लामो प्रतिक्षापछि विश्वव्यापी सञ्जाल भएको यस कम्पनीले नेपाली बजारमा प्रवेश गर्नुलाई एक ‘ऐतिहासिक कद’ का रुपमा लिएको छ । नेपाल उबरका लागि एसिया प्रशान्त क्षेत्रको ११ औं बजार बनेको छ। हाल विश्वका ७० भन्दा बढी देशहरूमा सफल सञ्चालनमा रहेको उबरले नेपाललाई पनि आफ्नो विश्वव्यापी नेटवर्कसँग जोडेको छ। यसबाट स्थानीय यात्रु मात्र नभई नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूले समेत एउटै एपमार्फत सहजै यात्राको सुविधा लिन सक्ने वातावरण सिर्जना भएको कम्पनीको दाबी छ।
के–के छन् सेवाहरू ?
उबरले नेपाली सडक र यात्रुको आवश्यकतालाई ध्यानमा राख्दै सुरुवाती चरणमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै सेवा सञ्चालनमा ल्याएको छ । ‘उबर गो’ किफायती र सहज चार पाङ्ग्रे यात्राका लागि र उबर कम्फर्ट चाहिँ अलि बढी सुविधायुक्त र प्रिमियम चार पाङ्ग्रे यात्राका लागि उपलव्ध हुनेछ ।
दुई पाङ्ग्रे सवारीमार्फत छिटो र छरितो यात्रा गर्न चाहनेहरूका लागि यो एप प्रभावकारी हुनेछ ।

किन छानियो नेपाल ?
उबरका एसिया प्रशान्त क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरका अनुसार नेपालको तीव्र शहरीकरण, बढ्दो डिजिटल पहुँच र पर्यटनको सम्भावनाले गर्दा यो कम्पनीका लागि एक महत्त्वपूर्ण बजार हो। उनले भने, ‘नेपालको गतिशील अर्थतन्त्र र पर्यटन क्षेत्रसँग सहकार्य गर्दै यात्रु, चालक र आगन्तुकको आवश्यकता पूरा गर्न हामी प्रतिबद्ध छौं।’
कम्पनीले नेपालमा स्मार्टफोन प्रयोगकर्ताको बढ्दो संख्या र आधुनिक यातायात सेवाको मागलाई मध्यनजर गर्दै दीर्घकालीन उपस्थितिको लक्ष्य राखेको छ।
२०७४ मै भएको थियो दर्ता
रोचक कुरा के छ भने, उबरले सेवा आजदेखि सुरु गरे पनि यसको तयारी धेरै वर्ष अघिदेखि नै भएको देखिन्छ। कम्पनीले २०७४ साउन १ गते नै नेपालमा ‘उबर नेपाल’ का नाममा दर्ता प्रक्रिया पूरा गरेको थियो। दर्ता भएको करिब ७ वर्षपछि कम्पनीले बल्ल आफ्नो सेवालाई औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।
उबरको प्रवेशसँगै नेपालमा हाल सञ्चालनमा रहेका पठाओ र इनड्राइभर जस्ता अन्य राइड शेयरिङ कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ। यसले यात्रुहरूलाई गुणस्तरीय सेवा र प्रतिष्पर्धात्मक मूल्यमा यात्रा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।