नाफासँगै बैंकहरुको रिटर्न अन इक्वीटि बढ्दै, घट्दो अवस्थामा रहेको प्रतिफलमा केहि सुधार आउला?

Nov 06, 2024 11:07 AM Merolagani



वाणिज्य बैंकहरुको नाफा बढेसँगै रिटर्न पनि बढ्ने देखिएको छ। चालु आर्थिक वर्षमा बैंकहरुले २१ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका थिए।

बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको औसत रिटर्न अन इक्वीटि पनि ९.११ प्रतिशतमा उक्लिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा औसत रिटर्न अन इक्वीटि ७.९३ प्रतिशतमा झरेकोमा चालु आर्थिक वर्षमा रिटर्न अन इक्वीटि बढेको छ।

पछिल्लो समय बैंकहरुको रिटर्न अन इक्वीटि निरन्तर घट्दै गएको थियो। तर चालु आर्थिक वर्षमा भने केहि बढ्न सक्ने संकेत पहिलो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। किनभने पहिलो त्रैमासमा बैंकहरुको नाफामा सुधार आएको छ भने दोस्रो त्रैमासमा पनि गत वर्षको तुलनामा नाफा बढ्ने अनुमान छ।

बैंकहरुमा थुप्रिएर बसेको लगानीयोग्य रकम बजारमा लगानी हुन सक्ने हो भने बैंकहरुको नाफा अझै धेरै बढ्न सक्ने देखिन्छ। अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बस्दा उनीहरुको लागत बढेको छ जसले गर्दा आम्दानी बढाउन सकेका छैनन्।

  • हेरौ पछिल्लो केहि वर्षको रिटर्न अन इक्वीटिको अवस्था

पछिल्ला वर्षहरुमा बैंकले वितरण गर्ने लाभांश निरन्तर घट्दै गएको छ भने रिटर्न अन इक्वीटी समेत घट्दो क्रममा देखिएको छ।

पछिल्लो ८ वर्षको ट्रेण्ड हेर्दा बैंकहरुको रिटर्न अन इक्वीटी घट्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०७३/७४ मा बैंकहरुको औसत रिटर्न अन इक्वीटी १४.०४ प्रतिशत रहेको थियो। जुन अहिले एकल विन्दुमा झर्न लागेको छ।

आर्थिक वर्ष २०७४/७५ मा रिटर्न अन इक्वीटी ११.५९ प्रतिशत थियो भने २०७५/७६ मा १४.१८ प्रतिशत, २०७६/७७ मा १०.७८ प्रतिशत, २०७७/७८ मा ११.०५ प्रतिशत, २०७८/७९ मा १२.०५ प्रतिशत र २०७९/८० मा १०.६८ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको रिटर्न अन इक्वीटी पछिल्लो ७ वर्ष यताकै न्युन छ। गत आर्थिक वर्षमा बैंकहरुको औसत रिटर्न अन इक्वीटि ९.३७ प्रतिशतमा झरेको छ।

पछिल्ला वर्षहरुमा बैंकहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश पनि निकै घटेको छ। चालु आर्थिक वर्षमा त अधिकाँश बैंकको लाभांश दर ५ प्रतिशतमा नै झरेको छ। कतिपय बैंकहरु त शेयरधनीलाई प्रतिफल वितरण नै गर्न नसक्ने अवस्थामा छन्।

चालु आर्थिक वर्षमा भने बैंकहरुको नाफामा केहि सुधार आउने देखिएकोले पनि रिटर्न अन इक्वीटि केहि सुधारिने अपेक्षा छ। यसले गर्दा आगामी बर्ष बैंकहरुले शेयरधनीहरुलाई वितरण गर्ने लाभांशमा समेत केहि बृद्धि हुने अपेक्षा छ।

  • कुन बैंकको रिटर्न अन इक्वीटि कति छ?

वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चाटर्ड बैंकको रिटर्न अन इक्वीटि सबैभन्दा धेरै १६.१ प्रतिशत छ भने एसबिआई बैंकको १६.०४ प्रतिशत, प्राइम बैंकको १५.९७ प्रतिशत, एभरेष्ट बैंकको १५.९१ प्रतिशत र एनएमबी बैंकको १५.९१ प्रतिशत छ।

यता कृषि विकास बैंकको रिटर्न अन इक्वीटी ऋणात्मक छ भने एनआइसी एशिया बैंकको १.४५ प्रतिशत सिटिजन्स बैंकको ३.५४ प्रतिशत र सिद्धार्थ बैंकको ५.३८ प्रतिशत छ।




comments powered by Disqus