गत वर्षको तुलनामा यस वर्ष कर संकलनमा २४५ प्रतिशतले कमी आएपछि सरकारलाई ठूलो राजस्व धक्का लागेको हो। तथ्यांक अनुसार, यस वर्षको साउन महिनामा सरकारले शेयर कारोबारबाट जम्मा ६२ करोड ४९ लाख रुपैयाँ मात्र पूँजीगत लाभकर प्राप्त गरेको छ।
जबकि गत वर्षको साउनमा शेयर किनबेचबाट सरकारले २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ लाभकर उठाएको थियो। सरकारले यसै वर्षको बजेटमार्फत पूँजीगत लाभकरको दरमा साढे दुई प्रतिशत विन्दुले वृद्धि गरेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत पूँजीगत लाभकर बढाएर ७.५ प्रतिशत र १० प्रतिशत पुर्याएका छन्।
तर, करको दर बढे पनि संकलन हुने कुल रकममा भने उल्लेख्य गिरावट देखिएको छ। सरकारका गतिविधिले लगानीकर्ताहरूको आत्मविश्वास (कन्फिडेन्स) गुमाउँदा शेयर कारोबार खुम्चिन पुगेको र त्यसको प्रत्यक्ष असर पूँजीगत लाभकरमा परेको विश्लेषण गरिएको छ। हाल बजारमा दैनिक मुस्किलले ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र कारोबार हुने गरेको छ। शेयर कारोबार रकममा आएको यो संकुचनले सरकारको राजस्व लक्ष्यमा समेत चुनौती थपिदिएको छ।