“शेयर बजारमा पैसा होइन, धैर्यता बिक्छ’’

Mar 09, 2026 07:08 PM Merolagani



काठमाडौंको मखनकाे व्यापारिक घरानामा कान्छो छोरोको रुपमा जन्मेका छोटेलाल रौनियार व्यवसायिक परिवेशमै बालकपन बित्यो ।  मखन टोलमा नै रौनियार हुर्के ।

कलिलो उमेरदेखि नै व्यवसायमा भिन्न सोच बनाउने रौनियार काठमाडौंको जुद्धोदय पब्लिक हाईस्कुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछिको शैक्षिक यात्रा शंकरदेव क्याम्पसबाट वाणिज्य शास्त्रसम्मको अध्ययन पूरा गरेका छन् ।

पुर्खौली कपडा व्यवसायमा मात्रै रौनियार सिमित हुन चाहेनन । पुर्खौली व्यवसाय भन्दा केही माथिल्लो तहमा पुग्न परम्परागत व्यापार छोडेर गार्मेन्ट उद्योगमा हात हाले । उद्योगमा दृढता र लगनशीलताले गार्मेन्ट स्थापाना गरेको छोटो अवधिमा नै रौनियारले राम्रो सफलता हात पारे । उनको कारखानामा ६०० भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका थिए । मुलुकमा भएको १० वर्षे माओवादी द्धन्दको प्रभाव उनको गार्मेन्ट कारखानाले समेत खेप्नु पर्यो । करिब ३५ वर्षसम्म गार्मेन्ट उत्पादन र निर्यातको व्यवसायमा सफलता प्राप्त गरेका रौनियारले त्यस क्षेत्रलाई नै चट्क्कै छोडेर शेयर बजारमा प्रवेश गरे ।

वर्षाै समय खर्चेर खडा गरेको उद्योग एकाएक बन्द हुदाँ रौनियारको जीवनको उद्देश्य र प्राथमिकता नै बदलिएको थियो । सधै सकारात्मक विचारका धनी, सदाबहार हँसिलो, स्पष्ट वक्ता र नकारात्मकता भित्रबाट सम्भावना खोज्ने क्षमता भएका रौनियारको शेयर बजारको यात्रा सहज भने थिएन ।

रौनियारले सिद्धार्थ बैंकको शेयर किनेर दोस्रो बजारमा प्रवेश गरेका थिए । नेप्से परिसूचक ११७५ अंकबाट घटेर ३३५ को हाराहारीमा झरेको थियो । बजारको निरन्तर घट्दो बजारको दबाब रौनियारको र्पोटफोलियोमा समेत पर्यो । कुल लगानीको ४० प्रतिशतसम्म पोर्टफोलियो घट्दा समेत रौनियार बजार प्रति आशावादी नै रहे । घट्दो बजार र बढ्दो नोक्सनीले रौनियारको परिवारलाई भने चिन्तित बनाएको थियो । गार्मेट क्षेत्रमा जस्तै शेयर बजारमा पनि सफल हुने आशा जीवन संगिनीलाई दिँदै सम्हालिने प्रयास गरिरहन्थे । निरन्तर घटेको बजार 'अब सकियो' भन्दै आम लगानीकर्ता डराइरहेका बेला रौनियारले लगानी बढाउँदै गए । उनले धैर्यता राखे र बजारको चक्रलाई अझ राम्रोसँग बुझ्ने प्रयास गरे ।

कुनै पनि क्षेत्रमा सफल हुनका लागि इमान्दार र अनुशासन हुनुपर्ने रौनियारको धारणा छ । उनी भन्छन्, “शेयर बजारमा पैसा होइन, धैर्यता बिक्छ । शेयर भनेको लक्ष्मी हो, यसलाई कहिल्यै गाली गर्नु हुँदैन । बजारलाई सधै मान सम्मान दिनुपर्छ,“ रौनियारले बजारको प्राविधिक विश्लेषण भन्दा बढी आधारभूत पक्षमा विश्वास गर्छन् । 

लगानी गर्नुअघि कम्पनीको वित्तीय प्रतिवेदन, व्यवस्थापन र भविष्यको योजना हेर्नैपर्छ । छोटेलाल रौनियार केवल आफ्नो पोर्टफोलियो बढाउन मात्र सीमित नरहेर बजारको हितमा सरोकारवालाहरुसँग बहस पैरबी गर्दै अभिभावकको रुपमा सकृया भए । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष भइसकेका राैनियारले सरकारले शेयर बजारसँग सम्बन्धित नीतिगत स्थिरता र लगानीमैत्री नीति ल्याए पुग्नेमा जोड दिँदै आएका छन् ।

जस्तो सुकै परिस्थितिमा पनि हार मान्न नहुने उनको जीवनकाे ठूलो सिकाइ हो । ३५ वर्षको व्यवसाय बन्द भएपछि पनि उनले हार मानेनन् र नयाँ क्षेत्रमा शून्यबाट सुरु गरेर सफलताको शिखरमा पुगे । रौनियार भन्छन् 'अध्ययन, धैर्यता र इमान्दारीका साथ लगानी गर्ने हो भने शेयर बजारले कसैलाई पनि रित्तो हात फर्काउँदैन ।' परिवारको साथ र सहयोगले नयाँ क्षेत्रबाट पनि उठ्ने साहस र उर्जा प्राप्त भएकाे उनकाे भनाइ छ । शेयर बजारमा सफल लगानीकर्ताको रुपमा रौनियारको नाम अग्रपंतिमा आउँछ । तीनै रौनियारलाई मार्केट लेजेन्ड्स सिरिजमा स्वगत गर्यौं ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।