मार्जिन कारोबार विस्तार गर्दै दक्षिणकाली र कलश स्टक मार्केट: ३ अर्ब ऋण लिन रेटिङ प्रक्रिया सम्पन्न

Aug 23, 2026 12:31 PM Merolagani



नेपालका दुई ठूला धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरू दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र कलश स्टक मार्केटले मार्जिन ट्रेडिङ (मार्जिन कारोबार) सेवा विस्तारका लागि बैंक ऋण लिने प्रक्रिया अघि बढाएका छन्। 

दुई कम्पनीले कुल ३ अर्ब रुपैयाँ बराबरको अल्पकालीन कर्जा सुविधाका लागि रेटिङ गराएका हुन्।ब्रोकर क्षेत्रमा लामो अनुभव भएको दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (DISPL) ले २ अर्ब रुपैयाँ (२००० मिलियन) बराबरको बैंक ऋण लिने तयारी गरेको छ। केयर रेटिङ्स नेपालले यस कम्पनीको प्रस्तावित ऋण सुविधालाई 'केयर-एनपी ए३' (CARE-NP A3) रेटिङ प्रदान गरेको छ।

करिब १५ वर्षदेखि धितोपत्र बजारमा सक्रिय दक्षिणकालीले मार्जिन ट्रेडिङ सुविधालाई प्राथमिकतामा राख्दै यो ऋण लिन लागेको हो। धितोपत्र बोर्ड (SEBON) ले जारी गरेको मार्जिन ट्रेडिङ निर्देशिका बमोजिम कम्पनीले आफ्ना ग्राहकहरूलाई सेयर खरिदका लागि कर्जा उपलब्ध गराउन बैंकबाट रकम जुटाउन लागेको रिपोर्टमा उल्लेख छ। आर्थिक वर्ष २०८२ सम्ममा १.६९ प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले मार्जिन कारोबारमार्फत आफ्नो आम्दानीको स्रोतलाई विविधीकरण गर्ने लक्ष्य लिएको छ।

यसैगरी, पछिल्लो समय बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको कलश स्टक मार्केट प्रालि (KSPL) ले पनि १ अर्ब रुपैयाँ (१००० मिलियन) बराबरको ऋण सीमाका लागि रेटिङ गराएको छ। केयर रेटिङ्स नेपालले यसलाई 'केयर-एनपी ए४ प्लस' (CARE-NP A4+) रेटिङ दिएको छ।

सन् २०२२ मा स्थापना भएर २०२४ देखि सञ्चालनमा आएको कलशले छोटो अवधिमै बजारमा राम्रो उपस्थिति देखाएको छ। कम्पनीले बैंकहरूबाट सस्तो ब्याजदरमा ऋण लिएर आफ्ना ग्राहकहरूलाई प्रिमियम दरमा मार्जिन सुविधा उपलब्ध गराउने योजना बनाएको छ। कम्पनीले जुन २०२६ मा स्टक एक्सचेन्जबाट मार्जिन कर्जा प्रवाहका लागि स्वीकृति समेत पाइसकेको छ।

नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङमा गरेको नीतिगत लचकता र धितोपत्र बोर्डले ल्याएको मार्जिन ट्रेडिङ निर्देशिकाका कारण ब्रोकर कम्पनीहरू यो सेवातर्फ आकर्षित भएका हुन्। यसअघि ब्रोकर कम्पनीहरू मुख्यतया कमिसनमा मात्र निर्भर हुने गरेकोमा अब मार्जिन ट्रेडिङमार्फत ब्याज आम्दानी समेत गर्न पाउने भएका छन्।

दक्षिणकाली र कलश दुवै कम्पनीले यो ऋण सुविधाको प्रयोग मुख्यतया मार्जिन ट्रेडिङ फ्यासिलिटी (MTF) प्रदान गर्न र वर्किङ क्यापिटल व्यवस्थापनका लागि गर्ने बताएका छन्। यसले बजारमा तरलता बढाउन र लगानीकर्ताहरूलाई थप लगानी गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।