७२ घण्टामा इजरायलले गर्यो ६ मुस्लिम देशमाथि आक्रमण

Sep 12, 2025 08:45 AM Merolagani



इजरायलले पछिल्लो ७२ घण्टामा ६ देशमा आक्रमण गरेको छ। इजरायलले गाजा (प्यालेस्टाइन), सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया आक्रमण गरेको हो।

यी आक्रमणहरूमा २०० भन्दा बढी मानिस मारिएका छन् भने १००० भन्दा बढी घाइते भएको बताइएको छ।

यी आक्रमणहरू सोमबार र बुधबारको बीचमा गरिएका थिए। इजरायलले यी देशहरूमा रहेका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यसप्रति इजरायली प्रधानमन्त्री नेतान्याहूसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

यद्यपि, इजरायली प्रधानमन्त्री नेतान्याहूले कतारको राजधानी दोहामा हमासका अधिकारीहरूमाथि भएको आक्रमणको बचाउ गरेका थिए। उनले यो आक्रमणलाई ९र११ को आक्रमणपछि अमेरिकाको कारबाहीसँग तुलना गरेका थिए। ‘इजरायलले पनि त्यही काम गर्‍यो जुन त्यतिबेला अमेरिकाले गरेको थियो,’ उनको जवाफ थियो।

इजरायली सेनाले मंगलबार कतारको राजधानी दोहामा हवाई आक्रमण गरेको थियो। यो आक्रमण हमास प्रमुख खलील अल–हय्यालाई लक्षित गरी गरिएको थियो। यस आक्रमणमा अल–हय्याका छोरा, कार्यालय निर्देशक, तीन गार्ड र एक कतारी सुरक्षा अधिकारी सहित छ जनाको मृत्यु भएको थियो।

यो आक्रमणको समयमा, हमासका नेताहरू अमेरिकाको युद्धविराम प्रस्तावको बारेमा छलफल गरिरहेका थिए। यस आक्रमण पछि, हमासले युद्धविराममा सहमत हुन अस्वीकार गरेको छ।