ऋणपत्र दर्ता तथा निष्काशन नियमावली २०८३ को मस्यौदा सार्वजनिक, ७ दिनभित्र राय सुझाव दिन बोर्डको आह्वान

Aug 20, 2026 07:43 PM Merolagani



नेपाल धितोपत्र बोर्डले पूँजी बजारको बृहत्तर सुधार गर्ने उद्देश्यका साथ 'ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३' को मस्यौदा तयार गरी सरोकारवालाहरुसँग राय सुझाव माग गरेको छ।

नेपालको पूँजी बजारलाई हालको 'इक्विटी केन्द्रित' अवस्थाबाट 'बहु-उत्पादनमा आधारित' (Multi-product) बजारमा रूपान्तरण गर्ने 'नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३' को लक्ष्य अनुरूप यो नियमावली ल्याइएको हो। बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा संस्थागत ऋणपत्र बजारको विकास गर्ने योजना अघि सारेको थियो, जसले बजारको गहिराइ, तरलता र जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस प्रस्तावित नियमावलीले ऋणपत्र बजारलाई थप विविधिकृत, प्रतिस्पर्धी र पारदर्शी बनाउन सहयोग पुग्ने बोर्डको विश्वास रहेको छ। हाल मुख्यतया बैंक तथा वित्तीय संस्थाहरूले मात्र ऋणपत्र निष्काशन गर्दै आएकोमा अब अन्य योग्य संगठित संस्थाहरूले समेत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न सक्ने गरी अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा कानुनी व्यवस्थालाई परिमार्जन गरिएको छ। बोर्डको कानून प्रवलीकरण समितिले आवश्यक परिमार्जनसहित तयार पारेको यस मस्यौदालाई थप प्रभावकारी र समयानुकूल बनाउन सार्वजनिक छलफलका लागि ल्याइएको हो। सरोकारवाला पक्षहरूले यस मस्यौदाका सम्बन्धमा आफ्ना कुनै राय, सुझाव वा प्रतिक्रिया भएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको आधिकारिक इमेल support@sebon.gov.np मा उपलब्ध गराउन सक्नेछन्। बोर्डले सरोकारवालाहरूबाट प्राप्त सुझावहरूको विस्तृत अध्ययन र विश्लेषण गरी नियमावलीलाई अन्तिम रूप दिने जनाएको छ। नियमावलीको मुख्य विशेषता, संक्षिप्त विवरण र मस्यौदाको पूर्ण पाठ बोर्डको आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइएको छ। यस प्रक्रियाले नेपालको ऋणपत्र बजारलाई थप व्यवस्थित र गतिशील बनाउने लक्ष्य राखेको छ। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।