वसन्तपुरमा चीर ठड्याउँदै, होली पर्वको शुभारम्भ

Feb 24, 2026 10:28 AM Merolagani



राजधानीको ऐतिहासिक वसन्तपुर क्षेत्रमा मंगलबार बिहान होली पर्वको औपचारिक शुभारम्भ गरिएको छ।

परम्पराअनुसार रंगीविरंगी कपडाले सजाइएको तीन खण्डे चीर ठड्याउँदै यस वर्षको फागु पर्व अर्थात (होली) सुरु भएको घोषणा गरिएको हो।

हनुमानढोका दरबार परिसरअन्तर्गत दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोक क्षेत्रमा करिब ३२ फुट उचाइको गजुर शैलीमा तयार पारिएको चीर ठड्याइएको थियो। चीर स्थापना सम्पन्न भएसँगै गुर्जुको पल्टनबाट परम्परागत हर्ष बढाइ गरिएको थियो।

चीर ठड्याएसँगै काठमाडौँ उपत्यकासहित देशभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति ले मंगलबार बिहानलाई चीर ठड्याउन उत्तम साइत तोकेपछि उक्त विधि सम्पन्न गरिएको हो।

वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्वलाई रंगहरूको उत्सवका रूपमा लिने गरिन्छ। पौराणिक मान्यताअनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त आफ्नै पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले बहिनी होलिकाको काखमा राखी अग्नि प्रज्वलन गराए पनि, आगोबाट होलिका नै भस्म भएकी थिइन् भने प्रह्लाद सकुशल रहेका थिए। असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा होली मनाउने परम्परा रहिआएको छ।

यसै सांस्कृतिक र धार्मिक महत्वलाई निरन्तरता दिँदै राजधानीमा चीर ठड्याउने परम्परा पालना गरिएको हो। यस वर्ष पहाड होली यहि फागुन १८ गते र तराई होली फागुन १९ गते मनाईदै छ ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।