बजार हिस्सामा शिखर इन्स्योरेन्सको वर्चस्व देखिएको छ । कुल बीमाशुल्क संकलनका आधारमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा देखिएको छ। यस कम्पनीले फागुन मसान्तसम्म ४ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै कुल बजारको १३.८३ प्रतिशत हिस्सा ओगटेको छ। यद्यपि, जारी गरिएको बीमालेख (पोलिसी) संख्याको आधारमा भने शिखर तेस्रो स्थानमा छ।
त्यसैगरी प्रिमियम संकलनका आधारमा दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने कम्पनीले ३ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा झन्डै १०.६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै तेस्रो धेरै बजार हिस्सा भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले १०.१२ प्रतिशत हिस्सा ओगेटेको छ भने ३ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यता सिद्धार्थ प्रिमियम इन्स्योरेन्सर चौथो हुँदा ८.८१ प्रतिशत बजार हिस्सा र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पाँचौ रहँदा २ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
बीमालेख संख्यामा युनाइटेड अजोड अगाडि
जारी गरिएको बीमालेख संख्याको आधारमा युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। यस कम्पनीले कुल २ लाख ७३ हजार ३९९ वटा बीमालेख जारी गरेको छ, जुन कुल बजारको १४.६८ प्रतिशत हो। तर, प्रिमियम संकलनमा भने यो कम्पनी आठौँ स्थानमा छ।
तथ्यांक अनुसार नेसनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको बजार हिस्सा तुलनात्मक रूपमा न्यून देखिएको छ। नेसनल इन्स्योरेन्सको हिस्सा २.७४ प्रतिशत मात्र छ भने राष्ट्रिय बीमा कम्पनीको ३.३५ प्रतिशत रहेको छ।
यस्तै, विदेशी लगानी रहेको दि ओरिएन्टल इन्स्योरेन्सले १.५९ प्रतिशत बीमालेख जारी गरे पनि प्रिमियम संकलनमा भने ६.१३ प्रतिशतको बलियो उपस्थिति जनाएको छ। हालसम्म कुल १८ लाख ६२ हजार ११४ वटा बीमालेखहरू जारी भएका छन्। यो तथ्यांकले निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण र बीमाको दायरा बिस्तारै बढ्दै गएको संकेत गर्दछ।