शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता बुढाथोकीले सम्बन्धित मन्त्रालयको सहजीकारका लागि थालेको पहल बमोजिम असार १ गते देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गरिएको जानकारी दिए । उनले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई कार्यक्रममा आबद्ध गराउँदा बीमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, नेपालमा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु छुट्टाछुट्टै ऐनबाट सञ्चालित रहेकोमा सबै प्रतिष्ठानलाई एकीकृत रुपमा सञ्चालनका लागि मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । उनले विधेयकको मस्यौदामा कुनै राय सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा मस्यौदा विधेयकको दफा, प्रश्तावित व्यवस्था, राय सुझाव दिइएको विषय र पुष्ट्याइँसहितको ढाँचामा पठाउन सूचना प्रकाशन गरिएको बताए।
उनले भने, ‘स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनको सुझावको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारका राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउँदा स्वास्थ्य बीमा कोषमा पर्याप्त रकम जम्मा हुने । बीमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने भनी राखेको प्रस्तावअनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समेटिएको छ । यो व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग सहजीकरणका लागि थालेको पहल बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्ध हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्रसहित असार १ गते देशभरका सबै गाउँपालिका तथा नगरपालिकाहरुलाई पत्राचार गरिसकेको छ । नेपालमा हाल स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु, छुट्टाछुट्टै ऐनबाट सञ्चालन भएको हुँदा एकरुपता हुन नसकेको कुरालाई मनन गरि सबै प्रतिष्ठानहरुलाई एकीकृत रुपमा सञ्चालन गर्न सोसम्बन्धी कानुन निर्माण गर्न आवश्यक भएकोले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एकीकृत गर्न मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको जानकारी गराउन चाहन्छु । एकीकृत स्वास्थ्य विज्ञानको विधेयकको मस्यौदामा कुनै राय सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा मस्यौदा विधेयकको दफा, प्रस्तावित व्यवस्था, राय सुझाव दिइएको विषय र पुष्ट्याईसहितको ढाँचामा पठाउनुहुन सूचना प्रकाशनसमेत गरिएको छ । पछिल्लो समयमा नेपालमा कोभिड संक्रमणका घटनाहरु फाटफुट देखिएको छ । विशेषगरि भारतबाट फर्कनेहरुमा सीमा नाकामा रहेका हेल्थ डेस्कमा परीक्षण गर्दा संक्रमण देखिएको हो । नेपालमा यसवर्ष सन् २०२५ जनवरी १ देखि जुन १९ सम्म १ सय ६४ संक्रमण पुष्टि भएको छ भने पछिल्लो एक सातामा ३३ वटा संक्रमण पुष्टि भएको छ । यसअवधिमा २५ जिल्लाबाट कोभिडको संक्रमणका घटना रिपोर्ट भएका छन् ।’
उनले जनवरी १ देखि १९ सम्म एक सय ६४ र पछिल्लो एक सातामा ३३ वटा कोभिड संक्रमण पुष्टि भएको जानकारीसमेत दिए ।