प्रसाईकी श्रीमती उमा प्रसाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा बाटोको म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। प्रसाईलाई किन बन्दी बनाउनु पर्ने हो र उनलाई थुनामा राख्नुको कानुनी औचित्य के हो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्नेछ।
सर्वोच्च अदालतले केवल जवाफ मात्र मागेको छैन, अनुसन्धानको प्रक्रियामाथि पनि चासो देखाएको छ। गत भदौ ४ गते प्रसाईको भक्तपुरस्थित घरमा खानतलासी गर्दा प्रहरीले बरामद गरेका भनिएका सामानहरू समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई कडा निर्देशन दिइएको छ।
प्रसाईलाई साइबर अपराधको आरोपमा पक्राउ गरी हाल प्रहरी हिरासतमा राखिएको छ। प्रसाई पक्षले भने उनलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको थियो।