जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो ।
उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लिखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा पूर्णतः निषेध गरिनेछ । अरू यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
समितिले सडक निर्माणलाई सहजीकरणका निम्ति यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने समेत जनाएको छ ।
तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका निम्ति जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ ।
गत चैतमा करिब एक महिनाभरि रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर २.५ किमि सडक कालोपत्र (डीबीएम–पिच)को काम गरिएको थियो । रासस