका कर्मचारीहरुका लागि शेयर सुरक्षित गरी बाँकी रहेको शेयरमा स्थानिय बासिन्दाहरुले आवेदन नदिएको शेयर थप गरी कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन २७ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ताहरुमा नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

कति कित्ता आवेदन दिन?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा अंकित मूल्यमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्तालाई कम्पनीको आईपीओमा आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ ५० पैसा आवश्यक पर्दछ।

न्यूनतम ५० कित्ता माग गरिएको कम्पनीको आईपीओ बाँडफाँट पनि न्यूनतम ५० कित्ता नै हुनेछ। यसअनुसार ५० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएमा कुल ५५ हजार ५२१ आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा २६ कित्ता शेष रहन्छ। जुन सोही लगानीकर्ताहरु माझ बाँडफाँट गरिनेछ। तसर्थ, ५० कित्ताभन्दा बढी शेयर प्राप्त गर्न सोही अनुसार आवेदन दिनु पर्नेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कम्पनीलाई इक्राएनपस् इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। इक्राले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले कम्पनीलाई २०८० असार ६ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८१ असार ६ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

सर्वोत्तम सिमेन्ट २०६७ असोज २० गते प्रा.लि.को रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ २०७६ साउन २९ गतेदेखि पब्लिक लिमिटेडमा परिणत भई सर्वोत्तम सिमेन्ट लिमिटेडमा अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ।

कम्पनीको कारोबार गर्ने मुख्य स्थान अर्थात रजिष्टर्ड (कर्पोरेट) कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ३२, तिनकुने, सुविधानगरमा रहेको छ। त्यसैगरी, कम्पनीको उद्योग नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनी र चुनढुङ्गा खानी उत्खनन सम्बन्धी उद्योग पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. १ र निस्दी गाउँपालिका वडा नं. ७ एवं गुल्मी÷पाल्पा जिल्लाको साविक दौधा/सिद्धेश्वर गा.वि.स. सुनापानीमा रहेको छ।

२०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको यस कम्पनीको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।

आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएको लेखापरीक्षण प्रतिवेदन अनुसार निर्माण अवधिको ब्याजसहित कुल लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार २०९ रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ।

सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्गस र सर्वोत्तम इन्भेष्टमेन्टमा यस कम्पनीको शतप्रतिशत शेयर स्वामित्व रहेको छ। त्यसैगरी सर्वोत्तम होल्डिङ्गसको सहायक कम्पनीहरु सिद्धेश्वर मिनेरल्स र ज्यामिरे मिनेरल्समा सर्वोत्तम होल्डिङ्गसको शतप्रतिशत शेयर स्वामित्व रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न र सर्वसाधारणमा शेयर जारी गरी संगठित संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट समेत प्रतिनिधित्व गराउने उद्देश्यले कम्पनीले आईपीओ निष्काशन गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले आफ्नो आवधिक कर्जाको ९५.१८ प्रतिशतभन्दा बढी कर्जा रकम आफ्नै आन्तरीक नगद प्रवाहबाट भुक्तानी गरिसकेको हुँदा शेयरको प्रारम्भिक निष्काशनबाट प्राप्त हुने रकममध्येबाट नेपाल बैंक तथा प्राइम कमर्शियल बैंक अल्पकालिन कर्जाको लिमिट उपभोग घटाउन प्रयोग गर्ने बताएको छ।

 

सोपश्चात बाँकी भएको रकम कम्पनीको उद्योग रहेको स्थानदेखि पूर्व तथा पश्चिममा ग्रीन्डिङ्ग युनिट विस्तार गर्न, काठमाडौंलाई लक्षित गरी धादिङ्ग, मकवानपुर, नुवाकोट आसपासमा सिमेन्ट प्लान्ट स्थापना गर्न तथा उद्योगमा वेस्ट हिट रिकभरी प्रणाली स्थापना गरी ३.५ मेगावाट सम्मको विद्युत शक्ति उत्पादन गर्ने कार्यमा लगानी गर्ने कम्पनीको योजना रहेको छ।

शिवम्, घोराही, सोनापुर र सर्वोत्तम सिमेन्टको तुलनात्मक वित्तीय विवरण

नेपाली धितोपत्र बजारमा हाल ३ सिमेन्ट कम्पनी सूचीकृत छन्। सर्वोत्तम सिमेन्टको सूचीकरणपश्चात यस्ता कम्पनीको संख्या ४ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत घोराही र सोनापुर मिनरल्स दुबै नोक्सानीमा रहेका छन् भने शिवम् सिमेन्ट्सले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० मा घोराही सिमेन्टको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३४ पैसा थियो भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा रहेको थियो। त्यस्तै, सो अवधिसम्ममा शिवम् सिमेन्ट्को प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा रहेको छ।

आईपीओ निष्काशनका लागि प्रकाशित विवरण पत्र अनुसार सो अवधिसम्ममा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यस्तै, विवरण पत्र अनुसार सो अवधिसम्ममा सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा रहेको छ।

सो अवधिसम्ममा आईपीओ जारी गरिसकेको घोराही सिमेन्टको जगेडा तथा कोषमा कुल ४ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको छ भने शिवमकाे जगेडा कोषमा ३ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, सो अवधिसम्ममा आईपीओ जारी नगरेको सोनापुरको जगेडा कोषमा ९१ करोड ९० लाख रुपैयाँ र अब आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको जगेडा कोषमा ३ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ सञ्चित छ।

फागुन १० गत बिहीबार दोस्रो बजारमा सोनापुर मिनरल्सको शेयर प्रतिकित्ता ४१८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो भने घोराही सिमेन्टको ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यस्तै, शिवम् सिमेन्ट्को शेयर प्रतिकित्ता ४६७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यी तीन सूचकलाई आधार मानेर विश्लेषण गर्ने हो भने सर्वोत्तम सिमेन्टका सूचकहरु औषत देखिन्छ। यद्यपि मूल्यलाई आधार मान्नु पर्दा भने सर्वोत्तम सिमेन्ट राम्रो देखिन्छ।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ८७.०९६ प्रतिशत रहनेछ भने सर्वसाधारणको ५.७४२० प्रतिशत, योग्य संस्थागत लगानीकर्ताको ५.१६१३ प्रतिशत र स्थानिय बासिन्दाहरुको २ प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम (२७) मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति गठन हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गने सञ्चालकहरु ५ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना रहने व्यवस्था रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा विष्णु प्रसाद न्यौपाने रहेका छन् भने अन्य सञ्चालकहरुमा विमल कुमार सावरथिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने र तेञ्जिङ्ग लाक्देन तामाङ रहेका छन्।

भावी योजना तथा रणनीति

उत्पादन विविधिकरण गर्ने, उद्योगसँग सम्बन्धित खानीहरुको अनुसन्धान तथा विकास गर्ने, थप खानी क्षेत्रहरुको अनुमति लिई चुनढुङ्गा र आइरनओरको व्यवस्थापन दीर्घकालिन रुपमा प्रबन्ध गर्ने, उद्योगको क्षमता विस्तार गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा उद्योग खोली सञ्चालन गर्ने योजना कम्पनीको रहेको छ। त्यसैगरी, नेपालको सिमेन्ट उद्योग विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु, प्लान्ट तथा उत्पादन क्षमतालाई वृद्धि गर्ने तथा सोही अनुसार बजार विस्तार गर्ने, सिमेन्टसँग सम्बन्धित खनिज पदार्थहरुको अन्वेषण तथा विकास र उत्खनन कार्य गर्ने लगायतका अन्य उद्देश्यहरु रहेका छन्।

आफ्नो उद्देश्य प्राप्तिका लागि कम्पनीले आफ्नो उत्पादनहरुमा गुणस्तरियता कायम गरी निर्माण जगतको विश्वास जित्नुको साथै उल्लेख्य रुपमा सर्वोत्तम सिमेन्टको ब्राण्डसँग कार्य गरिरहेको छ। बजार विस्तारलाई उच्च महत्व दिई बिक्री पछिको प्राविधिक सेवाका लागि विशेषज्ञ ईन्जिनियरहरुको टोली निर्माणस्थलमा नै पुगी निःशुल्क रुपमा सेवा प्रदान गर्ने कार्य विगत वर्षहरुदेखि सञ्चालन गर्ने एक मात्र सिमेन्ट उत्पादक कम्पनीको रुपमा कार्य गरिरहेको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।