तर, वर्तमान अवस्थामा नेपाली लगानीकर्ताहरूले विश्वकपको उत्सव उठाउन सकिरहेका छैनन्। अहिले लगानीकर्ताहरूको मन दोधारमा छ। एकातिर विश्वकपका रोमान्चक खेलहरू चलिरहेका छन्। अर्कोतिर आफ्नो लगानी पोर्टफोलियोले आफ्नै टिमको गोलमा पनि मज्जा लिने कि दुखी हुने भनेर बेला बेला झस्काइरहेको छ । गोलको हुटिङले सुक्नुपर्ने घाँटी, बजारको चिन्ताले सुकिरहेको छ।
मलाइ सानै देखि फुटबल हेर्न र खेल्न सार्है मन हुन्थ्यो । म फुटबल खेल रोकेर होइन, विपक्षीको पोस्टमा गोल ठोकेर जितिन्छ भन्ने मान्यता राख्थे । त्यसैले म ९ नम्बरको जर्सी लागेर सेन्टर फरवार्डबाट खेल्न रुचाउथे ।
त्यो बेला मलाई जर्मन फुटबल टिमको खेल्ने शैली खुब मन पथ्र्यो। विपक्षी जतिसुकै बलियो होस् या एकदम कमजोर दुवैलाई कुनै दया–माया नदेखाई ड्याङ्की ड्याङ् गोल ठोक्थ्यो । आफूले एक–दुई गोल खाए पनि विपक्षीलाई सोत्तर बनाउने उसको रणनीतिको म ठुलो फ्यान भइसकेको थिए । विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान जर्मनको त्यसै बनेको होइन। अहिलेको जर्मनको परिस्थिति बिल्कुल फरक छ ।
यो सबै प्रसङ्ग मैले जर्मन फुटबल टिमको प्रसंसाको लागि लेखेको होइन । यसलाई सिंहदरबार स्टेडियममा भइरहेको नयाँ र आशालाग्दो टिम–रास्वपा सरकारको हो। मैदान छिर्नु अर्थात चुनाव अगाडि यो टिम ठ्याक्कै त्यही जर्मन जस्तै आक्रामक थियो । चुनाब पछि ठुलो दलबल सहित बालेनको क्याप्टेनमा निलो जर्सी लगाएर रास्वपा टिम खेल मैदान छिर्यो ।
खेलको सुरुवाती चरणमै टिमको राइट स्ट्राइकर सुदन गुरुङले एकदम आक्रामक शैली समाते। उनको एकपछि अर्को ठुला प्रहारहरु बिपक्षी टिमका साझा गोलरक्षक अदालतले प्रायः विफल बनाइदियो । पछि आफ्नै सानो कमजोरीले गर्दा ‘रातो कार्ड’ खाएर केही समय मैदान बाहिर बस्नुपर्यो। तर जब भीएआरको रिप्लेमा निर्णायक मण्डलले उनको कुनै गल्ती देखेनन्, उनी फेरि मैदानमा फर्किए । यसपालि अलि सम्हालिएर, रणनीतिक रूपमा खेलिरहेको देखिन्छ ।
दर्शकदीर्घामा सबैभन्दा ठुलो हुटिङ र अपेक्षा भने ‘काठमाडौँ स्थानीय क्लब’ बाट खेल सुरु गरेका र अहिले राष्ट्रिय टिममा डेब्यु गरेका मुख्य स्ट्राइकर तथा टिमका क्याप्टेन बालेन शाहसँग थियो। स्थानीय तहमा उनले जुन रूपमा एकपछि अर्को प्रहारमा गोल हाने, दर्शकको मन जिते त्यसले उनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै चर्चामा ल्यायाे ।
उनका समर्थकहरू बालेनलाई एउटा साधारण स्ट्राइकरको रूपमा मात्र होइन, विश्व फुटबलका ‘महान् हस्तीहरू’ को कम्बिनेसन भएको एउटा सुपर–स्ट्राइकरको रूपमा मैदानमा देख्न चाहन्थे।जसले एमबाप्पेको जस्तो गतिमा दौडिदै, मेस्सीले जस्तै सबैलाई छलाउदै, हालान्डको जस्तो पावर–शटले गोलपोस्टको जाली नै च्यातिने गरी गोल ठोकिदिऊन् र गोलपछि हावामा ब्याक–फ्लिप गर्दै रोनाल्डोको स्टाइलमा पुरै स्टेडियम गुञ्जने गरी सूऊऊऊऊऊऊ... गर्दै चिच्याएको सुन्न आतुर थिए ।
तर, अहिले मैदानको दृश्य अलि फरक देखिन्छ ।
अहिले सरकारको खेल शैली हेर्दा सन् २०१० को स्पेनिस टिमको टिकी–टाका रणनीति जस्तो महसुस भइरहेको छ।
स्पेनले विश्वकप त जित्यो, तर दर्शकको मन जित्न सकेन । लामो समयसम्म आफ्नै टिमभित्र बल पास मात्रै खेलिरहने, विपक्षीलाई दौडाएर थकित बनाउने, न आफूले गोल हान्ने, न विपक्षीलाई बल छुने मौका दिने। अनि खेलको अन्तिम मिनेटमा जम्मा १ गोल हानेर वा पेनाल्टी सुटआउटमा पुर्याएर खेल जित्ने ।
यो यस्तो दिक्क लाग्दो र बोरिङ रणनीति हो, जहाँ खेल जिते पनि आफ्नै समर्थकले पनि खेलको असली मज्जा लिन सक्दैनन्।
यति बलियो र ऊर्जावान् युवा टिमले डिफेन्सिभ मोडमा बसेर टिकि–टाका खेलेको दर्शकहरुलाई पट्यारलाग्दो भएको छ। उनीहरुलाई त काउन्टर अट्याकमा गोलको प्रतिक्षामा छन् । स्ट्राइकरले बल एक्लै कुदाउँदै गोलकिपरको नजिक पुर्याउँदा मुटुको धड्कन बढोस्, अनि गोल भएपछि सिटबाट जुरुक्क उफ्रिएर “गो..ओ..ल...।“ भन्दै चिच्याउन पाइयोस्।
दर्शक र समर्थकहरुको अपेक्षा यो थियो कि यो टिमले पुरै खेल यसरी जितोस कि ब्राजिलको पहेलो जर्सीको ५ तारा जस्तै रास्वपाको निलो जर्सीमा पनि त्यस्तै सफलताका घन्टीहरु देख्न पाइयोस । विपक्षी टिमका समर्थकले पनि उठेर ताली बजाउन बाध्य होउन्।
अहिले कति खेलाडीहरुको खेल शैली र मैदान बाहिर दिएको अभिव्यक्तिले समर्थकहरु त्यति खुसी देखिदैनन उनीहरुलाई बिस्तारै ‘डिफेन्सिभ मोड’ मा पुर्याउदैछ ।
यो टिमका मुख्य प्रशिक्षक (कोच) हुन् रवि लामिछाने। कोचको काम मैदान बाहिर बेन्चमा बसेर, विपक्षीको रणनीति बुझेर आफ्नो टिमलाई निर्देशन दिने र जितको लागि मास्टरप्लान बनाउने मात्र हो। यदि झुक्केर बल उनको खुट्टामा आयो भने पनि उनले सिधै मेन स्ट्राइकर बालेनलाई पास दिन मिल्दैन, किनकि मैदानको नियम र आफ्नो टिम भित्रको नियम भन्दा फरक हुन्छ। यदि दिए भने पनि त्यो हानेको गोल मान्य हुदैन ।

अहिलेको मन्त्रिमण्डलको टिममा गोल हान्न सक्ने धेरै राम्रा–राम्रा स्ट्राइकरहरू छन्। सबैजना डिफेन्समा मात्रै थुप्रिएर बस्नु पर्ने कुनै कारण छैन। अब फरवार्ड लाइनले पोस्टमा धावा बोल्नैपर्छ। त्यसको नेतृत्व बालेन र उनको राइट स्ट्राइकर सुदन गुरुङ र लेफ्ट स्ट्राइकर स्वर्णिम वाग्ले अगाडि बढ्नै पर्छ । हरेक बल बीचको मुख्य स्ट्राइकरलाई पास दिनैपर्छ भन्ने हुदैन । जसले अवसर पाउछ उसले ठोक्नुपर्छ ।
यो खेलमा कसले गोल हान्छ, कसको रणनीति सफल हुन्छ भनेर बाहिर बाजी थाप्नेहरू धेरै हुन्छन । यसमा कतिको अनुमान मिल्छ, कतिको मिल्दैन । तर, खेलको वास्तविक नतिजा र यो देशको भविष्य कुन दिशामा जाँदैछ भनेर सही अनुमान लगाउने एउटै ऐना छ त्यो हो पुँजीबजार । पुँजीबजारको अनुमान खेलको गति अनुसार परिवर्तन भइरहन्छ तर अन्तिम नतिजा उसको अनुमान बाहिर जादैन।
शेयर बजारको ग्राफ कहिल्यै झुटो बोल्दैन। मैदानमा सरकारले जति आक्रामक र दरिलो खेल देखाउँछ, लगानीकर्ताहरूको मनोबल त्यति नै उच्च हुन्छ। जब मन्त्रिपरिषदका स्ट्राइकरहरूले नीतिगत गाँठो फुकाउँदै गोल हान्न थाल्छन्। तब नेप्सेको इन्डेक्सले पनि हरियो रङको जर्सी लगाएर ‘बुल रन’ को उकालो यात्रा तय गर्छ।
अहिले बजार दिन प्रतिदिन घटिरहेको छ। नेप्सेको स्क्रिन रातो देखिँदा लगानीकर्ताहरूमा त्यो पुराना जोश र उत्साह देखिएको छैन। तर यो पनि नबिर्सौ कि, मैदानमा खेल सुरु भएको केवल ५ मिनेट मात्र भएको छ । ९० मिनेटको खेलको सुरुवाती ५ मिनेटमै नतिजा खोज्नु अलि हतारो पनि हुन सक्छ। यसो भन्दै गर्दा टिम कस्तो छ र कता जादै छ भन्ने कुरा यहि ५ मिनेटले नै निर्धारण गर्छ । समर्थकहरूमा धेरै नै ठुलो आशा र अपेक्षा थियो, जुन यो छोटो समयमा पूरा नभएको जस्तो देखिए पनि खेल अझै धेरै बाँकी छ। पहिलो हाफमा कुनै पनि दमदार गोल भएन र यहि शैलीलाई कायम गर्दै पछिसम्म गोल ठोकेर होइन, विपक्षलाई रोकेर मात्र जितिन्छ भन्ने रणनीतिमा लाग्छ भने यो खेल हार्ने पक्का–पक्की छ । कोच रविले थकित र राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई बेन्चमा बोलाएर, राम्रा अनुभबी र खेल बुझेका अरु खेलाडीलाई मैदानमा पठाएर पनि यो टिमलाई पुरै समय खेलाउन सक्नुपर्छ ।
आशा गरौं, अहिले बजार घट्नु र खेल केही सुस्त देखिनु वास्तवमा एउटा रणनीतिक विश्राम मात्र थियो । समर्थक र लगानीकर्ताहरू चुपचाप कुरिरहेका छन्। जब सही अवसर आउँछ, राम्रा स्ट्राइकरहरूले विपक्षीको पोस्टमा गोल हान्न अलिकति पनि चुक्ने छैनन् । विश्वास गरौं त्यो बेला जसरी समर्थकहरु गोञ्ल भन्दै उफ्रिन्छन सोहि समय लगानीकर्ताहरु बुञ्ल भन्दै चिच्याउनेछन् ।
धन्यबाद !
(लेखक ढुंगाना लगानीकर्ता तथा बजार विश्लेषक हुन्)