चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो।
लघुवित्तको ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.८६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १८.४६ प्रतिशत र कुल सञ्चालन आम्दानी ३७.९९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा ४ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७१ लाख ३९ हजार रुपैयाँ धनात्मक भएको छ।
लघुवित्त नाफामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ।
७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।