एफएनसिसिआइमा चुनावी सरगर्मी: चैत ३० गते मतदान, ढकाल र घिमिरे समूह प्यानलसहित मैदानमा

Mar 26, 2026 01:22 PM Merolagani



सुवास निरौला 
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको मिति नजिकिएसँगै नेतृत्व हत्याउने रस्साकस्सी तीव्र बनेको छ।

महासंघको कार्यकारिणी समितिको निर्णयअनुसार आगामी चैत २९ गते साधारण सभा र चैत ३० गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने तय भएको छ।

साधारण सभा ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोजना हुनेछ भने मतदान प्रक्रिया काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने  महासंघले जनाएको छ। मुलुकको आर्थिक सुस्तता, लगानीमा आएको संकुचन र नीतिगत अन्योलका बीच हुन लागेको यस निर्वाचनलाई निजी क्षेत्रले निकै महत्त्वका साथ हेरेको छ।

यस्तो छ निर्वाचन कार्य तालिका र प्रक्रिया

निर्वाचन समितिले तय गरेको कार्य तालिका अनुसार चैत २९ गते साधारण सभाको उद्घाटन सत्र, वार्षिक एवं आर्थिक प्रतिवेदनमाथि छलफल र नीतिगत एजेन्डाहरू पारित गरिनेछ। चैत ३० गते उपाध्यक्षहरू र कार्यकारिणी सदस्यहरूका लागि निर्वाचन हुनेछ। उम्मेदवारी दर्ताका लागि चैत २२ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ।

डिजिटल माध्यमबाट इमेलमार्फत प्रारम्भिक कागजात पठाउन सकिने भए पनि सक्कल कागजात चैत २६ गतेभित्र बुझाइसक्नु पर्नेछ। उम्मेदवारी र सदस्यता शुल्क बुझाउने अन्तिम म्याद चैत २७ गतेसम्म रहेको छ।

मैदानमा दुई शक्तिशाली समूह

यस पटकको निर्वाचनमा मुख्य गरी दुई समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र वर्तमान वरिष्ठ उपाध्यक्ष (भावी अध्यक्ष) अञ्जन श्रेष्ठ निकट मानिने समूहले आ-आफ्नो प्यानल घोषणा गरिसकेका छन्।

 हेमराज ढकाल समूह:
वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले फागुन ११ गते नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। उनको प्यानलबाट:

  • एशोसिएट उपाध्यक्ष: ज्योत्सना श्रेष्ठ

  • जिल्ला/नगर उपाध्यक्ष: कल्पना गैरे र उमेश डालमिया

  • वस्तुगत उपाध्यक्ष: नरेशलाल श्रेष्ठ

  • महिला उपाध्यक्ष: कमला श्रेष्ठ

ढकालले नीतिगत स्थिरता, लगानीमैत्री वातावरण, डिजिटल अर्थतन्त्र र साना उद्योगको संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले अव्यवहारिक कानुन संशोधन र चोरी पैठारी नियन्त्रणमा आफ्नो नेतृत्वले प्रभावकारी भूमिका खेल्ने दाबी गरेका छन्।

अञ्जन श्रेष्ठ (भावी अध्यक्ष) समर्थित समूह:

वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्दै छन्। उनी समर्थित समूहले सोमबार आफ्नो प्यानल सार्वजनिक गरेको छ। जसमा शिवप्रसाद घिमिरे वस्तुगत उपाध्यक्षका मुख्य दाबेदार छन्। यस समूहबाट:

  • वस्तुगत उपाध्यक्ष: शिवप्रसाद घिमिरे

  • एशोसिएट उपाध्यक्ष: प्रवलजङ्ग पाण्डे

  • जिल्ला/नगर उपाध्यक्ष: दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा

घिमिरेले आफ्नो उम्मेदवारी पदका लागि मात्र नभई निजी क्षेत्रको समस्या सुल्झाउन र सशक्त  महासंघ निर्माणका लागि भएको बताएका छन्। यस समूहमा अम्बिकाप्रसाद पौडेल, अभया मल्ल, हेमन्त गोल्छा लगायतका स्थापित व्यवसायीहरू सदस्यका उम्मेदवार छन्।

कार्यकारिणी समितिको संरचना

महासंघको संशोधित विधानअनुसार कार्यकारिणी समितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, र विभिन्न क्षेत्रका उपाध्यक्षहरू रहने व्यवस्था छ। यस पटक सात प्रदेशका अध्यक्षहरू, जिल्ला/नगरबाट १७ सदस्य, वस्तुगतबाट १४, एसोसिएटबाट १९ र द्वि राष्ट्रिय संघबाट १ जना लगायतका सदस्यहरू निर्वाचित हुनेछन्। वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ। तर, आगामी कार्यकालपछि भने  महासंघको अध्यक्षका लागि पनि प्रत्यक्ष निर्वाचन हुने वैधानिक व्यवस्था गरिएको छ।

आर्थिक संकटको यस घडीमा निजी क्षेत्रको मनोबल उकास्न र सरकारसँग प्रभावकारी समन्वय गर्न सक्ने नेतृत्व चयन गर्नु नै यस पटकको निर्वाचनको मुख्य चुनौती रहेको विश्लेषण गरिएको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।