नेप्सेसँगै घट्यो कारोबार रकम

Oct 08, 2024 03:09 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० स्टकको ४५ हजार ८७० पटकको कारोबारमा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९४ रुपैयाँ ३० पैसा बढेर १ हजार ३७ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.५० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब २४ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन एनआईसी एशिया बैंकको करिब १३ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।