मौद्रिक नीति आउने समय नजिकिएसँगै पुँजी बजारका लगानीकर्ताहरू पनि सक्रिय भएका छन्। यसै सन्दर्भमा, शेयर लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने प्रमुख नीतिगत सुधारका सुझावहरू नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष बुझाएको छ।
पूँजी बजारलाई थप सुदृढ, गतिशील, तरल र लगानीमैत्री बनाउन केन्द्रीय बैंकले विशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष तारा प्रसाद फुल्लेलले बताएका छन्। बैंक तथा वित्तीय संस्था, लघुवित्त, शेयर धितो कर्जा, गैरआवासीय नेपालीको लगानी र संस्थागत कोष परिचालनसँग सम्बन्धित विद्यमान नीतिहरूमा परिमार्जन गर्न संघले माग गरेको छ।
लगानीकर्ता संघले बुझाएको सुझावपत्रका पाँच मुख्य बुँदाहरू यसप्रकार छन्ः
बैंक तथा वित्तीय संस्थाको लगानीमा लचकताः दोस्रो बजारमा अल्पकालीन तथा दीर्घकालीन लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई विद्यमान व्यवस्थामा थप लचकता प्रदान गरिनुपर्ने।
लघुवित्तको लाभांश नीतिमा परिमार्जनः लघुवित्त संस्थाहरूको लाभांश वितरण प्रक्रियालाई सिलिङ (सीमा) तोक्नुभन्दा उनीहरूको वास्तविक वित्तीय अवस्था र सञ्चित मुनाफाका आधारमा बजारमुखी र व्यावहारिक बनाइनुपर्ने।
शेयर धितो कर्जामा सुधारः शेयर धितो कर्जामा कायम व्यक्तिगत र संस्थागत सीमा वा जोखिम भारित औसतलाई बजारको यथार्थपरक जोखिममा आधारित प्रणालीमा रूपान्तरण गरी खुकुलो बनाउनु पर्ने।
गैरआवासीय नेपालीलाई सहज प्रवेशः गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा कानुनी रूपमै सहजै लगानी गर्न पाउने र आर्जित नाफा सरल प्रक्रियाबाट फिर्ता लैजान सक्ने स्पष्ट र झन्झटरहित कार्यविधि बनाउनुपर्ने।
संस्थागत कोषहरूको परिचालनः बजारमा दीर्घकालीन तरलता र स्थायित्व कायम गर्न नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र बीमा कम्पनीहरू जस्ता ठूला संस्थागत लगानीकर्ताहरूलाई शेयर बजारमा सक्रिय रूपमा फन्ड परिचालन गर्न नीतिगत सहजीकरण गरिनुपर्ने।
बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन र शेयर बजारमा देखिएको सुस्तीलाई तोड्न आगामी मौद्रिक नीति टर्निङ प्वाइन्ट हुने लगानीकर्ताहरुको विश्वास छ। यी सुझावहरू कार्यान्वयन भएमा पुँजी बजारमा आम लगानीकर्ताको आत्मविश्वास बलियो हुने, वित्तीय प्रणालीमा तरलता विस्तार हुने र समग्र अर्थतन्त्र अझ मजबुत बन्ने दाबी संघले गरेको छ।