हालसम्मको अंक तालिकामा सुदूरपश्चिम रोयाल्स र विराटनगर किंग्स ४ अंक सहित शीर्ष स्थानमा छन्। २ खेल खेलेका यी दुई टोलीले दुबै खेलमा जित हासिल गरेर ४ अंक जोडेका हुन्। अंकतालिकामा काठमाण्डू गोर्खाज, चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्सको समान २–२ अंक छ। दुई खेल खेलेका चितवन, लुम्बिनी र कर्णालीले १ खेलमा विजयी भएर २ अंक बटुलेका हुन् भने ३ खेल खेलेको काठमाण्डू गोर्खाज २ खेलमा पराजित हुँदा २ अंकमा समेटिएको हो।
एउटा मात्र खेल खेलेको जनकपुर बोल्ट्स र दुई खेलमा पराजित भएको पोखरा एभेन्जर्सले हालसम्म कुनै अंक जोड्न सकेका छैनन्। भोली हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले शीर्ष स्थानमा रहेको विराटनगर किंग्सको सामना गर्नेछ। शीर्ष स्थानमै रहेको सुदूरपश्चिमले भोली हुने दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध खेल्नेछ।
एनपीएलको यो दोस्रो संस्करणमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी मार्क वाट रहेका छन्। कर्णाली याक्सको तर्फबाट खेलिरहेका उनले अहिलेसम्ममा १३१ रन बनाएका छन्। त्यस्तै, चितवन राइनोजका रवि बोपारा ११९ रनसहित दोस्रो स्थानमा छन् भने १११ रन बनाएका कुशल भुर्तेल तेस्रो स्थानमा छन्।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा करण केसी शीर्ष स्थानमा छन्। काठमाण्डू गोर्खाजका कप्तान केसीले ३ खेलमा ६ विकेट लिएका छन्। त्यस्तै, काठमाण्डू गोर्खाजकै मिलिन्द कुमारले ५ विकेट लिएर दोस्रो स्थान बनाएका छन्।