नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताए ।
उनले भने “जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । यसका लागि हामीले पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।“
अहिले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रलाई पुनर्रुत्थानमा लाग्नुपर्नेसमेत सीईओ जोशीले जानकारी गराएका हुन् । जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको र पछिल्लो समय यो संख्यामा वृद्धि भइरहेकोसमेत उनले जानकारी गराए ।
उनले भने, “सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सय सम्म पुगेको छ । हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले काम गरिरहेको छ ।“
सीईओ जोशीले हाम्रो मुलुकमा विगतदेखि हेर्दा हरेक १० वर्षमा कुनै न कुनै संकटबाट गुज्रिनुपरेको अवस्था उल्लेख गर्दै संकटको समयमा पनि काम गर्ने एक स्थायी संरचना आवश्यक रहेको उल्लेख गरे।