चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३२.४९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ३.५३ प्रतिशत घटेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ २६ पैसा घटेर ३२ रुपैयाँ ३५ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.५८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा रहेको छ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
