‘बर्खायाममा पानी दुषित हुने सम्भावना बढी हुन्छ, उपभोक्ता स्वंयम सचेत बन्नुहोस्’

Jun 18, 2025 01:13 PM merolagani



खाद्य स्वच्छता र गुणस्तरसँग सरोकार राख्ने निकायका प्रतिनिधिहरुले बर्खायाम सुरु भइसकेकाले खानेपानी र दूधजन्य वस्तुको गुणस्तरमा ध्यान दिन आम उपभोक्तालाई आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाको आयोजनामा सञ्चारकर्मीलाई खाद्य स्वच्छता तथा गुणस्तर शिक्षासम्वन्धी कार्यक्रममा बोल्ने वक्ताहरुले बर्खायाममा पानी र तरलजन्य वस्तु दुषित हुन सक्ने भन्दै आम उपभोक्ता स्वंयम सचेत हुनुपर्ने बताए ।

सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बर्खायामका बेला पानी र दूधजन्य वस्तुमा आँखाले देख्न नसकिने शुक्ष्म जिवाणुको मात्रा बढी हुने हुँदा यो बेला उपभोक्ता बढी सचेत हुनुपर्ने बताए ।

विभागले पनि पछिल्लो पटक पानी र दूधजन्य वस्तु अनुगमनलाई प्राथमिकता दिइरहेको बताए । ‘बर्खायाम सुरु भइसकेको छ । यो बेला खासगरी पानी र दूधजन्य वस्तुमा आँखाले नदेखिने शुक्ष्म जिवाणुको मात्रा बढी देखा पर्ने हुन्छ । दुषित पानीका कारण पनि कतिपय मानिस बिरामी पर्न सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘यसका लागि उपभोक्ता आफैं सचेत र जागरुक हुनुपर्छ । विभागले पनि उपभोक्ता सचेतना कार्यक्रम गरिरहेको छ ।’

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका प्रमुख सल्लाहकार सन्तोष गिरीले पनि बर्खायाममा दुषित पानीका कारण अस्पतालमा बिरामी बढ्ने गरेको बताउँदै यो बेला उपभोक्ताले पनि आफुले प्रयोग गर्ने पानीको स्रोत के हो ? गुणस्तर कस्तो छ ? पिउन मिल्ने हो कि होइन ? त्यो हेरेर मात्र प्रयोग गर्नुपर्ने बताए ।

खाद्य स्वच्छता र गुणस्तर कायम गर्न अन्य निकायसँगको समन्वय पनि महत्वपूर्ण हुने उनले बताए । खाद्य स्वच्छतासम्वन्धि सञ्चारकर्मीहरुका लागि बोलाइएको कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुखका प्रमुख खाद्य विज्ञ तथा सल्लाहकार जीवनप्रभा लामाले सञ्चारमाध्यमको दृष्टिकोणमा खाद्य स्वच्छता विषयमा आफ्नो प्रस्तुतीकरण राखेकी थिइन् ।

त्यस्तै काठमाडों महानगरपालिका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न महानगरले अन्य निकायसँग पनि समन्वय गर्दै अघि बढेको बताए ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।