यस दिन नेप्से घटेसँगै २८०० विन्दुभन्दा तल झरेको थियो। गत साताको पहिलो कारोबार दिन ७५.२४ अंक बढेर २८०० विन्दुभन्दा माथि पुगेको नेप्से, यस दिन घटेर २८०० विन्दुभन्दा तल झरेको हो।
आइतबार नेप्से परिसूचक ४६.३३ अंक घटेर २७७२.१० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ।
यस दिन कारोबार रकम सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १० अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको १ लाख १२ हजार ३४७ पटकको कारोबारमा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँबराबरको २ करोड २७ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब १२ करोड ४८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब ६० करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।