ट्रम्पले इरान शान्ति समझदारीमा गरे हस्ताक्षर, हर्मुज खुल्ने दाबी

Jun 18, 2026 11:56 AM Merolagani



डान मङ्गन, इमोन जाभर्स(सिएनबिसि)

राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेश्कियानले बुधबार दुई राष्ट्रहरूबीच जारी युद्ध अन्त्य गरी स्थायी शान्ति सम्झौताको खाका तयार पार्ने उद्देश्यले सहमति भएकाे छ ।

यो हस्ताक्षर उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले सोही दस्तावेजमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेको तीन दिनपछि भएको हो। ट्रम्पले आफैं यो ऐतिहासिक दस्तावेजमा हस्ताक्षर गर्नु कत्तिको उपयुक्त होला भनी केही घण्टा घोत्लिएपछि अन्ततः यसमा हस्ताक्षर गरेका हुन्।

ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ ड्यान स्काभिनोले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो अनुसार, ट्रम्पले फ्रान्सको भर्साइल्स (Versailles) मा आयोजित रात्रिभोज अघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, प्रथम महिला ब्रिजिट म्याक्रोँ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

भिडियोमा राष्ट्रपति म्याक्रोँले ट्रम्पसँग हात मिलाउँदै “ब्राभो, उत्कृष्ट काम!” भन्दै बधाई दिएको देखिन्छ।

रात्रिभोजपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले संक्षिप्त रूपमा भने, "यसमा हस्ताक्षर भएको छ।"

पछि म्याक्रोँले सामाजिक सञ्जाल एक्स (X) मा हस्ताक्षरको भिडियो साझा गर्दै लेखेका छन्, "यस सम्झौताले दिगो शान्तिका लागि मार्ग प्रशस्त गर्दछ र हर्मुज जलडमरू पुनः खोल्न अनुमति दिन्छ।" फ्रान्सेली भाषाबाट अनुवाद गरिएको उनको पोस्टमा अगाडि भनिएको छ, "यो हाम्रा देशबासीहरूका लागि सही दिशामा चालिएको एक महत्त्वपूर्ण कदम हो, जसले चाँडै नै ऊर्जाको मूल्य घटाउन मद्दत गर्नेछ।"

"सम्झौता असफल भए जेडी (भान्स) जिम्मेवार" - ट्रम्पको ठट्टा

बुधबार नै ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने यो सम्झौता असफल भएमा त्यसको दोष उपराष्ट्रपति जेडी भान्सलाई दिने भन्दै ठट्टा गरेका थिए।

"यदि यो सफल भयो भने म यसको जस (श्रेय) लिनेछु। तर असफल भयो भने म जेडीलाई दोष दिनेछु," ट्रम्पले हाँस्दै भने। आगामी दिनमा इरानसँगको अन्तिम सम्झौतामा हस्ताक्षर गर्न ट्रम्पले उपराष्ट्रपतिलाई पठाएर सम्भावित असफलताको भारी भान्सको थाप्लोमा हाल्न खोजेका हुन् कि भन्ने पत्रकारको जिज्ञासामा उनले यस्तो रमाइलो टिप्पणी गरेका हुन्।

फ्रान्सको इभियन-लेस-बेन्स (Evian-les-Bains) मा आयोजित जी-७ (G7) शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दा ट्रम्पले यस्तो बताएका हुन्। सोही समयमा अर्कोतर्फ एक वरिष्ठ अमेरिकी अधिकारीले टेलिफोन ब्रिफिङमार्फत पत्रकारहरूलाई इरानसँगको समझदारी पत्रको मस्यौदा पढेर सुनाइरहेका थिए भने दुई रिपब्लिकन सिनेटरहरूले भने यस सम्झौताको कडा आलोचना गरिसकेका थिए।

सैन्य र आणविक व्यवस्थापन

यस सम्झौतामा लेबनानमा इजरायलले जारी राखेको सैन्य कारबाही तत्काल रोक्न र कम्तीमा ६० दिनका लागि इरानले बिनाकुनै शुल्क हर्मुज जलडमरू पूर्ण रूपमा खुला राख्न आह्वान गरिएको छ। १४ वटा बुँदाहरू समेटिएको यो समझदारी पत्रमा अमेरिका र इरानले इस्लामिक गणतन्त्रको अत्यधिक संवर्धित युरेनियमको भण्डारलाई कसरी व्यवस्थापन वा विसर्जन गर्ने भन्ने विषय पनि समावेश गरिएको छ।

यस गोप्य सम्झौताका बारेमा नाम नखुलाउने सर्तमा ब्रिफिङमा सहभागी एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार, गत वर्ष (सन् २०२५) को गर्मीयाममा अमेरिकाले गरेको बमबारीका कारण इरानको आणविक भण्डार अत्यन्तै सुरक्षित र पहुँचभन्दा टाढा भइसकेकाले अमेरिकाले तुरुन्तै इरानभित्र पसेर ती रेडियोधर्मी पदार्थहरू बाहिर ल्याउनुपर्ने कुनै आवश्यकता छैन।

"अपरेसन मिडनाइट ह्यामरको भव्य सफलताका कारण त्यो सामग्री निकै गहिराइमा सुरक्षित अवस्थामा छ," ती अधिकारीले भने। 'अपरेसन मिडनाइट ह्यामर' (Operation Midnight Hammer) सन् २०२५ को जुन महिनामा इरानी आणविक सुविधाहरूलाई लक्षित गरी अमेरिकाले गरेको सैन्य आक्रमण थियो।

२८ फेब्रुअरी (२०२६) मा युद्ध सुरु भएदेखि नै ट्रम्पले इरानले आणविक हतियार बनाउन सक्ने भन्दै अमेरिकाले पुनः आक्रमण गर्नुपर्ने दलिल पेस गर्दै आएका थिए। तर, गत वर्षदेखि नै ती आणविक सामग्रीहरू इरानकै पहुँचबाहिर रहेको संकेत गर्ने ती वरिष्ठ अधिकारीको पछिल्लो टिप्पणीले ट्रम्पको सो दाबीलाई केही हदसम्म कमजोर बनाएको देखिन्छ।

युद्ध सुरु भएको घोषणा गर्दाको आफ्नो भिडियो सम्बोधनमा ट्रम्पले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पार्नु नै आफ्नो आक्रमणको मुख्य उद्देश्य भएको बताएका थिए।

"उनीहरूले आफ्नो आणविक कार्यक्रमलाई पुनर्जीवित गर्ने र लामो दूरीका क्षेप्यास्त्रहरू विकास गर्ने प्रयास गरिरहेका थिए, जसले युरोपका हाम्रा मित्र राष्ट्रहरू, त्यहाँ तैनाथ अमेरिकी सेना र केही समयमै अमेरिकी मुख्यभूमिलाई समेत सिधा खतरामा पार्न सक्थ्यो," उनले त्यतिबेला भनेका थिए।

रिपब्लिकन सिनेटरहरूद्वारा आलोचना

लुइसियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले एक्स (X) मा लेख्दै यस सम्झौतालाई "विगतका दशकहरूयताकै सबैभन्दा खराब परराष्ट्र नीति सम्बन्धी गल्ती" को संज्ञा दिएका छन्।

"यसलाई देखेर पूर्व राष्ट्रपति रोनाल्ड रेगन सायद आफ्नो चिहानमै छटपटाइरहेका होलान्," क्यासिडीले टिप्पणी गरे। उनले अगाडि भने, "इरानको आणविक महत्वाकांक्षा अझै रोकिएको छैन। बरु उनीहरूले हर्मुज जलडमरूलाई धम्क्याएर आफ्नो स्वार्थ पूरा गर्न सकिने गतिलो पाठ सिकेका छन् र भविष्यमा पनि यसको फाइदा उठाउनेछन्।"

"अहिले यो सम्झौताअन्तर्गत इरानले नयाँ पूर्वाधारहरू निर्माण गर्ने अवसर पाउनेछ। युद्ध हुनुअघि जलमार्ग खुला थियो, इरान प्रतिबन्धले थिचिएको थियो र हाम्रा १३ जना सैनिकहरू जीवित थिए। तर अहिले हाम्रा १३ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन्, जनताले इन्धनका लागि अर्बौँ बढी तिर्नुपरेको छ, र अब प्रतिबन्धहरू पनि हटाइँदै छ भने बमबारी पनि रोकिएको छ," क्यासिडीले असन्तुष्टि पोखे।

त्यस्तै, उत्तरी क्यारोलिनाका अर्का रिपब्लिकन सिनेटर थम टिलिसले क्यापिटल हिलमा पत्रकारहरूसँग कुरा गर्दै भने, "यो सैन्य आक्रमण सुरु भएदेखि अहिलेसम्म १०० अर्ब डलरभन्दा बढी खर्च भइसकेको छ। हामीले दुईवटा एफ-१८ लडाकु विमान र अन्य सैन्य सामग्री गुमाएका छौँ। हाम्रा १३ जना सैनिक वीरगति प्राप्त भएका छन्, मध्यपूर्वमा हाम्रा साझेदारहरूमाथि हमला भएको छ र ३६५ जना घाइते भएका छन्।"

"मलाई १४ बुँदाभन्दा बढीको सुनिश्चितता चाहिन्छ," टिलिसले थपे।

भान्सलाई अघि सार्ने ट्रम्पको योजना

पत्रकार सम्मेलनको अन्त्यतिर फक्स न्युजका पत्रकार पिटर डुसीले ट्रम्प पहिले नै युरोपमा रहेकाले इरान शान्ति सम्झौताको हस्ताक्षर समारोहमा किन सहभागी नहुने भनी सोधेका थिए।

"म सहभागी हुन सक्छु," ट्रम्पले जवाफ दिए, तर नहुने संकेत पनि गरे।

"यो केवल एक समझदारी पत्र (MOU) हो," ट्रम्पले थपे। "यो निकै महत्त्वपूर्ण छ, तर यो मैले नै हस्ताक्षर गर्नुपर्ने खालको औपचारिक दस्तावेज नहुन पनि सक्छ।"

त्यसपछि डुसीले भने, "यसको मतलब तपाईंले उपराष्ट्रपतिलाई हस्ताक्षरका लागि पठाउनुहुन्छ, र यदि सम्झौता सफल भयो भने तपाईंले उनलाई पठाएकोमा आफूलाई जीनियस प्रमाणित गर्नुहुनेछ?"

"र यदि असफल भयो भने त्यसको दोष उपराष्ट्रपतिको हुनेछ?" डुसीले सोधे।

ट्रम्पले हाँस्दै जवाफ दिए, "मलाई यो विचार मन पर्यो।"

"हो, यसो गर्दा यदि सफल भयो भने म जस लिन्छु, तर असफल भएमा म जेडीलाई दोष दिनेछु," ट्रम्पले ठट्टा गरे। "जेडी, तिमी होसियार हुनुपर्छ। उसले आफ्नो विमान घुमाएर यहाँबाट भाग्न सक्छ। तर साँच्चै, मलाई यो आइडिया निकै मन पर्यो।"

अमेरिका र इरानको इस्लामिक गणतन्त्रबीच भएको समझदारी पत्रको पूर्ण पाठ (इस्लामावाद समझदारी पत्र)

बुधबार एक वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक गरेको समझदारी पत्रको आधिकारिक मस्यौदा यस प्रकार छ:

संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान निम्न बुँदाहरूमा पारस्परिक रूपमा सहमति जनाउन तयार भएका छन्:

१. संयुक्त राज्य अमेरिका, इस्लामिक गणतन्त्र इरान र जारी द्वन्द्वमा संलग्न उनीहरूका सहयोगी राष्ट्रहरू यस समझदारी पत्र (MOU) मा हस्ताक्षर भएसँगै लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीहरू तत्काल र स्थायी रूपमा बन्द गर्ने घोषणा गर्दछन्। दुवै पक्ष अबदेखि एकअर्काविरुद्ध कुनै पनि प्रकारको युद्ध वा सैन्य कारबाही सञ्चालन नगर्न, बल प्रयोग वा धम्की नदिन र लेबनानको क्षेत्रीय अखण्डता एवं सार्वभौमसत्ताको रक्षा गर्न प्रतिबद्ध छन्। अन्तिम सम्झौताले लेबनानसहित सबै मोर्चामा जारी युद्धको स्थायी अन्त्य र यस बुँदाका प्रावधानहरूलाई पुष्टि गर्नेछ।

२. संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न प्रतिबद्ध छन्।

३. संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान आपसी सहमतिमा थप विस्तार गर्न सकिने गरी अधिकतम ६० दिनभित्र वार्ता गरी अन्तिम शान्ति सम्झौता हासिल गर्न प्रतिबद्ध छन्।

४. यस समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगाएको नौसैनिक नाकाबन्दी तथा कुनै पनि किसिमको अवरोध हटाउन सुरु गर्नेछ र आगामी ३० दिनभित्र नाकाबन्दी पूर्ण रूपमा समाप्त गर्नेछ। यस अवधिमा व्यापारिक जहाजहरूको आवागमन युद्ध सुरु हुनुअघिको अनुपातमा पुनः कायम गरिनेछ। संयुक्त राज्य अमेरिकाले अन्तिम सम्झौता भएको ३० दिनभित्र इरानको सिमाना वा आसपासको क्षेत्रबाट आफ्ना सैन्य बलहरू फिर्ता लैजाने प्रतिबद्धता समेत गर्दछ।

५. यस समझदारी पत्रमा हस्ताक्षर भएसँगै इस्लामिक गणतन्त्र इरानले पर्सियन खाडीदेखि ओमानको सागरसम्म ६० दिनका लागि बिनाकुनै शुल्क व्यापारिक जहाजहरूको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आफ्नो तर्फबाट अधिकतम प्रयास गर्नेछ। व्यापारिक जहाजहरूको आवागमन तुरुन्तै सुरु गरिनेछ र यसका प्राविधिक तथा सैन्य अवरोधहरू इरानद्वारा ३० दिनभित्र हटाइनेछ। इरानले अन्तर्राष्ट्रिय कानुन र हर्मुज जलडमरूका तटीय राष्ट्रहरूको सार्वभौम अधिकार अनुकूल हुने गरी पर्सियन खाडीका अन्य छिमेकी राष्ट्रहरूसँग परामर्श गरी हर्मुज जलडमरूको भावी व्यवस्थापन र समुद्री सेवाहरू परिभाषित गर्न ओमन अधिराज्यसँग वार्ता गर्नेछ।

६. संयुक्त राज्य अमेरिकाले आफ्का क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको ठोस र आपसी सहमतिमा आधारित योजना तयार पार्ने प्रतिबद्धता व्यक्त गर्दछ। यस योजनाको कार्यान्वयनको संयन्त्रलाई ६० दिनभित्र अन्तिम सम्झौताको हिस्साका रूपमा टुङ्गो लगाइनेछ। यस सम्बन्धी वित्तीय कारोबारका लागि आवश्यक पर्ने सम्पूर्ण इजाजतपत्र, छुट र अनुमतिहरू संयुक्त राज्य अमेरिकाले प्रदान गर्नेछ।

७. संयुक्त राज्य अमेरिकाले अन्तिम सम्झौताको सहमति अनुसारको कार्यतालिका बमोजिम संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) का प्रस्तावहरू, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को बोर्ड अफ गभर्नर्सका प्रस्तावहरू, र इरानविरुद्ध लगाइएका प्राथमिक तथा द्वितीयक (primary & secondary) लगायतका सम्पूर्ण एकपक्षीय अमेरिकी प्रतिबन्धहरू पूर्ण रूपमा खारेज गर्ने प्रतिबद्धता गर्दछ। दुवै पक्ष प्रतिबन्ध खारेजीको यो विषय अत्यन्तै महत्त्वपूर्ण रहेको स्वीकार गर्दै आगामी वार्ताहरूमा यसलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहमत भएका छन्।

८. इस्लामिक गणतन्त्र इरानले आफूले कुनै पनि आणविक हतियार प्राप्त नगर्ने वा विकास नगर्ने प्रतिबद्धता पुनः दोहोर्‍याउँछ। संयुक्त राज्य अमेरिका र इरान बुँदा नम्बर ७ मा तोकिएको कार्यतालिका बमोजिम संवर्धित आणविक सामग्रीको व्यवस्थापन गर्न आपसी सहमतिमा एक संयन्त्र बनाउन तयार भएका छन्, जसमा IAEA को प्रत्यक्ष निगरानीमा सोही स्थानमा डाउनमिलिङ (down-blending) गर्ने न्यूनतम विधि समावेश हुनेछ। दुवै पक्ष अन्तिम सम्झौतामा तय हुने सन्तोषजनक ढाँचाका आधारमा इरानको आणविक आवश्यकता र संवर्धनसँग सम्बन्धित विषयहरूमा थप छलफल गर्न सहमत भएका छन्। अन्तिम सम्झौताले यस बुँदाको प्रावधानलाई अनुमोदन गर्नेछ।

९. अन्तिम सम्झौता नभएसम्म संयुक्त राज्य अमेरिका र इरान वर्तमान यथास्थिति (Status Quo) कायम राख्न सहमत छन्। इरानले आफ्नो आणविक कार्यक्रमको वर्तमान स्थितिलाई यथावत् राख्नेछ भने अमेरिकाले यस अवधिमा इरानमाथि कुनै नयाँ प्रतिबन्ध लगाउने छैन र यस क्षेत्रमा थप सेना तैनाथ गर्ने छैन।

१०. यो समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै प्रतिबन्धहरू पूर्ण रूपमा समाप्त नभएसम्मका लागि अमेरिकी वित्त विभाग (US Treasury) ले इरानी कच्चा तेल, पेट्रोलियम उत्पादनहरू, बैंकिङ कारोबार, बिमा र ढुवानी लगायतका सम्बन्धित सेवाहरूको निर्यातका लागि आवश्यक विशेष छुट (waivers) जारी गर्ने प्रतिबद्धता गर्दछ।

११. संयुक्त राज्य अमेरिकाले विभिन्न बैंक तथा वित्तीय संस्थामा रोक्का वा जफत गरिएका इरानका सम्पूर्ण कोष र सम्पत्तिहरू इरानलाई पूर्ण रूपमा प्रयोग गर्न पाउने गरी खुला गरिदिने प्रतिबद्धता गर्दछ। समझदारी पत्र कार्यान्वयनमा आएसँगै यी कोषहरू फुकुवा गर्ने प्रक्रियाबारे वार्ताका क्रममा सहमति कायम गरिनेछ। यी कोषहरू जहाँ रहेका भए पनि इरानी केन्द्रीय बैंकले तोकेका लाभार्थीहरूलाई भुक्तानीका लागि पूर्ण रूपमा खुला गरिनेछ र अमेरिकाले यसका लागि आवश्यक सबै इजाजतपत्र र अनुमति जारी गर्नेछ।

१२. संयुक्त राज्य अमेरिका र इरान यस समझदारी पत्रको सफल कार्यान्वयन र भविष्यमा हुने अन्तिम सम्झौताको पालना अनुगमन गर्न एक संयुक्त कार्यकारी संयन्त्र स्थापना गर्न सहमत भएका छन्।

१३. यस समझदारी पत्रमा हस्ताक्षर भएसँगै र बुँदा नम्बर ४, ५, १० र ११ को कार्यान्वयन सुरु भएपछि दुवै देशले अन्य बुँदाहरू र अन्तिम शान्ति सम्झौताका विषयमा औपचारिक वार्ता अघि बढाउनेछन्।

१४. यो अन्तिम सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) को बाध्यकारी प्रस्तावद्वारा अनुमोदित हुनेछ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।