प्रधानमन्त्री ओलीको राजीनामासँगै संयमित हुन आग्रह, बालेन, डा. रुइत र सुरक्षा प्रमुखहरुले गरे शान्तिपूर्ण समाधान खोज्न अपील

Sep 09, 2025 05:48 PM MeroLagani



प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै बौद्धिक व्यक्तित्वसँगै काठमाडौं महानगरका मेयर, प्रधान सेनापति, मुख्यसचिवलगायतले समेत संयमित भएर राजनैतिक सम्वादबाट समाधान निकाल्न आह्वान गरेका छन ।

मुख्य सचिव एकनारायण अर्याल,प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त अपील जारी गर्दै राजीतिक संवादको माध्यमबाट शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेको हुन । सार्वजनिक सम्पत्तिको थप क्षति हुन नदिन आग्रह गर्दै प्रधानमन्त्री केपी ओलीको समेत राजीनामा आइसकेको अवस्थामा सबैलाई शान्तिपूर्ण समाधान निकाल्न अपील गरेका हुन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा एक लामो स्ट्याटस राख्दै हत्याराको राजीनामा आइसकेको बताउँदै जेनजी आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन । उनले आफ्नो स्ट्याटसमा लेखेका छन् –‘देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो । संयमित हुनुहोला ।’ उनले जेनजी पुस्ताले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै सेना प्रमुखसँग वार्ताको लागि तयार रहन आग्रह गरे । त्यस भन्दा अगाडि अहिलेको संसद भने विघटन हुनुपर्ने बताए।

त्यस्तै वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्। सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’ सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनुपर्ने अपिल गरेका छन्।

 

जेनजी पुस्ताले गरेको पहिलो दिनको प्रदर्शनमै १९ जनाको ज्यान गएपछि दोस्रो दिन झनै उग्र बनेको छ । पहिलो दिननै बाक्लो सुरक्षा घेरा बीच संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गरेका जेन जी प्रदर्शनकारीले दोस्रो दिन भने शीर्षस्थ नेताहरुको घर प्रवेशमा समेत प्रवेश गरेर आगजनी गरेका छन्।
पहिलो दिन नयाँ बानेश्वरसँगै राष्ट्रपति निवास, नारायणहिटी दरबार म्युजियम क्षेत्रमा कर्फ्यु गरिएकोमा दोस्रो दिन भने काठमाडौं जिल्ला प्रशासनले चक्रपथ एरिया तथा ललितपुर र भक्तपुरले पनि शीर्षस्थ नेताहरुको निवासहरु रहेको स्थानमा करफ्युको सूचना जारी गरेको थियो । कफ्र्युको बाबजुद पनि जेनजी आन्दोलनले पहिलो दिनको भन्दा आक्रामक रुप लिएको छ ।

राजतन्त्र फालेर गणतन्त्र ल्याउन लागेको १९ दिने आन्दोलनमा समेत जम्मा १९ जनाको ज्यान गएको थियो । सन् २००० पछाडि जन्मेका पुस्ताले गरेको प्रदर्शनको पहिलो दिन नै १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलन झनै सशक्त रुपमा अगाडि बढेको थियो । जेनजी आन्दोलनको पहिलो दिन नै नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर सरकारमा गएको गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् भने दोस्रो दिन दुई बजेसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राजीनामा दिइसकेका छन् ।

दुई तिहाई सांसदको समर्थन रहेको दम्भ रहेको निवर्तमान प्रधानमन्त्री ओलीमा सत्ताको मात चढेको प्रष्टै देखिन्थ्यो । एमाले पार्टी भित्र पनि आफ्ना विरोधीलाई छानी छानी तह लगाउन खप्पिस ओली जेनजी आन्दोलन पनि दबाएरै जाने मनस्थितिमा थिए । सुरक्षाकर्मीको बल प्रयोगका बाबज्द पनि स्थिति आफ्नो नियन्त्रणमा नआए पछि पहिलो दिन सामाजिक सञ्जालको बन्देज फुकुवा गर्न बाध्य भएका थिए भने दोस्रो दिन आफैले समेत राजीनामा दिन बाध्य भए ।

जेनजी आन्दोलनको दोस्रो दिन शुरुमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा आ्इसकेको छ भने खानेपानी मन्त्री प्रदीप यादवले पनि राजीनामा गर्ने तयारीमा रहेको बताइएको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने सबै २० जना सांसदहरुले सांसद पदबाट सामूहिक राजीनामा दिएका छन् ।

आन्दोलनकारीहरुको निशानामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिवाससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट निवास, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा समेत आन्दोलनकारीले आगजनी गरेका छन । मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरवारसँगै सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न मन्त्रीहरुको निवास रहेको भैंसेपाटीमा समेत आन्दोलनकारी घुसेर आगजनी गरेका छन् । दोस्रो दिनको आन्दोलनमा नेपाली कांग्रैसका महामन्त्री गगन थापाको निवासमा समेत तोडफोड गरेका छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवालाई समेत आन्दोलनकारीहरुले कुटपिट गरेर घाइते बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसैबीच सहकारी ठगीको आरोपमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई नख्खु जेलबाट निकालेर पत्नी निकिता पौडेलको जिम्मा लगाइएको छ । जताततै आगजनीको घटनापछि सुरक्षा दिन नसक्ने भन्दै जेल प्रशासनले पत्नी निकिताको जिम्मा लगाइएको हो ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।