नेको इन्स्योरेन्सको नाफा सामान्य घट्यो

Nov 15, 2024 12:38 PM Merolagani



नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३.३३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.९९ प्रतिशत बढेको छ भने कुल खर्च ७.४५ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ४९ पैसा घटेर १४ रुपैयाँ १ पैसा झरेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६७.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ ८१ पैसा रहेको छ।

२ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब १३ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५९ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ५ लाख रुपैयाँ सञ्चित छ।