ट्रम्पलाई अदालतकाे अर्काे झट्का, अब अमेरिकामा जन्मने सबैलाई नागरिकता

Jul 01, 2026 10:18 AM Merolagani



अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मका आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई मंगलवार खारेज गरिदिएको छ ।

अदालतको यो फैसलासँगै अमेरिकामा जन्मका आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत् रहने भएको छ ।

प्रधानन्यायाधीश जोन रोबट्र्सले सुनाएको फैसलामा संविधानको १४ औँ संशोधनले हरेक स्वतन्त्र व्यक्तिलाई दिएको अधिकारको सुनिश्चितता गरिएको उल्लेख छ । ६–३ को बहुमतले गरेको उक्त फैसलामा तीन अनुदारवादी न्यायाधीशहरूले तीन उदारवादी न्यायाधीशहरूलाई साथ दिएका थिए ।

फैसलाको रायमा भनिएको छ, ‘संविधानको १४ औँ संशोधनका निर्माताहरूले यस धर्तीमा जन्मिएका हरेक व्यक्तिलाई जुन वाचा गरेका थिए, हामी आज त्यसलाई कायम राख्दछौँ ।’

सन् १८६८ मा अनुमोदन गरिएको अमेरिकी संविधानको १४ औँ संशोधनले गृहयुद्धपछि पूर्व दासहरू र अश्वेत नागरिकहरूलाई नागरिकताको अधिकार सुनिश्चित गरेको थियो ।

उक्त संशोधनमा भनिएको छ, ‘अमेरिकामा जन्मिएका वा अंगीकृत नागरिकता प्राप्त गरेका र अमेरिकी क्षेत्राधिकारभित्र रहेका सबै व्यक्तिहरू संयुक्त राज्य अमेरिका र उनीहरू बसोवास गर्ने राज्यका नागरिक हुनेछन् ।’

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेकै दिन अर्थात् सन् २०२५ जनवरी २० मा उक्त कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । सो आदेशमा गैरकानूनी वा अस्थायी रूपमा अमेरिकामा रहेका व्यक्तिका सन्तानहरू अमेरिकी क्षेत्राधिकारभित्र नपर्ने र उनीहरूले जन्मका आधारमा नागरिकता पाउन नसक्ने दाबी गरिएको थियो ।

यस आदेशविरुद्ध विभिन्न अभिभावकहरूले आफ्ना र बालबालिकाका तर्फबाट अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि तल्लो तहका अदालतहरूले पनि वादीको पक्षमा फैसला सुनाएका कारण यो कार्यकारी आदेश कार्यान्वयनमा आउन सकेको थिएन ।

सर्वोच्चको निर्णयप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनले यो निर्णय देशका लागि निकै खराब भएको टिप्पणी गर्दै अब कङ्ग्रेसमार्फत कानून बनाएरै महँगो र अन्यायपूर्ण जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्नुपर्ने बताए ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।