इजरायल-इरान युद्ध नरोकिए विश्व अर्थतन्त्र थला पर्ने, चीनमा लोडसेडिङ र भारतमा इन्धन अभाव हुन सक्ने, नेपालमा कस्तो प्रभाव पर्ला?

Oct 03, 2024 06:15 AM Merolagani



रुस र युक्रेन बीचको युद्ध तेस्रो वर्षमा चलिरहँदा इजरायल र इरानबीचको युद्ध शुरु भएको छ। यद्धपी मध्यपूर्वमा लडाई हुनु नौलो कुरा होइन।

खासगरि इजरायल सधैभरि लडाईमै रहेको हुन्छ, कहिले प्यालेष्टाइनसँग त कहिले लेवनान र कहिले इरानसँग। तर, यसपटकको युद्धलाई विश्व राजनीतिका जानकारहरु निकै डरलाग्दो मानिरहेका छन्। कतिपय विश्लेषकहरु त् अहिलेको घटनालाई तेस्रो विश्वयुद्धको बीउको रुपमा समेत लिइरहेका छन्।

एक आपसमा सीमा नजोडिएका र एक अर्काेदेखि २१ सय किमी टाढा रहेका ती दुई देश बीचको युद्धले विश्व नै धुव्रिकृत हुने सम्भावना बढेको छ। अमेरिकासहितका अधिकाँश पश्चिमा देशहरु सदावहार रुपमा इजरायलको पक्षमा रहेका छन् भने रुस, चीन लगायतका बलिया देशहरु अहिलेसम्म खुलेरै बोलेका छैनन्। तर, उनीहरु स्वतः अमेरिका विरोधी कित्तामा लाग्ने निश्चित छ। यदी उनीहरु इरान वा लेवनानको पक्षमा खुले भने कुनै पनि बेला त्यसले विश्वयुद्धको रुप लिन सक्ने खतरा रहेको छ।

इरान र इजरायलले पछिल्लो घटनामा एक अर्काेलाई दोषी देखाइरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको ‘वैध अधिकार’ बताउँदै त्यो इरान र यस क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यकासाथ गरिएको बताएका छन्। उनले इजरायलले थप कदम चालेमा उस्ले पछुताउनु पर्ने गरि परिणाम देखाइदिने चेतावनी दिएर युद्धको लागि तयार रहेको सन्देश दिएका छन्। यता, इजरायली प्रधानमन्त्री नेतन्याहूले इरानसँग अहिले भएको युद्ध थप सशक्त पार्ने चेतावनी दिएका छन्।

इरानले इजरायलमा क्षेप्यास्त्रहरू प्रहार गरेपछि इरानमा खुसीको माहोल बनेको छ। राजधानी तेहरानका सडकमा खुसीयाली मनाउँदै ठूलो भीडले नाराबाजी गरेको थियो। त्यसको उल्टो इजरायलीहरु भने आतंकित भएको देखिएको थियो। इजरायलमा हवाई हमलाको चेतावनीयुक्त साइरस बजेपछि मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन पुगेका थिए।

प्यालेष्टाइनसँगको युद्धको क्रममै इजरायलीहरुले प्रधानमन्त्री नेतान्यायूको विरुद्ध प्रदर्शन गर्दै आइरहेका छन्। उनीहरु इजरायललाई थप युद्धमा नधकेल्न र आफूहरुलाई शान्तीसँग बाँच्न दिन माग गर्दै आइरहेका छन्। यस्तो बेला इरानसँग शुरु भएको लडाईले इजरेलमा सरकार विरुद्ध थप जनमत सृजना हुने देखिएको छ। तर, प्रधानमन्त्री नेतान्याहु भने इजरेल विरोधीहरुलाई तह लगाउने भन्दै लगातार युद्धमा होमिइरहेका छन्।

अर्थतन्त्रमा पर्ने असर

इजरेल, इरान युद्धले मध्यपूर्व सँगसगै सारा विश्व नै प्रभावित हुने देखिएको छ। जसको प्रत्यक्ष असर नेपाली बजारमा पर्नु स्वभाविक हो। इन्धन, सुन, प्रविधिलगायतको क्षेत्रमा असर स्वरुप तिनको मूल्यमा उछाल आउने संकेत देखिइसकेको छ। यसै पनि इन्धनको मूल्य वृद्धिले लगभग सबै प्रकारका उपभोग्य वस्तुको मूल्य वृद्धि हुन्छ।

अहिले सुनको मूल्य तिब्र गतिमा उकालो लागिरहेको छ भने इन्धनको मूल्य पनि बढ्न थालेको छ।
इजरायल नेपालको मजवुत श्रम सम्बन्ध भएको देश हो। इजरायलमा अहिले विभिन्न काममा करिब ५ हजार नेपाली कार्यरत रहेका छन्। इजरायल राम्रो पारिश्रमिक दिने देश भएकाले यो देशमा नेपालीको आकर्षण बढी नै रहेको छ।

इजरायल, इरान तनावमा तिनीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्। त्यस्तै, नेपालीहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको मध्यपुर्व युद्धको चपेटामा पर्दा त्यसको प्रत्यक्ष असर करिब १५ लाख नेपाली श्रमिकमाथी पर्ने देखिन्छ। जसबाट नेपाली अर्थतन्त्र नराम्रोसँग प्रभावित हुन्छ। रेमिट्यान्सको रुपमा नेपाल भित्रिने विदेशी मुद्रामा ठूलो गिरावट आउनेछ।

अर्काेतर्फ भारत समेत यो युद्धबाट प्रभावित हुने देखिन्छ। ठूलो मात्रामा भारतीयहरु मध्यपुर्वमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने गरेका छन्। त्यसमाथि भारतले इरानबाट सस्तो दरमा तेल किन्ने गरेको छ भने इजरायलबाट हतियार खरिद गर्ने गरेको छ।

इजरायलसँग सम्बन्ध सुधार गर्दा इरान रिसाउने तथा इरानसँग सम्बन्ध व्यवस्थापन गरे इजरायल लगायत पश्चिमा ब्लक चिढिने सम्भावना छ। जसको प्रत्यक्ष असर भारतीय अर्थ व्यवस्थाले भोग्नुपर्ने हुन्छ। भारतमा इन्धनको अभाव हुने वा अत्यधिक मूल्य वृद्धि भएर त्यसले सबै क्षेत्रमा मूल्य वृद्धि गराउने निश्चित छ।

भारतको सम्बन्ध इजरायल र इरान दुबैसँग प्रगाढ रहेको छ तर अब त्यो अवस्था नरहन सक्छ। त्यसबाट अप्रत्यक्ष रुपमा नेपाल समेत प्रभावित हुनेछ। किनकी नेपाली अर्थतन्त्र सघन रुपमा भारतीय अर्थतन्त्रसँग निर्भर रहेको छ। नेपाली अर्थतन्त्रलाई भरतीय ‘स्याटेलाईट इकोनोमी’ समेत भन्ने गरिन्छ। त्यसैले भारतीय अर्थतन्त्रमा परेको प्रभाव नेपाली अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभावित हुने गर्दछ।

अर्काेतर्फ विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीन समेत यो युद्धवाट प्रत्यक्ष प्रभावित हुनेछ। चीनले आफ्नो उर्जा मागको करिब ८० प्रतिशत आयात गर्ने गरेको छ। साथै इरान चीनको प्रमुख उर्जा निर्यातक देश समेत हो। युद्धका कारण चीनमा इरानी उर्जा बन्द हुँदा चीनले उर्जा संकटको सामना गर्नुपर्ने वा अन्य क्षेत्रबाट महँगो लागतमा आयात गर्नुपर्ने अवस्था आउँछ। जसको परिणाम स्वरुप चीनीयाँ अर्थतन्त्र प्रभावित हुन्छ।

त्यस्तै, संसार भरको उत्पादनको केन्द्रको रुपमा रहेको चीनमा उत्पादन लागत बढ्दा संसारभर नै उपभोग्य सामानको मूल्यमा उछाल आउँछ। जसको परिणाम स्वरुप विश्वभर नै महंगी बढ्ने निश्चित प्रायः छ। अहिलेकै युद्धका कारण विश्वयुद्ध होस्, नहोस इजरायल, इरान युद्ध अझै केही लम्बियो भने त्यसले नेपाल मात्रै नभएर सारा संसार नै प्रभावित हुने र कोरोना कालपछि अर्थतन्त्रमा अर्काे संकट सृजना गर्ने र त्यसैले सिंगै विश्वको अर्थतन्त्र थप डामाडोल बनाउने निश्चित छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।