बजार घट्दा पनि शेयर बेच्ने भन्दा किन्ने नै बढी, १ अर्बभन्दा माथि कारोबार गर्ने ७ ब्राेकर र १ करोड मुनि कारोबार गर्ने ५ ब्रोकर

Jul 25, 2024 05:32 AM Merolagani



सत्ता समिकरण परिवर्तनसँगै बुधबारको इन्ट्रा डे हाइ समेत जोड्दा करिब २८ प्रतिशतले बजार बढेको छ । बुधबार ‘इन्ट्रा डे’ मा २६ सय छोएर नयाँ आर्थिक वर्ष लागेयता पहिलोपटक बजारमा करेक्सन आएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिनमा आएको करेक्सनपछि यो दोस्रो करेक्सन हो ।

नयाँ आर्थिक वर्ष शुरु भएपछिको सातौ कारोबार दिनमा २७.३२ अंकले करेक्सन भएर २५३६.११ विन्दुमा झरे पनि कारोबार रकमले भने नयाँ उचाई छोएको छ । नेप्से ३२ सयमा हुँदा २० अर्ब भन्दा माथि कारोबार हुने गरेकोमा बजार घट्दै जाँदा १ अर्ब भन्दा पनि न्यून कारोबार हुन थालेको थियो । पछिल्लो ३–४ कारोबार दिनदेखि १४–१५ अर्बको हाराहारीमा कारोबार भइरहेकोमा बुधबार कारोबार रकम भने बढेर १६ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

बुधबार शेयर बजार घट्दा पनि कारोबार रकम बढेको छ भने नेप्सेमा कारोबार गर्ने ९० वटा ब्रोकरमध्ये ५३ वटा ब्रोकरको ‘सेल’ भन्दा बढी ‘बाई’ नै देखिएको छ । बुधबारको कारोबारको आधारमा उच्च रकमको कारोबार गर्ने १० ब्रोकरमध्ये पनि ६ ब्रोकरको ‘सेल’ भन्दा बढी ‘बाई’ नै देखिएको छ । बुधबारको कारोबारमा ५८ नम्बरको नासा सेक्युरिटिज, ४५ नम्बरको इम्पेरियल सेक्युरिटिज, ३४ नम्बरको भिजन सेक्युरिटिज, ४४ नम्बरको डाइनामिक मनि म्यानेजर सेक्युरिटिज, ४२ नम्बरको सनी सेक्युरिटिज, ५७ नम्बरको आर्य तारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज , ४९ नम्बरको अनलाइन सेक्युरिटिज, ३८ नम्बरको दिपशिखा धितोपत्र कारोबार, १७ नम्बरको एबीसी सेक्युरिटिज र ६ नम्बरको अग्रवाल सेक्युरिटिज टप १० ब्रोकरमा परेका छन् । टप १० ब्रोकरमध्ये ५८, ४५, ४२, ४९, ३८ र ६ नम्बर ब्रोकरले बिक्री भन्दा पनि बढी रकमको शेयर खरिद गरेका छन् । टप ब्रोकरले नै बिक्री भन्दा बढी खरिद गरेकाले बजार अझै बढ्न सक्ने आंकलन लगानीकर्ताहरुले गरेका छन् । धेरै लगानीकर्ताहरुले टप ब्रोकरको फ्लोर सिट अध्ययन गरेर पनि लगानी गर्ने गरेका हुन्छन् ।

बुधबारको बजारमा सबैभन्दा धेरै रकमको कारोबार गर्ने ५८ नं. को नासा सेक्युरिटिजले १ अर्ब ६३ करोड रुपैयाँको शेयर कारोबार गरेको ८४ करोड ५३ लाख रुपैयाँको शेयर खरिद गरेकाे छ । ४५ नम्बरको इम्पेरियल सेक्युरिजले ७९ करोड १९ लाख रुपैयाँको शेयर खरिद गरेर ७२ करोड ५५ लाख रुपैयाँको शेयर बिक्री गरेकाे छ । सनि सेक्युरिटिजले ५५ करोड ७७ लाखको शेयर खरिद गरेर ५१ करोड १३ लाख रुपैयाँको शेयर बिक्री गर्दा अनलाइन सेक्युरिटिजले ५ करोड ७१ लाख रुपैयाँको शेयर खरिद गरेर ४९ करोड ८१ लाख रुपैयाँको शेयर बिक्री गरेकाे छ । त्यस्तै ३८ नम्बरको दिपशिखाले ४३ करोड ७१ लाख रुपैयाँको शेयर खरिद गर्दा ३० करोड ३ लाख रुपैयाँको शेयर बिक्री गरेकाे छ । समग्रमा हेर्दा अधिकांश ब्रोकरले अहिलेको समयमा शेयर बिक्री भन्दा पनि खरिदलाई नै जोड दिएको देखिन्छ । लगानीकर्ताहरुसँगको कुराकानीमा लगातार ६ कारोबार दिन बजार बढेर अधिकांश लगानीकर्ता नाफामा रहेकाले अहिलेको घटाईलाई सामान्य करेक्सनको रुपमा मात्रै लिएका छन ।

राष्ट्र बैंक नयाँ मौद्रिक नीति जारी गर्ने संघारमा रहेको अहिलेको परिप्रेक्ष्यमा धेरै लगानीकर्ता मौद्रिक नीतिपछि मात्रै आक्रामक बाई वा सेल रणनीति बनाउने पक्षमा देखिएका छन् । राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले समेत धेरै पब्लिक फोरमहरुमा लचिलो मौद्रिक नीति नै अंगाल्न सक्ने बताउँदै आएका छन् ।

दुई वर्ष अघिको मौद्रिक नीतिमार्फत शेयर बजारमा कसिलो नीतिमार्फत नगद प्रवाह कम गरेका गभर्नर अधिकारीले अब नयाँ मौद्रिक नीतिमार्फत खुकुलो नीति अंगिकार गर्ने अपेक्षा गरिंदै आएको छ । गत आर्थिक वर्षका मौद्रिक नीतिको समीक्षाहरुमार्फत किस्ता किस्तामा मार्जिन कर्जाको प्रावधानलाई खुकुलो बनाउँदै आएको राष्ट्र बैंक अझ अगाडि बढेर १ सय २५ प्रतिशत रहको जोखिम भार तथा व्यक्तिगतको लागि १५ करोड र संस्थागतको लागि २० करोड रहेको मार्जिन कर्जा सीमा समेत खारेज गर्ने अपेक्षा गरिएको छ । लगानीकर्ताको अपेक्षा अनुसार मार्जिन कर्जा खुकुलो भए बजारले अघिल्लो हाई विन्दु उछिनेर जान सक्ने आंकलन समेत गर्न थालेका छन् ।

७ ब्रोकरको कारोबार १ अर्ब माथि

बुधबारको कारोबारमा ७ वटा ब्रोकरको कारोबार १ अर्ब माथि देखिएको छ । कारोबार रकम बढ्दै जाँदा १ अर्ब रुपैयाँ भन्दा बढी कारोबार गर्ने ब्रोकरको संख्या समेत बढ्न थालेको छ । १ अर्ब रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्ने ब्रोकरहरु सबै पुराना ब्रोकर नै रहेका छन् । नयाँ ब्रोकरहरु कोही पनि ‘१ अर्ब क्लब’ मा पर्न सकेका छैनन । नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, डाइनामिक मनि म्योजनर सेक्युरिटिज, सनी सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज र अनलाइन सेक्युरिटिजले १ अर्ब रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेका हुन ।

५ ब्रोकरको कारोबार १ करोड भन्दा तल

९० वटा ब्रोकरमा ५ वटा ब्रोकरको कारोबार रकम भने १ करोड रुपैयाँ पनि पुग्न सकेको छैन । बजारमा १६ अर्ब भन्दा बढी रकमको कारोबार हु्ँदा ब्रोकर नम्बर ७९ को पही इन्भेष्टमेन्ट, ब्रोकर नम्बर ७३ को मनि वर्ल्ड शेयर एक्सचेन्ज, ब्रोकर नम्बर ९९ को प्रभु स्टक मार्केट, ९३ नम्बरको बेनी सेक्युरिटिज र ९७ नम्बरको आरबीबी सेक्युरिटिजले केही लाख रुपैयाँमा मात्रै कारोबार गरेका छन् । पहीले २८ लाख १६ हजार, मनि वर्ल्ड १८ लाख ७३ हजार, प्रभु स्टक मार्केटले ११ लाख ३५ हजार, बेनी सेक्युरिटिजले ९ लाख ६५ हजार र आरबीबी सेक्युरिटिजले ३ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार गरेका छन् ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।