सुरक्षण मुद्रण केन्द्रले पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा करिब १४ लाख गरी हालसम्म २६ लाख लाइसेन्स छपाई कार्य सम्पन्न गरेको हो ।
केन्द्रले दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने जिम्मेवारी पाएको थियो । त्यसमध्ये हालसम्म १३ लाख २८ हजार ८४१ लाइसेन्स प्रिन्ट भइसकेको र प्रकृयामा ६३ हजार ५७६ वटा लाइसेन्स गरी कुल १३ लाख ९२ हजार ४१७ वटा लाइसेन्स छपाई कार्य भइरहेको हो ।
अब करिब ३ लाख लाइसेन्स छपाई कार्य गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । केन्द्रले अत्यावश्यक, ब्याकलग र दैनिक रुपमा छाप्ने लाइसेन्स गरी विभाजन गर्दै काम गरिरहेको छ ।
केन्द्रले पहिलो चरणमा १२ लाख सवारी लाइसेन्स गएको बैशाख १२ मा छपाई कार्य सम्पन्न गरेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको थियो । जसमध्ये त्यतिबेला ३७ हजार ६९८ थान अत्यावश्यक र ११ लाख ३१ हजार ७५ थान ब्याकलग लाइसेन्स प्रिन्ट भएका थिए ।
त्यस्तै, दोस्रो चरणमा १७ लाख सवारी लाइसेन्सका लागि केन्द्रसँग सरकारले गत २०८३ बैशाख ४ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार, आगामी असार मसान्तसम्म सबै लाइसेन्स छाप्नुपर्छ ।
सरकारले आफ्नो शासकीय सुधारका १०० बुँदे कार्यसूचीमा सवारी लाइसेन्स हुलाकमार्फत ने घर–घरमा डेलिभरी गर्ने योजना बनाएको थियो । त्यसका लागि पनि सरकारले वर्षौअघिदेखि प्रिन्ट हुन नसकेका सवारी लाइसेन्स केन्द्रमार्फत छपाई कार्य गरेर वितरण गर्ने भनेको छ । असार मसान्तसम्म छापिएका लाइसेन्सहरु साउनको सुरुवातसँगै वितरण गर्ने सरकारको योजना छ ।
विगतमा वर्षौंदेखि चालकहरूले ट्रायल पास गरे पनि स्मार्ट कार्ड पाउन सकेका थिएनन । चालकले ट्रायल पास गरे पनि ४–५ वर्षसम्म पनि स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् । नगदी रसिद वा चिर्कटो देखाएर सवारी चलाउनुपर्ने बाध्यता अहिले पनि कायमै छ ।