कृषि विकास बैंक नाफा र वितरणयोग्य मुनाफा दुबै घट्यो

Aug 06, 2026 06:48 AM Merolagani



कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा तथा लाभांश क्षमतामा केही गिरावट आए पनि असुली र तरलताका प्रमुख सूचकहरू स्थिर रहेका छन्।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद नाफा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा २९.५२ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ सीमित भएको छ।

बैंकले असार मसान्तसम्म ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको तुलनामा ३.४५ प्रतिशत कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्ष ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको थियो। बैंकको कर्जा नोक्सानी व्यवस्था अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ।

नियमनकारी समायोजनहरू पश्चात् बैंकको वितरणयोग्य नाफामा उल्लेख्य संकुचन आएको छ। नियमनकारी समायोजनपश्चात् गत आर्थिक वर्ष बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ थियो। सञ्चित नाफा तथा नगद लाभांश भुक्तानी समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ। जस अनुसार साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ६ रुपैयाँ ५४ पैसा कायम भएको छ।

बैंकको कुल चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ, जसमा साधारण शेयर पूँजी १४ अर्ब ३० करोड र अग्रधिकार शेयर पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित नाफा गरी बैंकको कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

बैंकले ग्राहकहरूबाट ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ खर्ब ९३ अर्ब ५८ करोड रुपैयाँको तुलनामा १८.३६ प्रतिशतले बढेको हो। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ खर्ब १२ अर्ब ६७ करोड रुपैयाँभन्दा १६.२४ प्रतिशतले बढी हो।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।