असार मसान्तको प्रभाव सकिएपछि नेप्से सकारात्मक, कारोबार रकममा भने गिरावट

Jul 15, 2026 03:11 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.०० अंक बढेर २५९०.२९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक बढेको छ। असार मसान्तको प्रभाव सकिएसँगै अहिले नेप्से सकारात्मक हुन थालेको हो।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६२ स्टकको ३८ हजार ८३६ पटकको कारोबारमा ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको ८४ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। पछिल्ला दिनहरुको तुलनामा यस दिन ऋणपत्रको कारोबार घटेसँगै कारोबार रकम घट्न पुगेको हो।

एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य यस दिन सर्वाधिक ९.२० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमन्ट बैंकको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.३२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ शीर्ष स्थानमा रहेको छ। यस दिन ४४ करोड १० लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन ३३ कराेड रुपैयाँभन्दा बढीको ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ किनबेच भएको छ भने करिब २२ करोड रुपैयाँको १०.२५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८३/८४ कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ। त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।