लगानीकर्ताले उठाए T+1 सेटलमेन्टको माग, सिडिएससी भन्छ-'सम्भव छ', ब्रोकर कम्पनी भन्छन् ‘अहिले आवश्यक छैन’

Jun 20, 2025 05:53 PM merolagani



सुवास निरौला

शेयर लगानीकर्ता संघले शुक्रवार आयोजित एक कार्यक्रममा नेपाल धितोपत्र बोर्डलाई ९ बुँदे सुझाव दिएको छ। नेपाल धितोपत्र बोर्डले शुक्रवार आयोजना गरेको “धितोपत्र बजार तथा बस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सुझाव संकलन,” कार्यक्रममा लगानीकर्ताले उक्त सुझाव दिएका हुन्।

जसमा शेयर बजारमा तिरेको करलाई अन्तिम करको रुपमा मान्यता प्रदान गर्न पहल गर्ने र T+1 सेटलमेन्टको व्यवस्था गर्नु पर्ने प्रमुख सुझाव छन्। यसअघि देखि नै लगानीकर्ताले शेयर बजारमा तिरेको करलाई अन्तिम करको रुपमा मानिदिनु पर्ने माग राख्दै आएका हुन्। यस पटकको बजेट अघि पनि लगानीकर्ताले सोही माग राखेका थिए। तर सरकारले अहिलेसम्म उक्त माग सम्बोधन गरेको छैन। त्यसैले गर्दा अहिले पनि लगानीकर्ताले उक्त माग राख्न छाडेका छैनन्।

अर्कोतर्फ लगानीकर्ताले शेयर बजारमा अभ्यास भइरहेको सेटलमेन्ट साइकललाई समेत छोट्टाउनु पर्ने माग राखेका छन्। यस विषयमा केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले यसलाई कार्यान्वयनमा लैजान कुनै समस्या नरहेको बताएको छ। तर उसले उक्त साइकल छोट्टाउने निर्णय भने आफैले गर्न नसक्ने बताएको छ। त्यसको लागि धितोपत्र बोर्डले निर्देशन दिनु पर्ने सिडिएससीका अधिकारीको जिकिर छ। “सेटलमेन्ट साइकल छोट्टाउन हाम्रो तर्फबाट कुनै समस्या छैन। तर त्यो विषयमा हामी एक्लैले निर्णय भने गर्न सक्दैनौ। तर धितोपत्र बोर्डले आज निर्देशन दिए अर्को साताबाट सुरु गर्न हामी तयार छौ,” ती अधिकारीले मेरो लगानीसँग भने।

यस अघि T+3 सेटलमेन्ट साइकल रहेको थियो। तर २०७७ मा नेपाल धितोपत्र बोर्डले त्यसलाई छोट्टाएर T+2 मा झार्न निर्देशन दियो। उक्त निर्देशन पछि सिडिएससीले २०७७ माघ ११ गते देखि नेपालमा सेटलमेन्ट साइकल छोट्टाएर T+2 मा झार्‍यो।  

तर सेटलमेन्ट साइकल छोट्टाउने विषयमा लगानीकर्ता र सिडिएससी तयार रहे पनि ब्रोकर कम्पनी भने उक्त साइकल छोट्टाउनु पर्छ भन्ने पक्षमा छैनन्। अहिले नै सेटलमेन्टको लागि समस्या हुने गरेकोले त्यसलाई छोट्याउदा थप समस्या थपिने उनीहरू तर्क गर्छन्। खासगरि नेपालमा उधारो कारोबार हुने भएकोले त्यसलाई छोट्याउदा बढी समस्या हुने उनीहरूको तर्क हो। “नगद कारोबार हुने बजारमा सेटलमेन्ट साइकल T+0 नै गर्दा पनि खासै फरक पर्दैन। तर नेपालमा उधारो कारोबार बढी हुने गर्छ। त्यसले गर्दा अहिले नै साइकल छोट्याउदा थप समस्या पर्छ। त्यस कारण अहिले यो आवश्यक छैन” स्टक ब्रोकर एसोसिएसन अफ नेपालका एक पदाधिकारीले मेरो लगानीसँग भने।

सिडिएससीका अधिकारी र ब्रोकर एसोसिएसनका दुवै अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा त्यस्तो प्रतिक्रिया दिएका हुन्। साइकलको विषयमा खुलेर कुरा गर्दा पछि पक्ष विपक्ष बीचको सामना गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूले आफ्नो नाम खुलाउन चाहेनन्।

तर दुवै जनाको प्रतिक्रियाले सेटलमेन्ट साइकल T+1 मा झार्न असम्भव हुने अवस्था देखिँदैन। विश्व शेयर बजारमा T+1 साइकलमा धेरै स्टक एक्सचेन्जहरूले काम गरिरहेका छन्। अझै केही एक्सचेन्जहरूले साइकल T+0 मा झार्ने योजनामा काम गरिरहेका छन्।

अमेरिकाका सबै एक्सचेन्जहरूले T+1 साइकलमा सेटलमेन्ट गरिरहेका छन्। त्यहाँ २८ मे २०२४ देखि लागू भएको हो।  क्यानडामा पनि T+1 साइकलमा नै सेटलमेन्ट हुने गरेको छ। त्यहाँ २७ मे २०२४ देखि सुरु गरिएको हो। मेक्सिको, अर्जेन्टिना, भारत, चीन, जमाइका जस्ता देशहरूका स्टक एक्सचेन्जहरूले T+1 को अभ्यास गरिरहेका छन्।

त्यसैगरि केही देशहरूले आउने दिनमा जाने तयारी गरिरहेका छन्। जसमा चिली, कोलम्बिया, पेरुले २०२५ को दोस्रो त्रैमासदेखि लागु गर्ने तयारी गरिरहेका छन्। यता युरोपेली संघ अन्तरगर्तका देश बेलायत स्वीजरल्याण्डले ११ अक्टोबर २०२७ मा जाने लक्ष्य राखेका छन्।

सेटलमेन्ट साइकल भनेको के हो ?

दोस्रो बजारमा शेयर किन्ने र बेच्नेको नगद राफसाफ हुने समय नै सेटलमेन्ट साइकल हो। जुन दिन शेयर किन र बेच हुन्छ। उक्त दिनलाई T+0 भनिन्छ। त्यसको भोलिपल्टलाई T+1 भनिन्छ भने दोस्रो दिनलाई T+2 भनिन्छ। अहिले नेपालमा T+2 मा सेटलमेन्ट हुने गर्छ। त्यस अनुसार लगानीकर्ताले जुन दिन शेयर बिक्री गर्छ। उसले किनेको भोलिपल्ट पैसा दिनु पर्छ। शेयर किन्नेको खातामा भने शेयर किनेको तेस्रो दिन आउँछ। यसरी तेस्रो दिन किन्नेले शेयर पाउँछ भने बिक्री कर्ताले भुक्तानी पाउँछ। यसैलाई दोस्रो दिनमा नै राफसाफ हुनु पर्ने माग लगानीकर्ताले राखेका हुन्। जसलाई T+1 सेटलमेन्ट साइकल भनिन्छ।