कम्पनीको सन्तोषजनक विद्युत उत्पादन र ब्याजदरमा आएको गिरावटसँगै आम्दानी बढेपछि केयर रेटिङ्गसले कम्पनीलाई यस्तो रेटिङ्ग दिएको होः
- इस्यूअर रेटिङ्गः केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग
- दीर्घकालीन बैंक ऋणः केयर रेटिङ्ग डबल बी
- अल्पकालीन बैंक ऋणः कयर एनपी सिंगल ए फोर
यो रेटिङ प्राप्त गर्ने कम्पनीहरूमा आफ्नो वित्तीय दायित्व र ऋणको सावाँ–ब्याज समयमै भुक्तानी गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको संकत गर्दछ।
कम्पनीका सबल पक्षहरू
कम्पनीले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। रेटिङ एजेन्सीका अनुसार कम्पनीका सबल पक्षहरू यसप्रकार छन्ः
विद्युत उत्पादनमा सुधारः आर्थिक वर्ष २०८१र८२ मा आयोजनाको उत्पादन क्षमता बढेर सम्झौता गरिएको ऊर्जाको ८९ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्ष ८७ प्रतिशत थियो। चालु आर्थिक वर्षको सुरुवाती ४ महिनामा यो ९४ प्रतिशतसम्म पुगेको थियो।
ब्याजदरमा राहत र सस्तो ऋण सम्झौताः नेपालको वित्तीय प्रणालीमा ब्याजदर घटेका कारण कम्पनीको खर्च घटेको छ। साथै, कम्पनीले आफ्नो ऋणको केही हिस्सा सस्तो ब्याजदरमा ‘स्वाप’ गरेकोले आगामी दिनमा पनि ब्याज खर्च कम हुने देखिन्छ।
अनुभवी प्रवर्द्धक समूहः कम्पनीको सञ्चालक समितिमा जलविद्युत क्षेत्रका पुराना र अनुभवी व्यक्तिहरू छन्। समितिका अध्यक्ष खगेश्वर बोहरा र सञ्चालक उमेश श्रेष्ठसँग माउन्टेन इनर्जी, पञ्चथर पावर र सानिगाड हाइड्रो जस्ता धेरै आयोजनाहरू चलाएको दशकौं लामो अनुभव छ।
न्यून बजार जोखिमः नेपाल विद्युत प्राधिकरणसँग ३० वर्षका लागि ‘टेक अर पे’ ढाँचामा विद्युत खरिद सम्झौता भएकाले उत्पादित बिजुली बिक्री नहुने जोखिम निकै कम छ।
कम्पनीको मुख्य चुनौतीहरू
केयर रेटिङ्गले निम्न कुराहरुलाई कम्पनीको मुख्य चुनौतीको रुपमा उल्लेख गरेको छः
उच्च आयोजना लागत र ऋणको भारीः आयोजना निर्माणका क्रममा कोभिड–१९ महामारी, जग्गा प्राप्तिमा ढिलाइ र बाढीको क्षतिका कारण व्यावसायिक उत्पादन सुरु हुन झन्डै सवा वर्ष ढिलो भयो। आयोजना सञ्चालन निर्धारित मितिभन्दा ढिलो भएकाले कम्पनीले ३.५५ करोड रुपैयाँ जरिवाना तिर्नुपर्यो र नियमअनुसार पाउनुपर्ने ५ पटकको महसुल वृद्धिमध्ये ४ पटक मात्र पाउन योग्य भयो। यसले गर्दा आयोजनाको लागत बढेर प्रति मेगावाट २८.४ करोड रुपैयाँ (कुल ४ अर्ब ३५ करोड ५० लाख रुपैयाँ) पुग्यो। यो लागत निकै उच्च भएकाले कम्पनीको पूँजी संरचनामा ऋणको अनुपात ३.८५ गुणा जति बढी छ।
प्रस्तावित आईपीओको दबाबः कम्पनीले आयोजनाको लागत धान्नका लागि आईपीओ जारी गर्ने सर्तमा ३७.७५ करोड रुपैयाँ अतिरिक्त ऋण लिएको छ। त्यसैले यो वित्तीय भार कम गर्न कम्पनीले समयमै साधारण शेयर निष्काशन गरी ऋण चुक्ता गर्नु आवश्यक देखिन्छ।
नदीको बहाव र प्राकृतिक जोखिमः उक्त आयोजना ‘रन अफ रिभर’ प्रकृतिको आयोजना भएकाले हिउँद महिनामा नदीमा पानी कम हुँदा उत्पादन घट्छ र आम्दानीमा प्रत्यक्ष असर पर्छ। साथै, पहाडी भूभागमा हुने बाढी र पहिरोको जोखिमले आयोजनाको पूर्वाधारमा क्षति पुग्न सक्ने खतरा सधैं रहन्छ।
ब्याजदरको उतारचढावः बैंकहरूको ब्याजदर परिमार्जन भइरहने भएकाले भविष्यमा तरलता अभाव भई ब्याजदर पुनः बढेमा कम्पनीको नाफा र वित्तीय अवस्था खुम्चिन सक्छ।
निष्कर्ष
कालंगा हाइड्रो लिमिटेड बिस्तारै आफ्नो निर्माणकालीन संकट र नोक्सानीबाट बाहिर निस्किँदै सञ्चालन लयमा फर्किएको क्रेडिट रेटिङ्ग रिपोर्टमा उल्लेख छ। आगामी दिनमा कम्पनीले विद्युत प्राधिकरणबाट समयमै भुक्तानी पाउने, खोलामा पानीको बहाव अनुकूल रहने र प्रस्तावित आईपीओमार्फत ऋणको भार घटाउन सकेमा यसको वित्तीय साख अझ मजबुत हुने विश्लेषण पनि उक्त रिपोर्टमा गरिएको छ।