बिहीबार नेप्से परिसूचक ११.६४ अंक घटेर २६९९.८१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ८ अर्ब ९५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ९२ हजार ३२६ पटकको कारोबारमा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको १ करोड ८६ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५७ रुपैयाँ ३० पैसा बढेर ६३० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन दुई स्टकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ३५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बरुण हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.५८ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत घटेको छ भने अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।