गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७२ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।
आम्दानी सामान्य बढेसँगै कम्पनीको नाफामा पनि सामान्य सुधार देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ३.७२ प्रतिशत बढेर १ अर्ब १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५.३३ प्रतिशत बढेको छ। कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ६.२६ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ०.८८ प्रतिशत बढेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ पैसा घटेर ७ रुपैयाँ ५९ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.१५ गुणा रहेको छ।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब २६ करोड ७२ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको अगुवाइमा निर्माण अनुमति प्राप्त सेतीनदी–३ अर्धजलाशययुक्त जलविद्युत आयोजना (८७ मेगावाट) को वित्तीय व्यवस्थापनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसँग फाइनान्सियल क्लोजरको प्रयास कम्पनीले गरिरहेको छ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीसँग सहकार्य गरी १५ प्रतिशत शेयर लगानी गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।
बुढीगण्डकी प्रोक जलविद्युत आयोजना (९१ मेगावाट) र स्यारखोला जलविद्युत आयोजना (४५ मेगावाट) पहुँच सडक र नेपाल विद्युत प्राधिकरणसँग पावर पर्चेज सम्झौता नहुँदा निर्माण कार्य सुरु हुन नसकेको कम्पनीले विवरणमा उल्लेख गरेको छ।
