सामाजिक सञ्जालको लतका कारण मानसिक क्षति पुगेको भन्दै एक युवतीले जितिन् मेटा र युट्युबविरुद्ध ८० करोडको मुद्दा

Mar 26, 2026 11:51 AM Merolagani



काली हेज, नारदिन साद र रेगन मोरिस 
लस एन्जलस (बिबिसी

लस एन्जलसको एक अदालतले सामाजिक सञ्जालको लतका कारण आफ्नो बाल्यकाल र मानसिक स्वास्थ्य बरबाद भएको दाबी गर्ने एक युवतीको पक्षमा ऐतिहासिक फैसला सुनाएको छ। 

अदालतको 'जुरी' (निर्णायक मण्डल)ले इन्स्टाग्राम र फेसबुकको माउ कम्पनी 'मेटा' तथा युट्युबको मालिक 'गुगल' विरुद्ध ती युवतीलाई अभूतपूर्व जित दिलाएको हो।

अदालतले मेटा र गुगलले जानाजानी आफ्ना प्लेटफर्महरूलाई लत लाग्ने गरी डिजाइन गरेको र यसले २० वर्षीया युवतीको मानसिक स्वास्थ्यमा गम्भीर हानि पुर्‍याएको ठहर गरेको छ। 'काली' नामले चिनिने ती युवतीलाई अदालतले ६० लाख अमेरिकी डलर (करिब ८० करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ। यो फैसलाले अमेरिकी अदालतहरूमा विचाराधीन रहेका यस्तै प्रकृतिका सयौँ अन्य मुद्दाहरूलाई ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

मेटा र गुगल दुवैले यस फैसलाप्रति असहमति जनाउँदै पुनरावेदन (अपिल) गर्ने बताएका छन्। मेटाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "किशोर किशोरीको मानसिक स्वास्थ्य अत्यन्त जटिल विषय हो र यसलाई एउटा एपसँग मात्र जोड्न सकिँदैन। हामी अनलाइन सुरक्षाका लागि प्रतिबद्ध छौँ र आफ्नो बचाउ जारी राख्नेछौँ।" यस्तै, गुगलका प्रवक्ताले युट्युबलाई 'सामाजिक सञ्जाल' नभई जिम्मेवारीपूर्वक बनाइएको 'स्ट्रिमिङ प्लेटफर्म' भन्दै अदालतले तथ्यलाई गलत बुझेको दाबी गरे।

क्षतिपूर्तिको विवरण र अदालती ठहर

जुरिले कालीलाई ३० लाख डलर क्षतिपूर्ति र थप ३० लाख डलर दण्डात्मक क्षतिपूर्ति दिने निर्णय गरेको छ। जुरीका अनुसार यी कम्पनीहरूले आफ्ना प्लेटफर्महरू सञ्चालन गर्ने क्रममा "द्वेष, दमन र धोखा धडी" पूर्ण व्यवहार गरेका थिए। कुल क्षतिपूर्तिको ७० प्रतिशत मेटाले र बाँकी ३० प्रतिशत गुगलले बेहोर्नुपर्नेछ। पाँच हप्तासम्म चलेको यस मुद्दाको फैसला आउँदा अदालतबाहिर अन्य पीडित बालबालिकाका अभिभावकहरूले उत्सव मनाएका थिए। न्यु मेक्सिकोको एक अदालतले पनि भर्खरै मेटालाई बालबालिकालाई यौनजन्य सामग्री र अनलाइन सिकारीहरूको जोखिममा पारेको भन्दै दोषी ठहर गरेको थियो।

कसरी फसिन् काली लतमा ?

कालीका वकिलहरूका अनुसार उनले ९ वर्षको उमेरदेखि इन्स्टाग्राम र ६ वर्षको उमेरदेखि युट्युब चलाउन थालेकी थिइन्। उमेर नपुगेका बालबालिकालाई प्लेटफर्म प्रयोग गर्नबाट रोक्न कम्पनीहरूले कुनै प्रभावकारी कदम नचालेको जुरीको निष्कर्ष छ। कालीले आफ्नो बयानमा भनिन्, "म मेरो सबै समय सामाजिक सञ्जालमै बिताउँथेँ, जसका कारण मैले परिवारसँगको सम्पर्क नै गुमाएँ।" १० वर्षको उमेरदेखि नै उनलाई एन्जाइटी र डिप्रेसनले सताउन थालेको थियो। पछि उनलाई 'बडी डिस्मोर्फिया' (आफ्नो शारीरिक रूपलाई लिएर अत्यधिक चिन्तित हुने मानसिक अवस्था) भएको पत्ता लाग्यो। उनले इन्स्टाग्रामका फिल्टरहरू प्रयोग गरेर आफ्नो वास्तविक स्वरूप बदल्ने प्रयास गर्दा आफ्नो आत्मविश्वास गुमेको बताएकी थिइन्।

कम्पनीहरूको तर्क र विश्वव्यापी प्रभाव

गत फेब्रुअरीमा अदालती बयानका क्रममा मेटाका प्रमुख मार्क जुकरबर्गले १३ वर्षमुनिका प्रयोगकर्तालाई अनुमति नदिने आफ्नो नीतिको बचाउ गरेका थिए। यद्यपि, आन्तरिक प्रतिवेदनहरूले कम्पनीलाई साना बालबालिकाहरूले एप प्रयोग गरिरहेको थाहा भएको देखाएका थिए। इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले कालीले एकै दिन १६ घण्टासम्म एप चलाएको तथ्यलाई 'लत' नभई 'समस्याग्रस्त प्रयोग' मात्र भएको तर्क गरेका थिए। तर जुरिले उक्त तर्कलाई स्वीकार गरेन।

यो फैसला यस्तो समयमा आएको छ जब विश्वभर सामाजिक सञ्जालमा कडाइ गरिँदै छ। अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ भने बेलायतले पनि १६ वर्ष मुनिकालाई प्रतिबन्ध लगाउने विषयमा पाइलट प्रोजेक्ट चलाइरहेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यो फैसलाले प्रविधि कम्पनीहरूलाई अब आफ्ना उत्पादनहरू बालबालिकाका लागि सुरक्षित बनाउन थप दबाब दिनेछ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।