लुम्बिनीको ‘अनुगमन’ को लागि हिँडेको सांसदको टोली लुम्बिनी टेक्दै नटेकी नैनी तालमा मस्ती गर्दै !

Jun 20, 2025 03:37 PM mero lagani



आर्थिक वर्षको अन्त्य नजिकिदैं गर्दा बजेट ‘फ्रिज हुन नदिने’ भन्दै ‘लुम्बिनी प्रदेश सभाको अनुगमनको लागि’ हिंडेको प्रदेश सांसदहरुको टोली लुम्बिनी नगई भारतको नैनीतालमा मस्ती गरिरहेको तथ्य सार्वजनिक भएपछि खैलाबैला मच्चिएको छ । 

संघीय तथा प्रदेश लेखा समिति सरकारले गर्ने आर्थिक अनियमितताहरुको छानबिन गरि कारवाही सिफारिस गर्ने अधिकार सम्पन्न निकाय हो । तर,त्यति निकायका पदाधिकारीहरु एकातिरको अनुगमन, भ्रमण आदेश स्वीकृति गराएर अर्काेतिर गएपछि खैलाबैला मच्चिएको हो ।

तस्वीर:  दिनेश खवरबाट

समितिका सभापति अक्कलबहादुर रावलको नेतृत्वमा सदस्यहरू सन्तोष शर्मा थापा, बेल बहादुर राना,मधु भारती, मानबहादुर धामी, गीतादेवी माल र विक्रम सिंह धामी नैनी ताल पुगेका छन् । भ्रमणमा समितिका सचिव बलदेव कपाडी पनि सहभागी छन्। तर, सुदूरपश्चिम प्रदेश सभाका सचिव देव बहादुर बोगटीले सार्वजनिक लेखा समितिको टोली लुम्बिनी भ्रमणमा गएको बताए।

प्रदेश सभाको लेखा समितिले असार ३ गते लुम्बिनी प्रदेशको भ्रमण गर्ने निर्णय गर्दै प्रदेश सभामुख भीमबहादुर भण्डारीबाट अनुमति माग गरेको थियो । लुम्बिनी प्रदेश सभाको अनुभव सिक्न र लुम्बिनी प्रदेश सरकारका काम कारवाही अनुगमन गर्न भन्दै माग गरेपछि सभामुख भण्डारीले स्वीकृति लिएको थियो । तर, उनीहरू लुम्बिनीमा नगई भारतको नैनी ताल पुगेका हुन् ।

जबकी उनीहरूले भारत भ्रमणका लागि कुनै औपचारिक स्वीकृत नै लिएका छैनन् । प्रदेश सभा सचिवालयले लेखा समितिका सदस्यहरूले लुम्बिनी प्रदेश सभाको अनुभवन र उक्त क्षेत्रका पर्यटकीय क्षेत्रहरूको भ्रमणका लागि स्वीकृत लिए पनि भारतको नैनी ताल भ्रमणका विषयमा जानकारी नरहेको बताएको छ । ‘बाटोमा परेको ठाउँ हुन्थ्यो भने जान लागेको ठाउँको बाटोमा थियो, त्यसैले घुमे होलान् भन्न हुन्थ्यो । तर, यो त ठवाक्कै उल्टो दिशामा पर्छ । त्यसमाथि विदेश । त्यसैले सांसदहरुको यो भ्रमण नियोजितरुपमा भ्रष्टाचार प्रेरित घटना हो । सुदूरपश्चिम प्रदेश सभाको लागि मात्र नभएर देशकै लागि लज्जाको विषय हो । प्रदेश सभाको औचित्यमाथि प्रश्न उठिरहेको बेला प्रदेश सांसदहरुको यस्तो व्यवहारले संघियता विरोधीहरुलाई थप बल पुगेको छ,’ सुदूर पश्चिम प्रदेश सभाका एक सांसदले मेरो लगानीसँग भने । उनले यो विषय अब प्रदेश सभामा जोडतोडका साथ उठ्ने दावी पनि गरे ।

यो विषयमा आफूलाई समेत झुक्काइएको भन्दै प्रदेश सभामुख भण्डारी पनि सांसदहरुसँग आक्रोशित भएका छन् ।