हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेकाे समितिले उल्लेख गरेको छ। उक्त रकम फिर्ता गर्न र सहकारीको आन्तरिक व्यवस्थापन सुधार्न समितिले १० बुँदे कार्ययोजना बनाएको छ ।
जेठदेखि बचत फिर्ता, साउनमा पुनः मागदाबीको अवसर
समितिले सार्वजनिक गरेको कार्ययोजना अनुसार मागदाबी गरिसकेका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ गरिनेछ। यसअघि मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि आगामी साउनको पहिलो हप्तादेखि पुनः मागदाबी गर्ने समय खुला गरिने विज्ञप्तिमा उल्लेख छ।
ऋण नतिर्नेलाई कडा कारबाही र परिवार नै कालोसूचीमा पर्ने
ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन समितिले कठोर नीति अपनाउने भएको छ। ऋण नतिर्ने ऋणीहरूको तीन पुस्ते नामावली सार्वजनिक गरिनुका साथै उनीहरूका परिवारका सदस्यहरूलाई समेत कालोसूचीमा समावेश गर्ने समितिले उल्लेख गरेको छ। यद्यपि, किस्ताबन्दीमा कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्धता व्यक्त गर्ने ऋणीहरूलाई भने उचित समय उपलब्ध गराइने जानकारी गराएको छ ।
साथै, बचत मिलानका लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने समितिको योजना छ। नेपाल सरकारबाट विनियोजित चक्रीय कोषको रकम समितिको आफ्नै कोषबाट अपुग भएको अवस्थामा मात्र सापटका रूपमा खर्च गरिने नीति लिइएको छ। समितिको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सम्बन्धित विज्ञहरूको सुझाव र सचेत नागरिकहरूको सहयोग आवश्यक पर्ने विज्ञप्तिमा उल्लेख छ ।
समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको र हाल ऋण असुली, बचत मिलान र आन्तरिक कार्यव्यवस्थामा पुनर्संरचना गरिरहेको छ। सहकारीका पीडित बचतकर्ताहरुले बचत फिर्ताको माग गर्दै निरन्तर रुपमा आन्दोलन गर्दै आएका थिए । अब बचत फिर्ता हुने विश्वास बढेको पीडित बचतकर्ताहरुको भनाई छ।