हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 28, 2025 06:21 AM Merolagani



भदौ १२ गते, बिहीबार, हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। हाथवे इन्भेष्टमेन्ट (HATHY) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम हाथवेका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् भने ४ म्युचुअल फण्डका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

हाथवेले भदौ २५ गते, बुधबार, आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समूह क को शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० (NMB50) र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) ले गत आर्थिक वर्षका लागि १५ –१५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (C30MF) ले १२.७५ प्रतिशत प्रतिफल वितरण गर्नेछ।