डोनाल्ड ट्रम्पले जित्ने सम्भावना देखिएसँगै विश्व शेयर बजारमा उछाल, नेपाली शेयर बजार भने किन खस्कियो ?

Nov 06, 2024 04:37 PM merolagani



अमेरिकाको ४७ औ राष्ट्रपतिको निर्वाचनमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जित सुनिश्चित भए सँगै विश्व शेयर बजारमा उछाल देखिएको छ। भारतदेखि अमेरिकासम्मका शेयर बजार खुले देखिनै बढ्दो लयमा देखिए।

प्रारम्भिक चरणको नतिजा सार्वजनिक भएदेखि नै ट्रम्पले अग्रता कायम गर्न थाले सँगै शेयर बजार सुधार उन्मुख देखिएका थिए। भारतीय शेयर बजार सुरुवातमै बढेर खुल्यो। बुधवार सुरुवातमा नै बम्बे स्टक एक्सचेन्जको कारोबार मापक सूचक बिएससि सेनसेक्स ७९ हजार ७७१.८२ अंकमा खुल्यो। जबकि अघिल्लो दिन ७९ हजार ४७६.६३ अंकमा बन्द भएको थियो। साढे तीन बजेसम्ममा सूचक ८० हजार ३६१ अंकसम्म उक्लिएको थियो। उता नेशनल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २४ हजार ४८८ अंकसम्म उक्लिएको थियो।

ट्रम्पले जिते सँगै आउने केही दिन भारतीय शेयर बजारमा बढ्दो र्‍याली कायम हुने अनुमान आउन थालेका छन्। सोही कारण शेयर बजारमा तेजी देखिएको सञ्चारमाध्यमले लेखेका छन्। केही दिन देखि सुस्ताएको भारतीय शेयर बजारमा ट्रम्पको कारण रौनक छाएको छ। केही दिन अघि शेयर किनेर नोक्सानीमा परिरहेका लगानीकर्तालाई ट्रम्पको जितले राहत दिएको छ।  

बुधवार भारतीय शेयर बजार मात्रै बढेन अन्य देशका सबै जसो शेयर बजार बढेका छन्। अमेरिकाका डाउजोन्स र न्यासड्याक एक प्रतिशत भन्दा बढीले बढे। अमेरिका, युरोप, एसिया देखि अफ्रिकन मुलुकसम्मका शेयर बजार बढे। शेयर बजारमा उछाल आउँदै गर्दा क्रिप्टो करेन्सीमा पनि उछाल देखिएको छ। बिटक्वाइनले अहिलेसम्मकै सर्वाधिक मूल्यको रेकर्ड ब्रेक गरेको छ। एक बिट क्वाइनको मूल्य ७५ हजार डलर भन्दा माथि उक्लिएर उसले रेकर्ड कायम गरेको हो।

विश्व शेयर बजार त बढेकै छन्। त्यसका अतिरिक्त स्वयम् ट्रम्पका कम्पनीको शेयर मूल्यमा समेत उछाल आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन्। ट्रम्पले जित्नु भन्दा अघि नै उनको सोसल मिडिया कम्पनीको शेयर मूल्य ४० प्रतिशतसम्मले बढ्यो। गए राति ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपको शेयर मूल्य ४० प्रतिशतले बढेको थियो। तर कारोबारको अन्तमा भने १० प्रतिशतले बढेर बन्द भएको ब्लुमबर्गले लेखेको छ।  

तर नेपालको शेयर बजारमा भने ट्रम्पको जितले खासै फरक पारेन। बुधवार नेपाली शेयर बजार भने थोरै खुम्चिएर बन्द भयो। बुधवार नेपाली शेयर बजार १.८८ अंकले घटेर २६७५.५१ अंकमा ओर्लियो। विश्व शेयर बजारमा अमेरिकाको राजनीतिक अवस्थाले फरक पार्ने गरेको भएपनि नेपाली शेयर बजारमा भने त्यसले खासै फरक पार्ने गर्दैन। किनकि नेपाली बजारमा विदेशी लगानीकर्ताले लगानी गर्न पाउँदैनन्। तर भारत लगायतका अन्य देशहरूमा भने अन्तर्राष्ट्रिय लगानीकर्ताले समेत लगानी गर्न पाउँछन्। जसले गर्दा विश्व बजारमा आउने हलचलले त्यहाँ शेयर बजार प्रभावित हुने गर्छन्। तर नेपालमा भने त्यसले कुनै असर गर्ने गरेको छैन। नेपाली बजारमा अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागिता नभइको कारण पनि विश्व बजारको प्रभाव नेपाली बजारमा नपरेको हो।




comments powered by Disqus