आर्थिक रुपान्तरणको असफल मार्ग चित्र र एजेण्डा हराएको महासंघको गुटगत चुनावी प्रतिस्पर्धा

May 05, 2026 05:42 AM Merolagani



पूर्व अध्यक्ष हिरासतमा रहेको र सरकारको छापामार शैलीको कारण उद्योगी व्यवसायीहरुमा एक किसिमको सन्त्रास फैलिरहेको बेला देशभरका उद्योगी व्यवसायीहरुको छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व छनौट हुँदैछ ।

बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । त्यसैले ४ उपाध्यक्षसहित ७३ पदको लागि निर्वाचन हुँदैछ ।

साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।

कुनै पनि संस्थाको चुनावमा उम्मेद्वार हुन्छन्, एजेण्डा हुन्छ । उम्मेद्वारहरुले एजेण्डाको आधारमा भोट माग्छन् र एजेण्डाकै आधारमा मतदाताले भोट दिन्छन् । तर, महासंघको यो निर्वाचनमा उम्मेद्वार त देखिएका छन्, एजेण्डा भने मतदाता र अन्य सरोकारवालाहरुले अनुभूत गर्ने गरि देखिएको छैन ।
‘आर्थिक क्षेत्रको विकास र व्यवसायीको हक हितको लागि पहल गर्ने, समस्या समाधानमा पहल गर्ने’ भन्ने केही व्यवसायीहरुले कुरा उठाएका छन् । तर, त्यो पूर्णरुपमा अमुर्त छ । कसरी गर्ने, त्यसको विधि र प्रकृया के हो र कस्ता समस्यालाई कुन तहबाट समाधान गर्ने आदि विषयमा प्रायः सबै उम्मेद्वारहरु मौन छन् ।

उद्घाटन समारोह भैरहेको ग्वार्काेको टुलिप होटलमा मत माग्न व्यस्त रहेका केही उम्मेद्वारहरुसँग मेरो लगानीले तपाईका एजेण्डा के हो भनेर सोध्दा कसैले स्पष्ट जवाफ दिएन ।
‘चुनावको बेलामा त कसरी जित्ने भन्ने पो कुरा गर्ने हो, एजेण्डाको कुरा त अरु बेला गरे भैहाल्छ’ एक जना उम्मेद्वारले मेरो लगानीसँग भने ।

उनका अनुसार उम्मेद्वार रहेका वा मतदाता रहेका मात्र होइन, सरोकारवाला कुनै पनि व्यवसायीलाई कुन उम्मेद्वारले जित्छ भन्ने वाहेक एजेण्डासँग कुनै चासै छैन । त्यति मात्र होइन, संचार माध्यमहरुले समेत चुनावमा हार जितको विश्लेषण गर्छन्, एजेण्डाको बारेमा कमै मात्र चासो राख्ने गरेको उनको भनाई छ ।

उम्मेद्वार, व्यवसायी र सिंगै महासंघले चाहाने हो भने अहिलेको साधारण सभा र निर्वाचनलाई एजेण्डा केन्द्रित बनाउन सकिन्थ्यो । किनकी अहिले महासंघले उठाउनु पर्ने आर्थिक एजेण्डाहरु बेग्रल्ती छन् । तर, कुनै पनि व्यवसायीलाई त्यसबारेमा चासो देखिएको छैन ।

व्यवसायीहरुले राजनीतिक संगठनहरुको अधिवेशन जस्तो हो हल्ला र नारावाजी गर्दै चुनावी प्रचार प्रसार गर्ने कुरा हुँदैन । तर, महासंघको अहिलेको चुनावमा प्रचारका कतिपय शैली, गुटगत उम्मेद्वारी दर्ता र एजेण्डाविहीन उम्मेद्वारहरुलाई यो उद्यमी व्यवसायीहरुको चुनाव हो कि कुनै राजनीतिक पार्टीको व्यवसायिक संगठनको चुनाव हो अन्योलमा पर्नु पर्ने अवस्था सृजना भएको छ । एजेण्डाविहीन प्रतिस्पर्धा भएकोले महासंघमा जसले जिते पनि देशभरका उद्यमी व्यवसायीहरु र आर्थिक क्षेत्रको लागि केही न हुने देखिएको छ ।

जबकी महासंघ जस्तो व्यवसायीहरुको छाता संगठनको साधारण सभा र निर्वाचनले महासंघ अन्तरगतका व्यवसायीहरुलाई उत्साहित गर्दै सरकारलाई नै आर्थिक रुपान्तरणको लागि मार्ग दर्शन गर्न सक्नु पर्दथ्यो । तर, त्यो ऐतिहासिक अवसरबाट महासंघको नेतृत्व र उम्मेद्वारहरु पूर्णरुपमा चुक्नु विडम्बना हो ।

महासंघमा आक्रामक र एजेण्डा केन्द्रित वहस गर्ने भनेर चिनिएका पूर्व अध्यक्ष चण्डिराज ढकाल साधारण सभामा उपस्थित नहुनु (उनी विदेश रहेको बताइएको छ), पूर्व अध्यक्ष शेखर गोल्छा दिपक भट्ट प्रकरणमा जोडिएर पक्राउ पर्नुले पनि महासंघको यसपटकको निर्वाचनलाई खल्लो बनाइदिएको कतिपय व्यवसायीहरुको भनाई छ ।