ठुला ब्रोकर बिक्रीमा, साना खरिदमा : किन्ने ब्रोकरका लगानीकर्ताले जित्लान् कि बेच्नेले ?

Aug 20, 2026 06:08 PM Merolagani



सुवास निरौला 

पछिल्लो दुई साताभन्दा बढी समयको शेयर कारोबारमा ठुला ब्रोकरबाट बिक्री दबाब देखिँदा साना ब्रोकरतर्फ भने खरिदको झुकाव बढेको छ। 

तर ब्रोकर कारोबारमा देखिएको यो फरक प्रवृत्तिले नेप्सेको गिरावट भने रोक्न सकेको छैन।उपलब्ध जुलाई ३१ देखि अगस्ट २० सम्मका १५ कारोबार दिनको तथ्यांकअनुसार ठुला ब्रोकर हरेक दिन ‘बियरिस’ अवस्थामा देखिएका छन्। यसको विपरीत साना ब्रोकर अगस्ट ६ देखि लगातार ‘बुलिस’ अवस्थामा छन्। यही अवधिमा नेप्से परिसूचक भने २६८५.५४ अंकबाट घटेर २६२९.४० अंकमा आइपुगेको छ। १५ कारोबार दिनमा नेप्से ५६.१४ अंक अर्थात् २.०९ प्रतिशतले घटिसकेको छ।

ठुला ब्रोकरमा लगातार बिक्री दबाब

अगस्ट २० को कारोबारमा ठुला ब्रोकरको कुल खरिद हिस्सा ४७.६९ प्रतिशत र बिक्री हिस्सा ५२.३१ प्रतिशत छ। अर्थात् खरिदभन्दा बिक्री हिस्सा ४.६२ प्रतिशत बिन्दुले बढी छ। यो प्रवृत्ति आज मात्रै देखिएको होइन। जुलाई ३१ देखि अगस्ट २० सम्मका सबै १५ कारोबार दिनमा ठुला ब्रोकरको बिक्री हिस्सा खरिदभन्दा बढी छ।अगस्ट ३ मा ठुला ब्रोकरको बिक्री हिस्सा सबैभन्दा उच्च ५३.३२ प्रतिशत पुगेको थियो। त्यस दिन खरिद हिस्सा ४६.६८ प्रतिशत मात्रै थियो। अगस्ट ४ मा पनि बिक्री ५१.५० प्रतिशत र खरिद ४८.५० प्रतिशत थियो। अगस्ट ६ पछि बिक्री दबाब केही घटे पनि ठुला ब्रोकरको कारोबार लगातार ‘बियरिस’ नै देखिएको छ। अगस्ट २० मा फेरि बिक्री हिस्सा बढेर ५२.३१ प्रतिशत पुगेको छ। १५ दिनको औसत हेर्दा ठुला ब्रोकरको खरिद हिस्सा करिब ४८.४२ प्रतिशत र बिक्री हिस्सा ५१.५८ प्रतिशत छ। अर्थात् औसतमा पनि बिक्री करिब ३.१५ प्रतिशत बिन्दुले अगाडि छ।

साना ब्रोकर भने खरिदतर्फ

ठुला ब्रोकरको ठिक विपरीत साना ब्रोकरको कारोबारमा पछिल्लो समय खरिदको झुकाव देखिएको छ। अगस्ट ६ देखि अगस्ट २० सम्म लगातार ११ कारोबार दिन साना ब्रोकरको खरिद हिस्सा बिक्रीभन्दा बढी छ। अगस्ट २० मा साना ब्रोकरको खरिद हिस्सा ५१.०८ प्रतिशत र बिक्री हिस्सा ४८.९२ प्रतिशत छ।

अगस्ट ११ मा साना ब्रोकरको खरिद हिस्सा यस अवधिकै उच्च ५१.२० प्रतिशत पुगेको थियो। अगस्ट १२ मा ५१.१३ प्रतिशत र अगस्ट १४ मा ५०.९७ प्रतिशत खरिद भएको थियो। यसअघि अगस्ट ५ सम्म भने साना ब्रोकर पनि बिक्रीतर्फ थिए। अगस्ट ५ मा उनीहरूको खरिद हिस्सा ४९.४६ प्रतिशत हुँदा बिक्री ५०.५४ प्रतिशत थियो। त्यसपछि भने कारोबारको दिशा परिवर्तन भएको देखिन्छ। १५ दिनको औसतमा साना ब्रोकरको खरिद हिस्सा करिब ५०.२७ प्रतिशत र बिक्री हिस्सा ४९.७३ प्रतिशत रहेको छ।

खरिद बढे पनि बजार किन उठेन ?

यही तथ्यांकको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो। साना ब्रोकरतर्फ खरिद हाबी भइरहँदा पनि समग्र बजारले त्यसको सकारात्मक प्रतिक्रिया दिएको छैन। जुलाई ३१ मा २६८५.५४ अंकमा रहेको नेप्से अगस्ट ३ मा २६८४.३३, अगस्ट ५ मा २६६७.९७, अगस्ट ७ मा २६५०.०९ र अगस्ट १४ मा २६४३.८३ अंकमा झरेको थियो। अगस्ट १८ मा परिसूचक २६२२.४८ अंकमा पुगेको थियो। त्यसपछि अगस्ट १९ मा सामान्य सुधारसहित २६२२.२२ र अगस्ट २० मा २६२९.४० अंक पुगेको छ। यसरी हेर्दा पछिल्ला दुई दिनमा केही सुधार देखिए पनि १५ कारोबार दिनको समग्र दिशा अझै कमजोर छ।

१५ दिनसम्म ठुला ब्रोकरतर्फ बिक्री हिस्सा निरन्तर ५० प्रतिशतभन्दा माथि रहनु र सोही अवधिमा नेप्से २.०९ प्रतिशत घट्नुले बजारमा बिक्री दबाब रहेको संकेत गर्छ। अर्कोतर्फ साना ब्रोकरतर्फ पछिल्लो ११ दिनदेखि खरिद हिस्सा बढी भए पनि त्यो खरिदले समग्र बजारको बिक्री दबाबलाई उल्ट्याउन सकेको छैन। यसको अर्थ साना ब्रोकरमार्फत देखिएको खरिद माग बजारको समग्र आपूर्तिलाई अवशोषण गर्न पर्याप्त हुन नसकेको देखिन्छ। 

अब कसले जित्ला ?

ब्रोकर कारोबारको पछिल्लो प्रवृत्तिले बजारमा दुई फरक धार देखाएको छ—ठुला ब्रोकरतर्फ निरन्तर बिक्री र साना ब्रोकरतर्फ पछिल्लो समय खरिद। तर नेप्सेको समग्र प्रवृत्ति अझै कमजोर भएकाले आगामी कारोबारमा ठुला ब्रोकरको बिक्री दबाब घट्छ कि घट्दैन र साना ब्रोकरको खरिद निरन्तर रहन्छ कि रहँदैन भन्ने महत्वपूर्ण हुनेछ।

विशेष गरी नेप्से २६२०–२६३० अंक आसपासको क्षेत्रमा टिक्छ कि पुनः बिक्री दबाब बढ्छ भन्ने आगामी कारोबारले प्रस्ट पार्ने नै छ। यदि आउने दिनमा सुधार देखिए पक्कै पनि अहिले शेयर किन्ने लगानीकर्ताले जित्ने छन्। यदि बजार पुन तल नै गयो भने अहिले शेयर किन्ने लगानीकर्ता थप घाटामा हुने छन्। नाफा या घाटाको निर्णय भने आउने कारोबार दिनले तय गर्ने छ। 




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।