आईपीओबाट कम्पनीमात्रै धनी भए !

Jul 02, 2026 06:20 PM Merolagani



पछिल्लो समय बजार सुस्त छ । यो अवस्थामा लगानीकर्ताहरु बढाउने काम गर्न पर्ने लगानीकर्ताहरुको भनाईछ । सरकारले बजारको विकास गर्ने भन्दापनि बजारमा थप चपेटामा पारेको लगानीकर्ताहरुको गुनासो छ ।

सरकारले पूँजीगत लाभ कर बढाउदा लगानीकर्ताको मनोभावना कमजोर भएको हो। अहिलेको बजारबाट लगानीकर्ताले कमाई गर्न सकिरहेका छैनन। अर्कोतर्फ बजारमा आइएपीओको नाममा शेयर सप्लाई बढ्दो अवस्थामा छ। आइएपीओबाट सम्बन्धित कम्पनीका मालिकहरु मात्रै धनी भएको नेपाल शेयरधनी संघका महासचिव सुरज खड्का बताउछन । तीनै खड्कासँग सुधा देवकोटाले गरेको कुराकानीः

बजार त अहिले अलिकति सुस्त छ । यस्तो अन्योलपूर्ण अवस्थामा के गर्नु भएको छ? अहिलेको बजारलाई कसरी लिनुभएको छ ?

अहिलेको बजारमा म पर्ख र हेरको स्थितिमा छु । चुपचाप किनेर बसेको छु। बेच्ने माहौल नै छैन । पहिला बेच्न सक्ने अवस्था थियो। तर अहिलेको न्यून विन्दुमा आएर शेयर बेच्नु मुर्खता हुन्छ जस्तो लाग्छ । त्यसैले धैर्यताका साथ होल्ड गरिरहेको छु । समग्र मार्केटको कुरा गर्ने हो भने यतिबेला लगानीकर्तामा ठुलो निराशा छाएको छ । बजार प्राविधिक वा आधारभूत पक्षले भन्दा पनि मनोवैज्ञानिक त्रासले चलिरहेको छ । लगानीकर्ताहरू आत्तिएका छन्। अब के हुने हो भन्ने चिन्ता सामाजिक सञ्जालहरूमा प्रस्ट देखिन्छ । सरकारप्रति आक्रोश छ । सरकारले बजारलाई जोगाउन ठोस कदम चालिदेओस् भन्ने अपेक्षा लगानीकर्ताको छ ।

तपाइले शेयर होल्ड मात्र गर्नुभएको छ कि नयाँ कित्ताहरू थप्दै पनि हुनुहुन्छ ?

मैले अहिले होल्ड नै गरिरहेको छु । यो बिचमा मैले झन्डै पाँच पटक स्टप लस गरे । सरकारको बजेट भाषण अगाडि केही बेचे, फेरि किने, फेरि बेचे । तर अहिले टाइटली होल्ड गरिरहेको छु ।

बजार अब बढ्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ? बजार कुन विन्दु वा कस्तो अवस्थाबाट फर्किन्छ जस्तो लाग्छ ?

आशा त धेरै छ । अहिलेको अवस्थालाई प्यानिक सिचुएसन भन्न सकिन्छ । हिजो अलिकति बढेको जस्तो देखिए पनि त्यसलाई कतिपयले डेड क्याट बाउन्स भने, आज फेरि घट्न थाल्यो । हामीले यस्ता धेरै उतारचढाव भोगिसकेका छौ। त्यसैले अब त बानी नै परिसक्यो । केही दिन यस्तै रहे पनि छिट्टै राम्रा दिन आउनेछन् । हिजो मात्रै हामीले नवनियुक्त धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षलाई भेट्यौ । उहाँले पुँजी बजारको विकास र सुधारकै लागि आएको बताउनुभएको छ । उहाँले १५ दिनभित्र एउटा स्पष्ट एक्सन प्लान बनाउने आश्वासन दिनुभएको छ । उहाँले कुनै पनि स्वार्थ समूहसँग सम्बन्ध नराखी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। जुन सकारात्मक कुरा हो । पुँजी बजार अर्थतन्त्रको इन्जिन हो । यदि यो इन्जिन नै बिग्रियो भने अर्थतन्त्र कसरी चल्छ ? पुरानो सरकार ढलेर नयाँ सरकार बन्दा लगानीकर्तामा जुन उत्साह थियो, त्यो अहिले निराशामा परिणत भएको छ । सरकारले कर मात्र उठाउने सोच्नुहुँदैन, कर उठाउने माहौल पनि बनाइदिनुपर्छ ।

लगानीकर्ताहरू विगत देखि नै साइडवेज बजारमा छन् । तर अहिले अझ बढी प्यानिक हुनुको मुख्य कारण के होला ?

यसको मुख्य कारण सरकारप्रतिको घट्दो विश्वास हो । लगानीकर्ताले यो सरकार आएपछि पूँजी बजारमैत्री वातावरण बन्छ र लगानी सुनिश्चित हुन्छ भन्ने ठुलो आशा राखेका थिए। तर राजनीतिक खिचातानी र ठुला व्यक्तित्वमाथिको धरपकडले लगानीकर्ता त्रसित भए । अर्कोतर्फ, बजार यसरी घटिरहँदा पनि अर्थमन्त्रीले कुनै सहानुभूति देखाउनुभएन । अर्थमन्त्री त अभिभावक हो। तर उहाँले लगानीकर्ताका पीडामा मल्हम लगाउने काम गर्नुभएन । हामीले सिंहदरबारको गेटमा आन्दोलन गर्दा प्रहरी लगाएर रोकियो । पछि हामी रास्वपाको कार्यालयमा धर्ना दियौँ । दबाब बढेपछि अर्थमन्त्रीले हामी आन्दोलित लगानीकर्तासँग होइन, ब्रोकर एसोसिएसनसँग वार्ता गर्नुभयो। जुन नितान्त गलत थियो । ब्रोकरले आफ्नो फाइदाका लागि साढे ७ र १० प्रतिशतको कर वृद्धिलाई स्वीकार गरे। जसले गर्दा लगानीकर्तामा झन् नकारात्मक सन्देश गयो र बजार ओरालो लाग्न थाल्यो ।

बजेटले अन्तिम करको सुनिश्चितता भयो। तर सँगै करको दर पनि बढाइदियो । यसले बजारलाई दीर्घकालीन रुपमा कस्तो असर पार्ला ?

अन्तिम कर हुनुपर्छ भन्ने हाम्रो माग थियो। त्यो पुरा भयो । तर मन्दीको बेला, जहाँ लगानीकर्ताले घाटा खाइरहेका छन्। यस्तो बेला करको दर बढाउनु अर्थशास्त्रको नियम विपरीत हो । बजार बढेको बेला कर बढाउनु स्वाभाविक हुन्थ्यो। तर अहिले यो आत्मघाती निर्णय जस्तो भएको छ । यसलाई एउटा कथासँग जोड्न सकिन्छ। एउटी बुढीको सुनको अण्डा दिने कुखुरा थियो । हरेक दिन एउटा अण्डा बेचेर उसको जीविका राम्रो चलेको थियो । तर उसले एकै दिन धेरै सम्पत्ति कमाउने लोभमा कुखुराको पेट चिरी, न त त्यहाँ धेरै अण्डा भेटियो, न त त्यो कुखुरा नै जीवित रह्यो । सरकारको हालत पनि त्यस्तै छ । कर बढाएपछि राजस्व बढ्नुको साटो भोलुम ड्राइ भएर राजस्व झन् घटिरहेको छ । पुँजी बजार चले पो घरजग्गा र अन्य क्षेत्र पनि चल्छन् । सरकारले लगानीकर्तालाई कमाउने वातावरण नबनाई कर मात्र थुपार्नु हुँदैन ।

बजारमा सप्लाईको रुपमा आईपीओहरू आइरहेका छन् । के सप्लाई बढी भएर नै डिमान्ड कम भएको हो ? यसलाई कसरी सन्तुलनमा ल्याउन सकिन्छ ?

अहिलेको बजारलाई सबैभन्दा बढी घातक नै यो आईपीओको बाढी भएको छ । हमालकै पालादेखि धमाधम आईपीओ आए । हाम्रो माग आईपीओ नै रोक्नुपर्छ भन्ने होइन, तर सन्तुलन हुनुप¥यो । डुब्न लागेका कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन दिइयो । आज ती कम्पनीको मूल्य प्रिमियम भन्दा तल छ, यसले कसलाई फाइदा भयो? कम्पनीका मालिकहरूले त कमाए, तर सर्वसाधारण लगानीकर्ता डुबे । नेपाल स्टक एक्सचेन्जको क्षमता कति कम्पनीलाई धान्ने हो? यहाँ त गुन्द्रुक खाँदे जस्तो कम्पनीहरू खाँदिएको छ । नयाँ पैसा आउने बाटो छैन, तर सप्लाई थुप्रिएको थुप्रिएकै छ । कम्पनीका मालिकले प्रि–आईपीओका नाममा १०० को शेयर पहिल्यै महँगोमा बेचिसकेका हुन्छन्, अनि सेकेन्डरी मार्केटबाट पैसा सोहोरेर बाहिर लैजान्छन् । त्यो पैसा कहिल्यै बजारमा फर्किँदैन ।

असार महिनामा करोडौँ कित्ता सेयरको लकिङ खुल्दैछ । यो लकिङ खुल्ने प्रक्रिया बजारका लागि कत्तिको चुनौतीपूर्ण छ ?

यो लकिङको खेल पनि निकै घातक छ । रियल सेक्टर र हाइड्रोमा ९० प्रतिशत संस्थापक र १० प्रतिशत सर्वसाधारणको सेयर संरचना हुन्छ । ३ वर्षपछि जब लकिङ खुल्छ, संस्थापकहरूले महँगोमा सेयर बेचेर बाहिरिन्छन् । आफ्नो लगानी नै नरहेपछि उनीहरूलाई कम्पनीको भविष्यप्रति कुनै चासो हुँदैन । उनीहरूले ऋण तिर्नका लागि राइट शेयरको लोभ देखाउँछन्। सोझा लगानीकर्ता राइटको आशमा सेयर किन्छन् र अन्त्यमा संस्थापकहरू आफ्नो सेयर बेचेर पैसा बोरामा हालेर हिँड्छन् । बैंक तथा वित्तीय संस्थामा जस्तै ५१ प्रतिशत संस्थापक सेयर सधैँ होल्ड हुनुपर्ने व्यवस्था नभएसम्म यो विकृति रोकिँदैन ।

नवनियुक्त सेबोन अध्यक्षले बजार सुधारका लागि तत्काल चाल्नुपर्ने कदमहरू के के हुन सक्छन् ?
उहाँ विज्ञ हुनुहुन्छ । त्यसैले उहाँबाट ठुलो आशा छ । उहाँले सुरुमा नीतिगत भ्रष्टाचार रोक्नुपर्छ । विगतमा सोही कुर्सीमा बसेकाहरू भ्रष्टाचारमा मुछिएको इतिहास छ । उहाँले स्वार्थ समूहबाट टाढा रहेर काम गर्नुपर्छ । बजारले मागेका टुल्सहरू जस्तै इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ, मार्जिन कारोबारलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ । डीपी चार्ज घटाउने, एउटै व्यक्तिको धेरै डिम्याट खाता खोल्न पाउने अवरोध हटाउने जस्ता काम तत्काल गर्न सकिन्छ । सेबोनको कमिसन घटाउनुपर्छ । यदि उहाँले स्वच्छ छविले काम गर्नुभयो भने लगानीकर्ताले ढुक्कसँग लगानी गर्ने वातावरण बन्नेछ ।

आउँदै गरेको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई के सुझाव दिन चाहनुहुन्छ ?

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लगाइएको बन्देज खुकुलो गरिदिनुपर्छ । माइक्रोफाइनान्सको लाभांशमा लगाइएको क्यापमा परिमार्जन आवश्यक छ । हालका गभर्नरले जोखिम भारका सन्दर्भमा लिएको पछिल्लो नीति सकारात्मक छ, यसले लगानीकर्तामा केही आशा जगाएको छ । आगामी मौद्रिक नीतिले यी बाधा अड्चनहरूलाई हटाइदियो भने पुँजी बजार पक्कै पनि चलायमान हुनेछ ।

अन्त्यमा, यस्तो सुस्त बजारमा लगानीकर्ताहरूलाई तपाईको सुझाव के छ ?

लगानीकर्ता साथीहरूलाई मेरो एउटै सुझाव छ। अहिलेको बेला आत्तिने बेला होइन । बजारमा स्वार्थ समूहले मिडिया प्रयोग गरेर नकारात्मक हल्ला फैलाइरहेका हुन्छन्, त्यस्ता हल्लाको पछि नलाग्नुहोस् । यो तपाईँको सम्पत्ति हो, यसलाई जोगाउने जिम्मा तपाई कै हो । अहिले घाटा खाएर शेयर बेचेर भाग्ने बेला होइन । धैर्य गर्नुहोस्। औंसीको रातपछि उज्यालो दिन अवश्य आउँछ । शेयर बजारको बारेमा पर्याप्त ज्ञान लिनुहोस्, कहिले किन्ने र कहिले बेच्ने भन्ने आफैँ निर्णय गर्नुहोस् ।

भिडियाे




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।