यसै अवसरमा चिनियाँ विद्युतीय सवारी निर्माताहरू विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउन उत्सुक देखिएका छन्। इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलको तनावका कारण मध्यपूर्वबाट हुने जीवाश्म इन्धनको आपूर्तिमा अवरोध पुगेको छ। यसले गर्दा कच्चा तेलको मूल्य गत हप्ता प्रतिब्यारेल ११९ डलरसम्म पुगेको छ। जसले विश्वव्यापी मन्दी र मुद्रास्फीतिको चिन्ता बढाएको छ। तर, चीनको विद्युतीय सवारी साधन उद्योगका लागि यो उथलपुथल अनुकूल समयमा आएको छ। चीनले विश्वका अन्य राष्ट्रको तुलनामा धेरै विद्युतीय कारहरू उत्पादन र निर्यात गर्दछ। यद्यपि, चिनियाँ कार निर्माताहरूले हाल स्वदेशी बजारमा तीव्र मूल्य प्रतिस्पर्धा र सुस्त वृद्धिको सामना गरिरहेका छन्। जसका कारण उनीहरू नयाँ वैदेशिक बजार खोज्न दबाबमा छन्।
अहिले पेट्रोल महँगो हुँदै जाँदा र चिनियाँ विद्युतीय सवारी साधनहरू सस्तो हुँदै जाँदा विश्लेषकहरूले यो संयोगले ईभी उद्योगको विश्वव्यापी विस्तारलाई थप गति दिने बताएका छन्। विशेष गरी इन्धन अभावको मार खेपिरहेका एसियाली राष्ट्रहरूमा यसको प्रभाव बढी देखिनेछ। कार-केन्द्रित परामर्शदाता संस्था 'सिनो अटो इनसाइट्स' का प्रबन्ध निर्देशक तु ले भन्छन्, "पेट्रोलको मूल्य बढेका कारण चिनियाँ ब्रान्डहरूले एसियामा ठुलो प्रभाव पार्न सक्ने सम्भावना छ। म चाहन्छु कि उनीहरूले यसको पूर्ण फाइदा उठाउन्।"
एसियामा नवीकरणीय ऊर्जामा लगानी बढे पनि यो क्षेत्र अझै तेल आयातमा निर्भर छ। एसियाको झण्डै ६० प्रतिशत कच्चा तेल मध्यपूर्वको 'होर्मुज जलडमरू' भएर आउँछ। जहाँ इरानले कार्गो प्रवाहमा कडा प्रतिबन्ध लगाएको छ।
ऊर्जा सम्बन्धी अध्ययन गर्ने संस्था 'एम्बर' को एक रिपोर्ट अनुसार ईभीको प्रयोगले आयात खर्च घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ। गत वर्ष ईभीको प्रयोगले विश्वव्यापी कच्चा तेलको खपत प्रति दिन १७ लाख ब्यारेलले घटाएको छ। जुन २०२५ मा इरानको निर्यातको करिब ७० प्रतिशत बराबर हो।
प्रक्रियामा तीव्रता
रुस-युक्रेन युद्धले युरोपमा नवीकरणीय ऊर्जाको लगानीलाई जसरी बढावा दियो। वर्तमान तेल संकट एसियाको स्वच्छ ऊर्जा उद्योगका लागि अर्को महत्त्वपूर्ण मोड हुन सक्ने विश्लेषकहरूको भनाइ छ। 'ऊर्जा र स्वच्छ वायु अनुसन्धान केन्द्र' की मुख्य विश्लेषक लौरी मिलीभिर्टाका अनुसार पेट्रोल गाडी चलाउँदा उपभोक्ताहरू सधैँ मूल्यको अस्थिरताको जोखिममा रहन्छन्।
मध्यपूर्वबाट ४० प्रतिशतभन्दा बढी तेल आयात गर्ने चीनले नवीकरणीय ऊर्जातर्फको परिवर्तनबाट राम्रो नतिजा हात पारेको छ। हावा र सौर्य ऊर्जाको सबैभन्दा ठुलो उत्पादक भएका कारण चीन अन्य एसियाली राष्ट्रहरू भन्दा ऊर्जा संकटबाट सुरक्षित छ। मिलीभिर्टाका अनुसार चीनमा नयाँ कार बिक्रीको करिब ५० प्रतिशत ईभीले ओगटेको छ। जसले देशको तेल खपतलाई १० प्रतिशतले घटाएको छ।पेकिङ विश्वविद्यालयका कार्यकारी निर्देशक झु झाओयी भन्छन्, "जीवाश्म इन्धनमा निर्भर हुनु वातावरणीय रूपमा मात्र होइन, राष्ट्रिय सुरक्षाका दृष्टिले पनि जोखिमपूर्ण छ।"
ईभी उद्योगको चुनौती र अवसर
चीनलाई ईभीमा विश्वव्यापी नेता बनाउन सरकारी सहयोगले ठुलो भूमिका खेले पनि अहिले स्वदेशी बजारमा अत्यधिक आपूर्तिका कारण प्रतिस्पर्धा कठिन भएको छ। 'एलिक्सपार्टनर्स' का अनुसार सन् २०२४ मा बजारमा रहेका १२९ चिनियाँ ईभी ब्रान्डहरूमध्ये सन् २०३० सम्ममा १५ वटा मात्र आर्थिक रूपमा टिक्न सक्ने अनुमान गरिएको छ।
यद्यपि तेलको मूल्य वृद्धिले स्वदेशी बजारमा केही राहत दिन सक्छ। तर चिनियाँ कम्पनीहरूलाई आफ्नो अतिरिक्त उत्पादन खपत गर्न वैदेशिक बजारकै आवश्यकता पर्नेछ। अमेरिकी बजारमा टेस्ला जस्ता स्थानीय कम्पनी जोगाउन चिनियाँ ईभीमाथि कडा प्रतिबन्ध लगाइएको छ। तर, थाइल्याण्ड, फिलिपिन्स र भियतनाम जस्ता एसियाली देशहरूमा ऊर्जा बचतका उपायहरू खोजिँदै गर्दा चिनियाँ ईभीको माग बढ्न सक्छ। भियतनामको अग्रणी ईभी निर्माता 'भिनफास्ट'ले पनि इरानमा भएको तनावपछि विद्युतीय कार र मोटरसाइकलमा विशेष छुट दिन थालेको छ।
एम्बरका विश्लेषक लाम फामका अनुसार चिनियाँ ईभीहरूले मूल्य, उन्नत ब्याट्री प्रविधि र बलियो आपूर्ति शृङ्खलाका कारण अधिकांश एसियाली बजारहरूमा राम्रो प्रदर्शन गरिरहेका छन्। उनले भने, "बढ्दो इन्धनको मूल्य र बलियो नीतिगत सहयोगले एसियामा ईभी बजार द्रुत गतिमा बढ्ने निश्चित छ। यसले किफायती मोडेल प्रस्ताव गर्ने निर्माताहरूलाई ठुलो फाइदा पुर्याउनेछ।"