'सर्ट सेल अहिलेको अवस्थामा निकै घातक हुन सक्छ'

Aug 06, 2026 05:30 PM Merolagani



नेपालको पुँजी बजार अहिले अत्यन्तै संवेदनशील अवस्थामा छ। बजारमा लगानीकर्ताहरुले ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन।

अहिले नीतिगत अस्पष्टता र अप्रत्याशित कर वृद्धिका कारण निराशामा परिणत भएको देखिन्छ। आम लगानीकर्ताको मनोविज्ञान र राज्यको नीतिको प्रतिबिम्ब पनि हो। तर, वर्तमान अवस्थामा सरकारले बजारलाई राजस्व संकलनको माध्यम मात्र ठानेको र यसको दीगो विकासका लागि आवश्यक माग सिर्जना गर्ने तर्फ ध्यान नदिएको गुनासो बढ्दो छ।

सरकार नेप्सेको वर्तमान सुस्तता, नीतिगत अन्योल र लगानीकर्ताको खस्किदो मनोबलका विषयमा गम्भीर देखिनु पर्ने हाे । विशेष गरी, बजेटमार्फत पुँजीगत लाभकरमा गरिएको वृद्धिले कसरी बजारमा अत्याधिक आपूर्ति निम्त्यायो। इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेल र मार्जिन कारोबार जस्ता नयाँ उपकरणहरू र नेपाली बजारको वर्तमान पूर्वाधार उस्तै छ। सरकार र नियामकले जगैदेखि नीतिगत सुधार नगरेसम्म बजार सुधार नहुने बताउँछन् लगानीकर्ता नवराज दहाल। तीनै दहालसँग सुधा देवकोटाले गरेको कुराकानीः

वर्तमान शेयर बजारको अवस्थालाई यहाँले कुन रूपमा विश्लेषण गर्नु भएकाेछ?

यसमा सरकारको सोच र व्यवहारको ठूलो खाडल बजारमा देखिन्छ । हामीले एउटा शिक्षित र अन्तर्राष्ट्रिय स्तरमा कहलिएको विद्वान् अर्थमन्त्री पाएका छौं। लगानीकर्ताहरुको अपेक्षा पनि सोही अनुसार थियो। लगानीकर्ताको उत्साहाले बजारले नयाँ उचाइ लिनेछ र जनतामैत्री नीति आउनेछ भन्ने विश्वास थियो । सो विश्वास निराशामा रुपान्तरण भएको छ। वास्तवमा बजार एउटा निश्चित लय र आफ्नै गतिमा थियो । पहिले बढेको र अहिले घटेको होइन । बजार यो सरकार बन्नु पूर्व पनि घटेकै थियो । तर आम लगानीकर्ताको विश्वास आम नागरिक मैत्री सरकार बन्नेछ भन्ने हो। तर, व्यवहारमा उहाँहरु जनताप्रति उत्तरदायी देखिनुभएन।

नयाँ सरकारको गठन र युवा नेतृत्वको आगमनसँगै आम लगानीकर्तामा अब बजारले नयाँ उचाइ लिनेछ भन्ने ठूलो अपेक्षा गरिएकाे थियाे । तर, त्यसकाे बिपरित मनोविज्ञान बुझ्नुको सट्टा उल्टो बाटो रोज्नुभयो। उहाँहरुले बजारमा माग सिर्जना गर्ने संयन्त्रहरूलाई प्रोत्साहन गर्नुको सट्टा तत्कालिन रूपमा आपूर्ति बढाउने काम गर्नु भयाे। तर, जब नीतिगत निर्णयहरू अपेक्षा विपरीत आउन थाले, बजार विस्तारै थलिदै गयाे। जब बजारमा मागभन्दा आपूर्ति बढी हुन्छ, तब मूल्य घट्नु स्वाभाविक हो। नीतिगत रूपमा सबै ठिक छ भनिए पनि व्यवहारमा लगानीकर्ताले असुरक्षित महशुस गरे । 

विज्ञ अर्थमन्त्री आउँदा धेरै आशा गरिएको थियो, तर निराशा हुनुपर्ने अवस्था किन आयो?

वास्तवमा अर्थमन्त्रीबाट जुन किसिमको बजारमैत्री नीतिको अपेक्षा गरिएको थियो, त्यसको विपरीत काम भयो। बजारमा माग बढाउनुको सट्टा उल्टो आपूर्ति बढाउने काम भयो, जसले गर्दा बजारमा दबाब सिर्जना भयो। सरकारले बजारमा सप्लाई बढाउने काम मात्रै गरेको छ । सुस्ताएको बजारलाई भनै ठूलो धक्का पुगेको छ। सरकारले पूँजीगत लाभकर ५ बाट ७.५ र ७.५ बाट १० प्रतिशत पुर्याइदियो। यसले गर्दा साउन महिना लाग्नु अघि नै कर जोगाउन लगानीकर्ताहरूमा शेयर बेच्ने होडबाजी चल्यो। उनीहरूले नाफा बुक गरेर बाहिरिँदा बजारमा ठूलो आपूर्ति आयो। नीतिहरूलाई सुधारेर बजारमैत्री वातावरण बनाउनेछ भनिएकाे थियाे। व्यवहारमा सरकारले राजस्वको टोटल अङ्क मात्र हेर्यो, तर त्यसले बजारको जग नै हल्लाइदिन्छ भन्ने कुरालाई नजरअन्दाज गर्यो।

आपूर्ति बढ्नुमा कुन कुराले मुख्य भूमिका खेल्यो ?

मुख्य कारण पुँजीगत लाभकरमा गरिएको वृद्धि हो। ५ प्रतिशतलाई ७.५ र ७.५ प्रतिशतलाई १० प्रतिशत पुर्याइयो। लगानीकर्ताले त लाभकर घट्ने आशा गरेका थिए। कर बढेपछि ठूला लगानीकर्ता र म्युचुअल फन्डहरूले साउन महिना लाग्नुअघि नै २.५ प्रतिशत कर जोगाउन धमाधम शेयर बिक्री गरे। यसले बजारमा अत्यधिक आपूर्ति बढायो। यदि यो कर वृद्धिको त्रास नभएको भए, बजेटपछि बजारले पुरानो हाई विन्दुलाई तोड्न सक्ने सम्भावना थियो। बजारमा माग बढाउने नीति ल्याउनुको सट्टा उल्टो आपूर्ति बढाउने अवस्था सिर्जना भएको छ । बजारमा मागभन्दा बढी आपूर्ति भयाे र हाम्रो नीतिगत जग नै हल्लिएको छ। अर्थ मन्त्रालय र नियामक निकायबीचको समन्वय खड्कियाे, तब बजार ओरालो लाग्नु स्वाभाविकै हो।

नियामक निकाय (सेबोन) र बजार सञ्चालक (नेप्से) को भूमिकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?

अहिले सेबोनको नेतृत्वले केही नयाँ भिजन ल्याउन खोजेको देखिन्छ, जुन सकारात्मक छ। अध्यक्षले बजारको मर्म बुझ्नुहुन्छ भन्ने हाम्रो विश्वास छ। अहिले नीति तथा कार्यक्रम र मार्गनिर्देशनबाट अध्यक्षले प्राविधिक रूपमा राम्रा भिजनहरू त ल्याउनुभएको छ। तर नेप्से नेतृत्वविहीन हुनुले ठूलो समस्या सिर्जना गरेको छ। बजार आधारभूत रुपमा नै कमजोर छ । जस्तो घरको माथिल्लो तला कलर गरेर जति सुकै राम्रो गराए पनि आधार कमजोर छ भने सो दीगो हुदैन । त्यस्तै बजारको आधार कमजोर छ । पहिले बजारलाई आधारभूत रुपमा नै बलियो बनाउन लाग्नु पर्ने हुन्छ। अर्कोतर्फ, सरकारले नीतिगत जग नै कमजोर बनाइदिएको छ। २५ लाखभन्दा माथिको कारोबारमा थप करका कुराहरूले बजारमा नराम्रो सन्देश गयो। नीतिगत रूपमा जग नै हल्लिएपछि माथि जतिसुकै राम्रो संरचना बनाए पनि लगानीकर्ताले विश्वास गर्न सकेका छैनन्।

अहिले इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेल र मार्जिन कारोबारका कुराहरू पनि उठिरहेका छन्, यसका लागि हाम्रो बजार तयार छ?

इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेल र मार्जिन कारोबार बजारको आवश्यकता हो । तर बजारको संरचना र प्रविधि अझै कमजोर छ। नेप्सेको प्रणालीमा केही दिन पहिले एक हजार अङ्कको गिरावट देखिने जस्ता प्राविधिक त्रुटिहरू हुन्छन्। यस्तो अवस्थामा प्रविधिलाई पूर्ण विश्वास गर्न सकिदैन। मार्जिन र इन्ट्रा–डे कारोबार बिस्तारै लागू गर्नु ठिकै हो । तर सर्ट सेल अहिलेको अवस्थामा निकै घातक हुन सक्छ। हाम्रो बजार न प्राविधिक अध्ययनले काम गर्छ न त आधारभूत अध्ययनको आधारमा चल्छ । न त वित्तीय आधारमा नै चलेको छ । यस्तो अस्थिर बजारमा सर्ट सेल ल्याउँदा चलखेल गर्नेहरूले मात्र फाइदा उठाउँछन् र सोझा लगानीकर्ता फस्ने डर हुन्छ।

१० कित्ते नीति र लक–इन पिरियडका बारेमा यहाँको धारणा के छ?

बजारमा १० कित्ते नीतिले सहभागिता त बढायो । तर यसले बजारलाई पुँजी बढाउन सकेको छैन। पुँजीभन्दा पनि डिम्याट संख्या मात्र थपेको छ। कतिपयले आईपीओ भर्नकै लागि मात्र डिम्याट खोलेका छन्। वास्तविक लगानीकर्ता र पुँजीको मूल्याङ्कन दोस्रो बजारको कारोबारबाट हुनुपर्छ।

त्यस्तै, नयाँ कम्पनीहरूमा तीन वर्षको लक–इन पिरियडले बजारमा कृत्रिम अभाव सिर्जना गर्छ र मूल्य अस्वाभाविक रूपमा बढ्छ। जब लक–इन खुल्छ, मूल्य ह्वात्तै घट्छ र अन्तिममा सर्वसाधारण लगानीकर्ता नै मारमा पर्छन्। यसको समाधान भनेकै बुक बिल्डिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउनु हो।

यो अवस्थामा लगानीकर्ताहरूले सही रुपमा कारोबार गरेका छन् ? कतै उनीहरू पनि लहैलहैमा कारोबार  गरेका त छैनन ?

लगानीकर्ताहरू पूर्ण रूपमा सही छन् भन्न सकिन्न। धेरैजसो लगानीकर्ता समूहगत कुरा वा सामाजिक सञ्जालको लहैलहैमा लागेर लगानी गर्छन्। तर, नियामकले पनि राम्रोसँग निगरानी गर्न सकेको छैन। बजारमा चलखेल गर्ने वा म्यानिपुलेट गर्नेलाई कारबाही गर्ने स्पष्ट कानुन र कार्यान्वयन हुनुपर्छ। यहाँ नियमन छैन। सरकारले कारोबार गर, नाफा भए कर देऊ, घाटा भए तिम्रो समस्या भन्ने नीति लिनुहुँदैन। नाफा–घाटामा समायोजनको व्यवस्था हुनुपर्छ।

अन्त्यमा, यस्तो अवस्थामा लगानीकर्तालाई के सुझाव दिनुहुन्छ?

बजार सधैँ घटिरहने वा बढिरहने मात्र हुँदैन। अहिले पनि धेरै कम्पनीहरूको मूल्य तल्लो विन्दुमा छ। लगानीकर्ताले अरूको भर पर्नुको सट्टा सेल्फ स्टडी (स्व–अध्ययन) गर्नुपर्छ। आफूले गरेको लगानीको जिम्मेवारी आफैँले लिनुपर्छ। बजार नबुझुन्जेल थोरै लगानीबाट सुरु गर्नुहोस्। अहिलेको अर्थमन्त्रीको नीति र नयाँ लगानीकर्ताको मनोविज्ञान उस्तै देखिन्छ। बाहिरबाट हेर्दा विज्ञता देखिने तर भित्र छिरेपछि व्यवहारिक जटिलता नबुझ्ने। त्यसैले, संयमित भएर, बजारको लय बुझेर र अनुशासित भएर लगानी गरेमा नेपालको पुँजी बजारले निराश बनाउँदैन।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।